अर्जुन कार्की
काठेखोला (बागलुङ), असार ११ गते । बागलुङका स्थानीय तहले आगामी आर्थिक वर्षका लागि छ अर्ब ३४ करोड बढीको बजेट ल्याएका छन् । बागलुङका चार नगरपालिका र छ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि छ अर्ब ३४ करोड ३९ लाख ६५ हजार एक सय १४ रुपियाँ बजेट प्रस्तुत गरेका हुन् ।
अन्तरसरकारी वित्त व्यवस्था ऐन अनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानुनी यवस्था अनुसार जिल्लाका पालिकाहरुले बजेट गाउँ–नगर सभामा प्रस्तुत गरेका हुन् । जिल्लाका सवै स्थानीय तहले कृषि, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको जनाएका छन् ।
बागलुङमा सबैभन्दा धेरै बागलुङ नगरपालिकाले र सबैभन्दा कम तमानखोला गाउँपालिकाले बजेट विनियोजन गरेका छन् । बागलुङ नगरपालिकाले एक अर्ब ३० करोड ९५ लाख ५८ हजार पाँच सय ६९ रुपियाँको बजेट प्रस्तुत गरेको छ भने तमानखोला गाउँपालिकाले ३३ करोड ४१ लाख ६ हजार दुई सय ६५ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
बागलुङको पुरानो नगरपालिका बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३० करोडको बजेट विनियोजन गरेको छ । नगरउपप्रमुख राजु खड्काले आ.व. २०८२÷८३ का लागि एक अर्ब ३० करोड ९५ लाख ५८ हजार ५ सय ६९ रुपियाँ बजेट प्रस्तुत गर्नुभयो । उपप्रमुख खड्काले आर्थिक विकासतर्फ दुई करोड ९७ लाख, पूर्वाधार विकासतर्फ ३९ करोड ५१ लाख ३९ हजार दुई सय ८० रुपियाँ, सामाजिक विकासतर्फ ६४ करोड ४१ लाख ४४ हजार नौ सय २० रुपियाँ, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च १७ करोड २४ लाख ४० हजार रुपियाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ६ करोड ८१ लाख ३४ हजार तीन सय ६९ रुपियाँ बजेट विनियोजन गर्नुभएको छ ।
यस्तै, जैमिनी नगरपालिकाले ७५ करोड चार लाख रुपियाँ बजेट विनियोजन गरेको छ । नगरउपप्रमुख हरिहर शर्माले सार्वजनिक गरेको बजेट वक्तव्य अनुसार बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाका लागि दुई करोड दुई लाख रुपियाँ, सामाजिक विकासमा पाँच करोड ४२ लाख रुपियाँ र लिड स्कुलका रुपमा नगर क्षेत्रै उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्न १० लाख रुपियाँ विनियोजन गर्नुभएको छ ।
यस्तै, गलकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७१ करोड ७४ लाख रुपियाँको बजेट ल्याएको छ । नगरउपप्रमुख फमलाल निउरेले चालुतर्फ ५१ करोड ४२ लाख ३६ हजार छ सय रुपियाँ र पूँजीगततर्फ २० करोड ३१ लाख ६९ हजार गरी कुल ७१ करोड ७४ लाख पाँच हजार छ सय रुपियाँ बजेट विनियोजन गर्नुभएको छ । उपप्रमुख निउरेले आन्तरीक राजस्व एक करोड ९३ लाख बजेट विनियोजित गर्नुभएको छ ।
यस्तै, ढोरपाटन नगरपालिकाले ६० करोड ७८ लाख दुई हजार रुपियाँको बजेट ल्याएको छ । नगरपालिकाका कार्यबाहक प्रमुख धनबहादुर कायतले प्रस्तुत गरेको बजेट वक्तव्यमा सङ्घीय सरकारबाट वित्तिय समानिकरणमा १० करोड ६७ लाख, सङ्घीय सर्शत अनुदान २८ करोड नौ लाख, संघ समपुरक अनुदान ८७ लाख, सङ्घीय सरकार विशेष अनुदान एक करोड ९० लाख रहेको जनाएको छ ।
