• १६ भदौ २०८१, आइतबार

वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत राजस्व सङ्कलन

blog

भद्रपुर (झापा), भदौ ३ गते । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत हो । 

आन्तरिक राजस्व कार्यालयको चालु आवमा चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवम् कर अधिकृत भीमप्रसाद आचार्यले जानकारी दिनुभयो । “साउनमा ३२ करोड ८७ लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ९१ दशमलव ९५ प्रतिशत राजस्व सङ्कलन भयो, लक्ष्यअनुसार राजस्व सङ्कलन भएन”, उहाँले भन्नुभयो । 

आन्तरिक राजस्व कार्यालयले साउनमा आयकरबाट आठ करोड ९१ लाख तीन हजार, ब्याजबापत दुई करोड ४० लाख ८७ हजार, मूल्य अभिवृद्धि करबापत ११ करोड ६५ लाख २९ हजार र अन्तःशुल्कबापत छ करोड ८९ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । गत आव २०८०/८१ को पहिलो महिनामा २८ करोड ९६ लाख राजश्व सङ्कलन भएको कर अधिकृत आचार्यले बताउनुभयो । रासस