काठमाडौँ, भदौ ७ गते । राणा सरकारले ‘तामाङ’ थर लेख्न लेखाउन विसं १९८९ भदौ ६ गते इस्तिहार जारी गरेको थियो । सोही दिनको स्मरणमा नौ वर्षदेखि राजधानीमा तामाङ ज्ञान महोत्सव तथा पहिचान दिवस मनाइँदै आइएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहीबार आयोजित तामाङ ज्ञान महोत्सवमा सहभागीले आदिवासी ज्ञान, परम्परा, सिप, साहित्य र इतिहासको खोज, अनुसन्धान र प्रवर्धनमा जोड दिनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालयद्वारा आयोजित उत्सवमा प्रतिष्ठानका कुलपति भूपाल राईले आदिवासी ज्ञान परम्परा, साहित्य, संस्कृति, भाषाको संवर्धनमा जोड दिनुभयो ।
नेपाल तामाङ घेदुङका महासचिव जगत दोङले घेदुङले तामाङ इतिहास, साहित्य, भाषा, कला, वेशभूषालगायत समुदायले अभ्यास गर्दै आएका आदिवासी ज्ञानमा आधारित संस्कृतिलगायत समग्र विषयको उत्थानका लागि घेदुङले काम गरिरहेको चर्चा गर्नुभयो । डा. तारामणि राईले तामाङ भाषाका भौगोलिक भाषिक भेदबारे कार्यपत्र प्रस्तुत गर्दै भूगोलको दृष्टिले नजिकका क्षेत्रमा शब्दको अर्थमा समानता पाइए पनि नेपालका पूर्वदेखि पश्चिमसम्मका भूभागमा बसोबास गर्ने तामाङ भाषामा विविधता र भिन्नता रहेको बताउनुभयो ।
भाषा आयोगका सचिव डा. लोकबहादुर लोप्चनले बागमती प्रदेशमा सरकारी कामकाजमा तामाङ भाषाको प्रयोगको कार्यान्वयनको चरणमै रहेको बताउनुभयो । डा. लोप्चनले नेपाल तामाङ घेदुङलगायतका संस्थाले तामाङ भाषालाई कामकाजको भाषामा प्रयोग गर्न उठाएको आन्दोलन, पहललाई लामो समयसम्म अपनत्व लिँदै सरकार तथा सरोकारवालालाई घचघच्याइरहन सुझाव दिनुभयो ।
नवौँ तामाङ ज्ञान महोत्सव आयोजक समितिका संयोजक निष्णु तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा तामाङ डाजाङका अध्यक्ष फुलकुमार बोम्जनले डाजाङले २३ वर्षदेखि तामाङ भाषाका सर्जकलाई मातृभाषामा साहित्य सिर्जना र वाचनका लागि मञ्च उपलब्ध गराउँदै आएको बताउनुभयो ।तामाङ अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ता सञ्जिला मोक्तानले डाब्जोङ अर्थात् काभ्रेको दाप्चामा विसं १९६८ मा स्थापित भाषा पाठशालामा विसं २००७ सालपछि मात्र तामाङले पढ्ने अवसर पाएको बताउनुभयो ।