यस्तै, बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले ७१ करोड ९५ लाख रुपियाँ बजेट विनियोजन गर्नुभएको छ । बडिगाडको आन्तरिक राजस्वबाट एक करोड ६० लाख १५ हजार, नेपाल सरकारको राजस्व बाँडफाँटबाट १० करोड ५४ लाख १४ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ११ करोड २९ लाख ६ हजार, चालु वर्षको नगद मौज्दातबाट ७९ लाख ५० हजार, अन्तर सरकारी वित्तिय हस्तान्तरणअन्तर्गत सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानबाट १० करोड ८७ लाख, प्रदेश तर्फको वित्तीय समानीकरण अनुदान एक करोड ४० लाख ७४ हजार, सङ्घीय सरकारको सशर्त अनुदान ३८ करोड ९३ लाख, सङ्घीय सरकारको विशेष अनुदान एक करोड ६३ लाख बजेट प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै ताराखोला गाउँपालिकाले ४० करोड ६७ लाख ४७ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । ताराखोला गाउँपालिकाका उपाध्यक्ष भिमबहादुर रोकाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ २२ करोड ७३ लाख ७० हजार र पुँजीगतर्फ १७ करोड ९३ लाख गरी कुल ४० करोड ६७ लाख ४७ हजार बजेट सार्वजनिक गर्नुभएको हो ।
गाउँपालिकाले आर्थिक विकासतर्फ एक करोड ४८ लाख ३५ हजार, सामाजिक विकासतर्फ सशर्त अनुदानसहित १९ करोड ८३ लाख ८२ हजार, पूर्वाधार विकासतर्फ ११ करोड ५५ लाख ५१ हजार, विपद् व्यवस्थापनतर्फ ३० लाख ५० हजार, सुशासन तथा संस्थागततर्फ एक करोड ३२ लाख ६० हजार र पालिकाको प्रशासनिक खर्चतर्फ ६ करोड १६ लाख ७० हजार विनियोजन गरेको छ ।
बरेङ गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुनले ३८ करोड ९० लाख ४० हजार आठ सय २८ रुपियाँ बजेट विनियोजन गर्नुभएको छ । उहाँले कुल विनियोजन योग्य बजेट १६ करोड आठ लाख ५१ हजार ६ सय २० रुपियाँ र सोमध्य प्रशासनिक खर्चतर्फ चार करोड ९८ लाख ४९ हजार तीन सय तीन रुपियाँ र पुँजीगततर्फ ७ करोड चार लाख ८० हजार रुपियाँ विनियोजित गर्नुभएको छ ।
यस्तै, काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५८ करोड ६९ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले ५८ करोड ६९ लाख ८३ हजार रुपियाँ बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले सर्शत (चालु)तर्फ ३१ करोड १२ लाख, सशर्त (पुँजीगत)तर्फ एक करोड ४० लाख, चालु तर्फको खर्च सात करोड ३० लाख, पूर्वाधार विकासमा २ करोड १९ लाख, सामाजिक विकास तर्फ तीन करोड २१ रुपियना अनुमानित रकम विनियोजन गरेको छ । वडागत विनियोजनमा पालिकाभित्रका ८ वटा वडामा तिन करोड ७० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । पालिकाको दुई वटा गौरवको योजनाका लागि एक करोड, सङ्घ तथा प्रदेश समपुरकतर्फ तीन करोड रकम बजेट विनियोजन गरेको छ ।
यस्तै तमानखोला गाउँपालिले ३३ करोड ४१ लाख ६ हजार दुई सय ६५ रुपियाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष हिरा कुमारी छन्त्यालले पुँजीगत खर्चतर्फ ७ करोड ९४ लाख १७ हजार र चालू खर्चतर्फ २५ करोड ४६ लाख ८९ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । तमानखोलाले शिक्षामा २ करोड ५२ लाख ५० हजार र स्वास्थ्यतर्फ १ करोड ६४ लाख ५५ हजार बराबर र पूर्वाधार विकासतर्फ (कर्मागत समेत गरेर) ६ करोड १५ लाख ८४ हजार (पालिका र वडामा एकमुष्ट) विनियोजन गरेको छ ।
यस्तै निसीखोला गाउँपालिकाले ५२ करोड २४ लाख २१ हजर आठ सय ५२ रुपियाँको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरद्वारा प्रस्तुत बजेटमा पालिकाका सात वटा वडाहरूलाई २ करोड ५९ लाख ८९ हजार विनियोजन गरिएको छ ।