• ११ मंसिर २०८१, मङ्गलबार

गुल्मीमा ८६ प्रतिशत राजस्व सङ्कलन

blog

रमेश विश्वकर्मा

गुल्मी, भदौ ७ गते । करदाता सेवा कार्यालय गुल्मीले गत आर्थिक वर्ष २०८०–८१ मा लक्ष्यको ८६ प्रतिशत राजस्व सङ्कलन गरेको छ । करदाता सेवा कार्यालयले ४६ करोड ४४ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ३९ करोड ८५ लाख ३३ हजार रुपियाँ मात्र राजस्व सङ्कलन गरेको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख कर अधिकृत सुरज बस्यालले जानकारी दिनुभयो ।

कर अधिकृत बस्यालका अनुसार आयकरतर्फ २३ करोड ६ लाख ८० हजार रुपियाँ, भ्याटतर्फ १५ करोड ८३ लाख ९२ हजार रुपियाँ र अन्तःशुल्कतर्फ ९४ लाख ५८ हजार रुपियाँ राजस्व सङ्कलन भएको हो । 

आर्थिक वर्ष २०७९–८० को तुलनामा गत वर्ष आठ दशमलव ५ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो । गत वर्ष तीन करोड १२ लाख ९१ हजार रुपियाँले बढी राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

दुई करोड रुपियाँभन्दा बढी भ्याट बक्यौता रहेकोमा करदाता सेवा कार्यालयले गतवर्ष एक करोड रुपियाँले सो भ्याट बक्यौता घटाएको छ । गुल्मीमा हालसम्म कुल १३ हजार २८७ करदाता दर्ता भएका छन् । 

जसमा ११ हजार ४९५ करदाता छन् । हालसम्म तीन हजार करदाताले आयकर विवरण बुझाएका छैनन् । गत वर्ष ६८९ नयाँ करदाता दर्ता र ५७२ करदातालाई खारेजी गरिएको कर अधिकृत बस्यालले बताउनुभयो ।

विशेषगरी आर्थिक मन्दी र बढ्दो बसाइँसराइका कारण व्यवसायी सञ्चालनमा समेत कमी आएको छ । करदातालाई करको दायरामा ल्याउने उद्देश्यले विभिन्न समयमा जिल्लाका विभिन्न १२ स्थानमा गरिएको करदाता शिक्षा कार्यक्रममा ७९३ जनाको सहभागिता रहेको करदाता सेवा कार्यालयका सूचना अधिकारी इन्दिरा नेपालले बताउनुभयो । 

नियमित मासिक रुपमा बजार अनुगमनसँगै ननफाइलरको (विवरण नबुझाएका) सङ्ख्या कम गर्न पालिकागत तथा उद्योग वाणिज्य सङ्घको समन्वयमा सूचना प्रवाह गरिएको उहाँले बताउनुभयो ।

जिल्लामा २०७७ सालमा करदाता सेवा कार्यालयको स्थापना भएसँगै कर तिर्नकै लागि व्यवसायीलाई पाल्पा जानुपर्ने बाध्यताको अन्त्य भएको गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताउनुभयो । यहाँ करदाता सेवा कार्यालय स्थापना हुँदा विशेषगरी सबै व्यवसायीहरु करको दायरामा आएको उहाँले बताउनुभयो ।