• १० मंसिर २०८१, सोमबार

जुम्ला कनकासुन्दरी-५ बालविवाहमुक्त घोषणा

blog

जिल्लाका कनकासुन्दरी गाउँपालिका-५ बालविवाह मुक्त । तस्बिर : नेत्र शाही

नेत्र शाही 

जुम्ला, भदौ २ गते । जिल्लाको कनकासुन्दरी–५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । उपाध्यक्ष प्रेमकली बुढाका अनुसार कनकासुन्दरी गाउँपालिका ५ बालविवाह मुक्त भएको हो । 

शनिबार ‘बिहेवारी २० वर्षपारि, हामी सबैको ऐक्यबद्धता, बालविवाहमुक्त कनकासुन्दरी’ भन्ने नाराका साथ बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

कनकासुन्दरी ५ का अनुसार बालविवाहमुक्त गर्न १५ वटा सूचक पूरा गरेको बताउँदै एक हजार तीन सय ९० जनाले बालविवाह नगर्ने प्रतिबद्धता जनाएपछि बालविवाहमुक्त वडा घोषणा गरिएको जानकारी दिनुभयो । 

गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार वडा हुँदै पालिकाले नै बालविवाह मुक्त गर्ने नीति लिएको बताउनुभयो । पालिकाले चेतनामूलक कार्यक्रम पनि जोड दिने छ । पालिकाले बालविवाहविरुद्धको रणनीतिसमेत बनाएको बताएको छ । वडाध्यक्ष विष्णुबहादुर बडुवालले पालिकाकै पहिलो वडाको रूपमा बालविवाहमुक्त घोषणा गर्न सफल भएको बताउँदै यो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

नेपाललाई सन् २०३० सम्म बालविवाहमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य अनुसार गैरसरकारी संस्थाहरूको सहयोग र समन्वयमा पालिकाहरूले बालविवाहमुक्त वडा घोषणा गरिरहेका छन् । जुम्लामा कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ बालविवाह मुक्त घोषणा भएपछि जुम्लामा ५ वटा वडा बालविवाह मुक्त घोषणा भएका छन् । 

कनकासुन्दरी-५, हिमा गाउँपालिका-१, तिला गाउँपालिका-६, पातारासी गाउँपालिका-५ र गुठिचौर गाउँपालिका ४ स्थानीय सरकारले बालविवाह मुक्त गरेका छन् ।