• ९ जेठ २०८१, बुधबार

मतदान केन्द्रतर्फ कर्मचारी

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख २५ गते स्थानीय तहको निर्वाचनमा ३० मतदान केन्द्रका लागि खटिएका कर्मचारी सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्। सदरमुकाम सिमकोटदेखि पैदल चार दिन लाग्ने ठाउँको निर्वाचन केन्द्रका कर्मचारी सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका हुन्। 

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाका अनुसार शनिबारसम्म जिल्लाका चारवटा गाउँपालिकाका ३० वटा मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्न खटिएका मतदान अधिकृतसहितको टोली मतदान केन्द्रतर्फ लागेका छन्। 

टोलीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी, प्रहरी र म्यादी प्रहरी छन्। उहाँले यसअघि मतदान अधिकृतले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयबाट निर्वाचनका लागि आवश्यक ५८ प्रकारका सामग्री पनि बुझेर लिएको बताउनुभयो। 

उहाँले हालसम्म मतदान केन्द्रतर्फ लागेका कर्मचारीको टोलीमा नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन, चङ्खेली गाउँपालिकाका लागि सातवटा, अदानचुलीका पाँच, ताँजाकोटका छ र सर्केगार्डका आठवटा मतदान केन्द्रका रहेको बताउनुभयो। 

ताँजाकोट गाउँपालिकाको कैलाश आवि मतदान केन्द्रका मतदान अधिकृत बखतबहादुर खड्काले निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी बोकेर मतदान केन्द्रतर्फ लागेको बताउनुभयो। उहाँले साढे तीन दिन पैदल हिँडेर मतदान केन्द्रमा पुग्ने जानकारी दिनुभयो। 

जिल्लाबाट निर्वाचन सम्पन्न गर्नका लागि खटिएर केन्द्रतर्फ लागेका कर्मचारी दुईदेखि साढे तीन दिनमा मतदान केन्द्रमा पुग्नेछन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले एउटा मतदान केन्द्रका लागि कर्मचारी र सुरक्षाकर्मी गरी मतदाता सङ्ख्याका आधारमा आठदेखि ११ जना खटिएको जनाएको छ। 

एउटा मतदान केन्द्रमा मतदान अधिकृतले आवश्यकताका आधारमा तीन जनासम्म स्थानीय स्वयंसेवक भर्ना गर्नसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसमा स्थानीय महिला पुरुषलाई भर्ना गर्न सकिनेछ।






Author

निर्वाचन कार्यालयबाट सामग्री बुुझ्दै खटिएका मतदान अधिकृत ।तस्बिर : राजन रावत