• ११ वैशाख २०८१, मङ्गलबार

कामिरीताकाे नेतृत्वमा सगरमाथाकाे पहिलो आरोहण सफल

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख २४ गते । यस वर्षको सगरमाथा हिमाल (८,८४८.८६ मिटर) को पहिलो आरोहण शनिबार साँझ ६ः५५ बजे कीर्तिमानी आरोही कामीरिता शेर्पासहित ११ जना आरोहीले आरोहण गर्नुभएको छ । 

आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकका निर्देशक छाङदावा शेर्पाका अनुसार कामीरिता सहितकाे बाटो बनाउने टोलीले सगरमाथाको चुचुरो चुमेको जानकारी दिनुभयो । आरोहण गर्नेमा विश्वकै सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही कामीरिता शेर्पा, संखुवासभाका सोना शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जी शेर्पा, तारेमान तामाङ, सोलुखुम्बुका ङिमा टासि शेर्पा, फुर्वा छिरिङ शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा, फुर्वा छेतर शेर्पा, दोलखाका मिङमा डण्डु शेर्पा रहेको कम्पनीले जनाएको छ । विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले यस वर्षको बाटो बनाउने टोलीको नेतृत्व गर्दै सगरमाथाको चुचुरो पुगेसँगै आफ्नै कीर्तिमान तोड्दै विश्वमै सबैभन्दा धेरै सगरमाथाको २६ औं पटक आरोहण गर्ने व्यक्ति बन्नुभएको छ । 

बाटो निर्माण सम्पन्न भएसँगै आधारशिविरमा तयारी अवस्थामा रहेका आरोही आइतबारदेखिनै मौसमको अवस्था हेरेर आरोहणका लागि बाटो लाग्ने तयारीमा जुटेको कम्पनीहरुले जनाएका छन् । यस वर्षको सगरमाथा आरोहणको बाटो बनाउने जिम्मा  सेभेन समिट ट्रेकले लिएको थियो । मौसमले साथ लिएका कारण यस वर्ष अन्य वर्षभन्दा अघिनै बाटो निर्माण सम्पन्न भएको निर्देशक छाङदावा शेर्पाले बताउनुभयो ।

यस वर्ष सगरमाथा आरोहणका लागि ३१६ जना आरोहीले अनुमती लिएका छन् भने नेपालका अग्ला २६ वटा हिमाल आरोहण गर्न ११३ आरोहणदलबाट ७४ देशका ९१८ जना आरोहीले विभागबाट अनुमती लिएको छ ।

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।