• ६ जेठ २०८१, आइतबार

मन जितेर काम गर्ने प्रतिबद्धता

blog

भक्तपुर, वैशाख २५ गते  भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्थानीय तह निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ । नेकपा (एमाले), नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच नगरप्रमुख र उप्रमुख पदमा प्रतिस्पर्धा हुन लागेको हो । 

नगरप्रमुखका लागि एमालेबाट बिना बास्तोला, नेपाली काँग्रेसबाट जीवन खत्री र राप्रपाबाट रवीन्द्रप्रताप शाहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । प्रमुखको पदमा उम्मेदवारी दिनेहरूमा नेपाल मजदुर किसान पार्टीका  केशवप्रसाद तिमल्सिना, नेकपा (माओवादी केन्द्र)का नरेश खड्का, नेपाल सुशासन पार्टीका विष्णुराज गिरी तथा स्वतन्त्र गरी २० जना हुनुहुन्छ । चाँगुनारायणमा ३४ हजार ५८८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । 

नेकपा (एमाले)का उम्मेदवार बिना बास्तोलाले आफूले २०७४ सालको स्थानीय तहको निर्वाचनमा चाँगुनारायणमा उपप्रमुख रहँदा नगरवासीको मन जितेर काम गरेकाले अहिले निर्वाचन जित्ने दाबी गर्नुभयो । यसअगाडि उपप्रमुख रहँदा बचत खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रम, चाँगुनारायण अस्पताल निर्माण, एक हजारभन्दा बढी महिलाका लागि सीपमूलक तालिम प्रदान गर्नेलगायतका काम गरेको उहाँले बताउनुभयो । अन्य दलमा महिला प्रमुख उम्मेदवार नभएको अन्य दलका महिलाले पनि आफूलाई मतदान गर्नेमा उहाँ ढुक्क हुनुहुन्छ । उहाँले नगरपालिकामा भौतिक पूर्वाधारका काम अहिले पनि भएको तर आगामी दिनमा भौतिक पूर्वाधार र मानवीय विकासलाई सँगसँगै अगाडि बढाउने योजना सुनाउनुभयो ।

नगरपालिकामा प्राविधिक शिक्षालयको व्यवस्थापन गर्ने, प्रत्येक घरमा शुद्ध खानेपानीको व्यवस्था गर्ने, उत्पीडित वर्गको आर्थिक र सामाजिक रूपान्तरण गर्ने, चाँगुनारायणलाई कृषि र पर्यटनको हबका रूपमा विकास गर्ने, भावी दिनमा चाँगुनारायणभित्र १०६ किलोमिटर सडक कालोपत्रे गर्ने, एक वडा एक बाल उद्यान कार्यक्रम र नगरभित्र उद्यमशील दक्ष युवा उत्पादन गरी स्वरोजगार उत्पादन गर्ने घोषणा गरिएको छ ।  

नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्रीले निःस्वार्थ रूपमा सेवा गर्न नगरप्रमुखको पदमा आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले नागरिकलाई आवश्यक पर्ने न्यूनतम भौतिक पूर्वाधार पूरा गर्न र चाँगुनारायणमा व्यवस्थित सहर निर्माण गर्नका लागि काँग्रेसले निर्वाचन जित्नुपर्ने तर्क गर्नुभयो । 

नेपाली काँग्रेसले नगरपालिका र वडा कार्यालयबाट प्रदान गरिने सेवालाई डिजिटाइजेसन गर्ने, तालिमका नाममा भइरहेको उपलब्धिविहीन खर्चलाई व्यवस्थित गरी प्रत्यक्ष रूपमा उपयोगी र उत्पादनशील हुने गरी व्यवस्थापन गर्ने, विकासमा बजेट खर्च हुन नसकेको परिपाटीको अन्त्य गर्दै हरेक आर्थिक वर्षमा विकासका बजेट पूर्ण रूपमा खर्च हुने अवस्थाको सिर्जना गर्ने, कार्यालयको प्रशासनिक व्यवस्थापन प्रभावकारी बनाई चुस्तदुरुस्त रूपमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनतासामु गरेको छ । 

वडाभित्रका शैक्षिक गुणस्तर अभिवृद्धिका लागि हाम्रो विद्यालय राम्रो विद्यालय अभियान सुरु गर्ने, एक घर एक स्नातक कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई वार्षिक रूपमा सम्मान, ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई तिर्थाटन गराउने र एक घर धारा कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्रप्रताप शाहले चाँगुनारायण नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका निर्माण गर्ने अठोट गर्नुभएको छ । नगरपालिका विकृति र विसङ्गति बढ्दै गएकाले नागरिकले सुशासन महसुस गर्न नसकेको बताउँदै उहाँले आफू निर्वाचित भएपछि सुशासनलाई उच्च प्राथमिकता दिने गरी काम गर्ने बताउनुभयो । 

गरिबीको रेखामुनि रहेको अल्पसङ्ख्यक समूहका प्रतिभाशाली विद्यार्थीलाई प्रत्येक वर्ष चिकित्साशास्त्र र इन्जिनियरिङको स्नातक तह अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने, विद्यालयमा लागूऔषध दुव्र्यसनविरुद्ध नियमित रूपमा अभियान सञ्चालन गर्ने, निम्न आय भएका सुत्केरीलाई तीन महिनासम्म तीन हजार रुपियाँ मासिक भत्ता प्रदान गर्ने, किसानले उत्पादन गरेका सामग्री बिक्री गर्ने स्थानीय सहकारीलाई अनुदान दिने राप्रपाले जारी गरेको घोषणापत्रमा उल्लेख गरिएको छ ।