• ३ भदौ २०८१, सोमबार

नेपालगन्ज म्याराथनको दशक उत्सव मङ्सिरमा

blog

काठमाडौँ, भदौ ३ गते । नेपालगन्ज म्याराथनको १०औँ संस्करण आउँदो मङ्सिर २२ गते आयोजना हुने भएको छ ।

म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले दसौँ संस्करणको मिति तय गरेको हो । सरकारले बृहत् राष्ट्रिय खेलकुदको मिति तय गरेसँगै काउन्ट डाउन सुरु गरिसकेको हुँदा नेपालगन्ज म्याराथनको मिति पछाडि सारिएको हो ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबिच विस्तृत शान्ति सम्झौता भएको दिन २०६३ मङ्सिर ५ गतेको स्मरणमा हरेक वर्ष मङ्सिरको पहिलो शनिबार नेपालगन्ज म्याराथन हुँदै आएको थियो । 

नेपालगन्ज म्याराथनका लागि २०८१ भदौ १ देखि खेलाडी दर्ता खुला गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ वर्ष उमेर समूह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ । 

यस वर्ष केही विधामा नगद पुरस्कार राशिमा वृद्धि गरिने बताइएको छ । नवौँ धारा नेपालगन्ज म्याराथनको उपाधि पुरुषतर्फ गोपीचन्द्र पार्की र महिलामा सन्तोषी श्रेष्ठले जित्नुभएको थियो ।