• ११ मंसिर २०८१, मङ्गलबार

सामाजिक सञ्जाल नियमन गर्ने कानुन बन्ने

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ राजधानीमा आयोजित गुरुङ सम्पदा पदमार्गको शुभारम्भ तथा नक्सा विमोचन गर्नुहुँदै । तस्बिर : कविन अधिकारी

काठमाडौँ, भदौ ८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालहरूको सञ्चालन, प्रयोग र नियमन गर्ने कानुन तयार भइरहेको बताउनुभएको छ । उहाँले डिजिटल अर्थतन्त्रले देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ३ प्रतिशत योगदान गर्ने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।

अब चाँडै अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति लिएर संसद्मा पेस गरिने बताउँदै उहाँले यसै वर्ष कानुन निर्माणसम्बन्धी काम पूरा हुने स्पष्ट पार्नुभयो । मन्त्री गुरुङले शक्रबार राजधानीमा गुरुङ सम्पदा पदमार्गको शुभारम्भ तथा नक्सा सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो । उहाँले यस पदमार्गको शुभारम्भले मुलुकको पर्यटन विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकको हितका लागि समर्पित भएर ‘गुड फेथ’ का साथ काम गर्ने प्रयत्न गरिरहेका छौँ । यस कार्यमा सञ्चारकर्मीलगायत सबैको साथ समर्थन चाहिन्छ ।”

मुलुकमा साइबर सुरक्षासम्बन्धी ठुल्ठूला समस्या रहेको बताउँदै उहाँले सूचना प्रविधि कानुनसँग ‘मर्ज’ गरेर साइबर सुरक्षासम्बन्धी कानुन ल्याउन लागिएको जानकारी दिनुभयो । त्यसै गरी नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरणसँग सम्बन्धित कानुन बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल टेलिकमको गुणस्तर र ‘कभरेज’ बारे समेत धेरै प्रश्न उठेको उल्लेख गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले नेपाल टेलिकमको ‘कभरेज’ बढाउने र गुणस्तर निर्माण गर्ने आफ्नो प्राथमिकता रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नियमन गर्न नसक्दा दूरसञ्चार प्राधिकरणमा भद्रगोल र अराजकता छ, टेलिकम सेवाप्रदायक संस्थाहरू दुषित प्रतिस्पर्धा गर्छन् । अलिकति तलमाथि प¥यो भने मुद्दा हालिहाल्छन्, काम गर्नै दिँदैनन् । १५२ वटा टावर बनाउन बोलपत्र आह्वान गरिएकोमा मुद्दा हालेर त्यो बन्न दिएनन् ।”