काठमाडौँ, भदौ ७ गते । नेपाली काँग्रेसले तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाले स्तब्ध बनाएको बताएको छ । घटानाप्रति काँग्रेस कार्यसमिति बैठकले गहिरो दुःख व्यक्त गर्दै घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारसँग् माग गरेको छ ।
काँग्रेस केन्द्रीय समिति बैठकको पहिलो निर्णयमा भनिएको छ, ‘पोखराबाट काठमाडौँ तर्फ आइरहेको यूपी ५३ एफटी ७६२३ भारतीय नम्बर प्लेटको बस तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरा भन्ने स्थानबाट मस्र्याङ्दी नदीमा आज खस्दा ४३ जना यात्रु मध्ये २७ जनाको मृत्यु र १६ जना गम्भीर घाइते भएको यो संवेदनशील घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ र कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ ।’
त्यसैगरी काँग्रेसले रौतहटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ४७ नम्बरको बस मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिकाको वडा नम्बर २९ सत्रकिलोमा माथिबाट खसेको ढुंगाका कारणले बस अनियन्त्रित भई पल्टिदा २५ जना घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
काँग्रेसले घटनाका घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
‘तनहुँ दुर्घटनामा परी मृत्युवरण गर्नु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ । साथै, उक्त दुबै घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ’’, काँग्रेसले भनेको छ ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सह महामन्त्री– फरमूल्लाह मन्सुर, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, जीवन परियारले धारणा राख्नुभयो । केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, अजयकुमार चौरसिया, शंकर भण्डारी, डा. आरजु राणा देउवा, जीतजंग बस्नेत र आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्काले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
केन्द्रीय कार्यसमितिको अर्को बैठक भदौ १२ गते बुधबार दिउँसो बस्ने जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले गराउनुभएको छ । साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयमाथि धारणा राख्ने क्रम जारी छ ।