बिन्दु थापा
पाल्पा, भदौ ६ गते । श्री ७ सूर्यविनायक मन्दिर दाफा भजन खलका अध्यक्ष मङ्गलमान बज्राचार्यको अगुवाईमा मतया जात्रा निकालिएको छ । ४० वर्षपछि बुधबार मतया जात्रा निकालिएको हो । यसलाई दीपयात्रा पनि भनिन्छ ।
ऐतिहासिक एवं सांस्कृतिक सहर तानसेनमा बसोवास गर्ने रैथाने हुन् वा बाहिरबाट बसाइँ आएका, धेरैले नौलो प्रकारको जात्रा हेर्दा अचम्म मान्ने गर्दछन् । चामलको पिठोबाट बनाइएको खुर्सानी, मम, केराउ, अण्डा, स्याउ, भुटुवा लगायत थुप्रै सक्कली तथा नक्कली परिकार बोकेका महिलाले बजार परिक्रमा गरेका थिए ।
धिमे बाजासहित विभिन्न पोसाकमा महिला तथा पुरुष सजिएर मन्दिर र बौद्ध विहारमा नक्कली तथा सक्कली खानाका परिकार चढाएका थिए । ‘तानसेन, टक्सारकी विद्यालक्ष्मी बज्राचार्यले भन्नुभयो, ‘यसलाई पछिल्लो ४० वर्षपछि निकाल्न सकिएको थिएन । यसवर्ष प्रयास गरेपछि निकाल्न सफल भइएको छ । यसलाई हामीले भगवानलाई पनि झुक्काउने जात्रा भन्छौं, भोलिपल्ट बिहान यो जात्रा अर्थात् दीपयात्रा गरिन्छ ।’
मन्दिरमा प्रसाद चढाएर फर्केपछि लक्ष्यवत्ती बालिन्छ । टक्सार टोलका महिलाले घर–घरमा बनाएका विभिन्न सामग्री बोकेर बजार परिक्रमा गरेको स्थानीय टक्सारका सुरेशमान बज्राचार्यले बताउनुभयो ।
मतया दुई सय वर्ष पहिलेदेखि तानसेनमा चलिआएको संस्कृतिविद श्रेष्ठको दाबी छ । उहाँका अनुसार तानसेन टक्सार टोलमा ललितपुर पाटनबाट आएकाको संख्या उल्लेख्य थियो । धातुकलाका काममा आएका कारीगढहरुले तानसेन आउँदा आफूसँग आफ्नो मौलिक संस्कृति, संस्कार र रीति–रिवाजलाई पनि सँगै लिएर आएको संस्कृतिविद् श्रेष्ठले बताउनुभयो । ‘मतया’ अर्थात् मत भनेको मन र ‘या’ भनेको गर, भएकाले मनमा आएको बनाएर भगवानलाई चढाउने प्रचलन रहेको श्री ७ सूर्यविनायक मन्दिर दाफा भजन खलको भनाइ छ ।
विभिन्न चाडपर्वमा खाने मिठा परिकार सबै बनाएर भगवानलाई चढाउने गरिन्छ । उहाँले भन्नुभयो, ’आफूसङ्ग कला छ, त्यही प्रदर्शन गर्ने गरिन्छ । बाजागाजाका साथ बजारका मन्दिर र गुम्हामा पुगेर नेवारी भोज र संस्कृतिमा प्रयोग हुने सबै खानाका परिकार नेवार समुदायका महिलाले चढाउने गर्छन् ।’
इतिहासविद् श्रेष्ठका अनुसार तानसेन टक्सारमा टकमरीको काम सुरु भएपछि पाटन (ललितपुर) बाट शाक्य र व्रजाचार्यहरु कालिगढको रुपमा तानसेन आएका थिए । कारीगढहरुसँगै सन्तान दर सन्तानहरु तानसेनको टक्सार टोलमा पाटनेलीको सङ्ख्या उल्लेख्य रहेको संस्कृतिविद् श्रेष्ठको भनाइ छ । पाटनबाट तानसेन आउँदा आफूसँग आफ्नो मौलिक संस्कृति, संस्कार र रीति–रिवाजलाई पनि सँगै ल्याएको उहाँले बताउनुभयो ।