• १० मंसिर २०८१, सोमबार

जात्रा बढ्यो, जात्रालु घटे

blog

तानसेन समाचारदाता

तानसेन, भदौ ७ गते । सांस्कृतिक मेला, जात्रा, पर्व संरक्षणका लागि स्थानीयस्तरमा जागरुकता आए पनि पर्व अवलोकनकर्ताको रुचि घट्दै गएको पाइन्छ । तानसेनमा जात्रा हेर्ने दर्शकको सङ्ख्या घट्दो अवस्थामा रहेको छ ।

सूचना र प्रविधिको विकासले प्रत्यक्ष जात्रा हेर्ने दर्शकको सङ्ख्या घटेको अनुभव स्थानीयको छ । मोबाइलसहितका प्रविधिबाट जात्राको फोटो र भिडियो घरमै बसेर पनि हेर्न सकिने भएपछि प्रत्यक्ष जात्रा हेर्ने अवलोकनकर्ता घटेका तानसेनका स्थानीय सञ्जीवलाल शाक्यले बताउनुभयो । पहिले जस्तो जात्रामा के होला, कसरी निकाल्ने होला, जात्रामा के के हुन्छ भन्ने उत्सुकता प्रविधिले घटाइदिएको उहाँको भनाइ छ । घरमै बसेर पनि जात्रामा आफैँ सहभागी भए जसरी जात्राको भिडियो हेर्न पाए पनि प्रत्यक्ष सहभागी कम हुनु स्वाभाविक भएको भएको शाक्यले बताउनुभयो । 

दशकअघिसम्म तानसेनमा मात्र पाँच/सात वटा जात्रा निकालिन्थ्यो । तानसेनमा  घण्टाकर्ण,  चुइकी, गाईजात्रा, रोपाइँजात्रा, बाघजात्रा, नारायणजात्रा, भगवतीजात्रा निकाल्ने प्रचलन थियो तर अहिले नारायणजात्रा र भगवतीजात्राबाहेक सबैजसो जात्रा तानसेनसहित रामपुर, ताहुँ, हार्थोक, पूर्वखोला, सराई, हुमिन, बगनासकाली, बराङ्दी, आर्यभन्ज्याङलगायत स्थानमा पनि देखाउने गरिन्छ । जात्रा जुनसुकै स्थानमा हेर्न पाइने पहुँचले पनि तानसेनमा दर्शक घटेको हुन सक्ने स्थानीय बासिन्दाको भनाइ छ । 

तानसेनमा मात्र यस्ता जात्रा देखाउँदा मानिस तानसेन आउँथे र जात्राको अवलोकन गरी बेलुकी घर फर्कन्थे । अहिले जात्राको अवलोकन गर्नेले नै जात्रा निकाल्ने प्रचलन बढेको तानसेन कैलाशनगरका स्थानीय बासिन्दा राजेन्द्र लिगलले बताउनुभयो । पाल्पाको रामपुर, सराई, हार्थोक, आर्यभन्ज्याङमा पनि जात्रा निकाल्न थालेपछि तानसेनमा देखाइएको जात्रा हेर्न आउने मानिस घटेको उहाँको दाबी छ । पहिले धेरै समूह जात्रा लिएर तानसेन आउने चलन पनि थियो, त्यो चलन अब विस्तारै कम हुँदै गएको उहाँको भनाइ छ । विभिन्न स्थानमा छरिएर रहेका नेवार समुदायले अन्य समुदायको साथमा जात्रा निकाल्न थालेपछि तानसेनमा सहभागी कम भएको स्थानीय बासिन्दाको भनाइ छ । 

पछिल्लो समय कला संस्कृतिको जर्गेना गर्नु पर्छ भन्ने मान्यताको विकास भए पनि जात्रा हेर्ने मानिस घट्दा भने जात्रा निकाल्नेलाई खासै उत्साह छैन । जात्रा हेर्ने मानिस नहुँदा जात्रा देखाउने समूह निराश छन् । दर्शक र अवलोकनकर्ताको सहभागिताले जात्रा देखाउनेलाई उत्साह थप्न नसकेको तानसेनका पुराना कलाकार किरण चित्रकारले बताउनुभयो ।  उहाँले भन्नुभयो, “पहिले दर्शक खचाखच हुन्थ्यो, जात्रा देखाउनेलाई सहयोग गर्नु पर्छ भन्ने भावना थियो । अहिले दर्शक र सहयोगी भावना कमजोर बनेको छ ।”