• ८ वैशाख २०८१, शनिबार

आफ्नै कीर्तिमान तोड्दै कामीरिता २६ औँ पटक सगरमाथा आरोहण

blog

काठमाडौं, बैसाख २५ गते । विश्व कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाले शनिबार साँझ २६ औं पटक सगरमाथाको आरोहण गर्नुभएको छ । शेर्पाले सबैभन्दा धेरै पटक सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि) आरोहण गरेर बनाएको विश्व कीर्तिमान आफैँले तोडेका हुन् । 

उहाँले गतवर्ष २५ औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गराउनुभएको थियो । सेभेन समिट ट्रेकमा आबद्ध रहेर आरोहणमा सहभागी हुनुभएका उहाँ शनिबार सगरमाथाको आरोहण मार्ग निर्माण गर्ने क्रममा २६ औं पटक चुचुरो पुग्नुभएको हो । 

गत वर्षसमेत आरोहण मार्ग निर्माणमा खटिएर उहाँले नै नेतृत्व गर्नुभएको थियो । हिमचितुवाको उपमा पाउनुभएका आङरिता शेर्पा र आप्पा शेर्पापछि उहाँले आरोहणमा थप नयाँ कीर्तिमान बनाउनुभएको थियो ।

५२ वर्षीय शेर्पाले आफू शरीरले साथ दिएसम्म हिमालमा काम गर्ने तर विस्तारै आधार शिविर म्यानेजर भएर काम गर्ने सोच राखेको आरोहण जानु अघि गोरखापत्र अनलाइनलाई बताउनुभएको थियो ।  आरोहणका क्रममा विदेशी आरोहीले कामीरिता शेर्पा जस्तै अनुभवी आरोही गाइडको माग गर्ने भएकाले पनि कामीरिता शेर्पाले सुरक्षित आरोहण र रेस्क्युमा सहयोग गर्न आरोहण गर्नुपर्ने भएको उहाँको भनाइ छ ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेमा जन्मनुभएका शेर्पा १३ वर्षको उमेरदेखि हालसम्म पर्वतारोहण क्षेत्रमा काम गर्दै आउनुभएको छ । उहाँले यस वर्ष गर्ने आरोहणले विश्वका पर्वतारोहीका लागि थप उत्साह र नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने पर्यटन व्यवसायी एवं नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पाले बताउनुभयो ।

उहाँले २४ वर्षको उमेरमा सन् १९९४ मा उत्तरीतर्फको तिब्बती मोहडाबाट पहिलो पटक सगरमाथाको आरोहण गर्नुभएको थियो । त्यसपछि निरन्तर उहाँले सन् १९९७, १०९८,१९९९,२०००, २००२, २००२, २००३, २००४, २००५, २००६, २००७, २००८ निरन्तर आरोहण गर्नुभएको थियो भने सन् २००९, २०१०, २०१३, २०१९ मा एकै वर्ष दुई पटक आरोहण गर्नुभएको थियो । त्यस पछि सन् २०१२, २०१३,२०१६, २०१७, २०१८, २०२१ मा गरी २५ औं पटक सगरमाथाको आरोहण गरिसक्नुभएको थियो । 

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।