• १६ भदौ २०८१, आइतबार

श्रावण शुक्ल पूर्णिमा: धार्मिकस्थलमा धामीझाँक्री मेला

blog

तस्बिर : रासस

खोटाङ, भदौ ३ गते । बाँसको लिङ्गो, केराको खम्बा ! नुहाउन आयौँ देउताको धाममा !! जै हर हर, जै हर हर ! रक्षा गर, क्षमा गर !! पानफूल दियौँ, पानफूल खाउ है ! सयौँ वर्षको आयुत्रा देऊ है !! सै राजा सै सै, सै रानी सै सै...

यही भाका तथा बोलको गीत र ढोल, झ्याम्टा एवम् ढ्याङ्ग्रोको तालमा धार्मिक तथा पर्यटकीयस्थलमा ढोलेतालेसहित धामीझाँक्री नाचिरहेका छन् । साउन लागेसँगै गुप्तवास बसेका धामीझाँक्री श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलहरुमा गएर नुहाउनाका साथै पूजाआजा गरेर विद्धे (ज्ञान) प्राप्तिका लागि प्रार्थना गर्ने गर्छन् । 

गुप्तबास बसेका धामीझाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलमा गएर नुहाइधुवाइ गरेपछि आफ्ना गुरु तथा देवीदेवता चल्ने मान्यता छ । सोही मान्यताअनुसार धामीझाँक्री जिल्लाका विभिन्न ठाउँमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थलमा नुहाउन तथा पूजाआजा गर्न पुग्ने गरेका छन् । महिना दिनसम्म गुप्तवास बसेका धामीझाँक्री आज बिहानदेखि जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलमा भेला भएका छन् । 

बराहपोखरी, भुलभुले दुधकुण्ड, साप्सुधाप, कान्छी सालपा, भालुखोला, होङ्मा पोखरी, जन्तेढुङ्गालगायत धार्मिक तथा पर्यटकीयस्थलमा बिहानदेखि धामीझाँक्रीको बृहत् मेला लागेको स्थानीय बासिन्दाले बताएका छन् । धार्मिक तथा पर्यटकीयस्थलमा लाग्ने धामीझाँक्री मेलामा रमिता हेर्ने सर्वसाधारण तथा पूजाआजा गर्ने भक्तजनको समेत बाक्लो उपस्थिति देखिएको छ । धार्मिक मेला भर्न आउने सर्वसाधारणका लागि होटल तथा पसलसमेत सञ्चालन गरिएका छन् । 

जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलमा शुक्ल पूर्णिमाको अवसर पारेर पूजाआजासहित नुहाउँदा रोगव्याधी हट्नाका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सबैभन्दा नजिक रहेको मुडेस्थित धार्मिक एवम् पर्यटकीयस्थल भालुखोलामा आइतबारदेखि नै धार्मिक मेला लागेको छ । ढोल, ढ्याङग्रो र झ्याम्टा बजाउँदै दिनभर धामी नाच्ने भालुखोलामा बुढापाका, युवायुवती तथा केटाकेटी सबैको उल्लेख्य उपस्थिति रहने गरेको छ । 

परापूर्वकालदेखि नै यस ठाउँको पानीले नुहाइधुवाइ गरेमा रोगकष्ट निको हुने जनविश्वास रहिआएको स्थानीय सीताराम राईले बताउनुभयो । श्रावण शुल्क पूर्णिमाको अवसरमा बर्सेनि ठुलो मेला लाग्ने धार्मिक एवम् पर्यटकीयस्थल भालुखोलामा विभिन्न मनोकाङ्क्षा लिएर विभिन्न ठाउँबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् । श्रावण शुल्क पूर्णिमाका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएकाले पनि धार्मिक तथा पर्यटकीयस्थलमा लाग्ने धार्मिक मेला हेर्न तथा पूजाआजा गर्ने दर्शनार्थी एवम् भक्तजनको सङ्ख्या वृद्धि भएको हो । 

जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलमा गएर दिनभर नाचगान गरेका धामीझाँक्री बेलुका घर फर्किएर सामूहिक तथा एकलरुपमा देवीदेवताको पूजाआरधानासहित रातभर चिन्ता बस्ने (ढोलेतालेसहित थान थापेर जबध्यान गर्ने काम) गर्छन् । त्यस अवसरमा छरछिमेकका स्थानीय बासिन्दाले धामीझाँक्रीको शिर उभ्याउनी (पैसा र रक्सीको कठुवा चढाएर ढोग्ने काम)समेत गर्ने प्रचलन रहिआएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका दिलकुमार राईले बताउनुभयो । 

पछिल्लो समय धार्मिकस्थलहरुको महत्त्व बढ्दै गएपछि जिल्लास्थित दशवटै स्थानीय सरकारले आ–आफ्नो क्षेत्रमा पर्ने धार्मिकस्थलको स्तरोन्नति तथा प्रवर्द्धन गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लाखौँ रकम खर्चिएर साप्सुधाप र भुलभुले दुधकुण्डको स्तरोन्नति गरेको छ । सङ्घीयता लागू भएपछि स्थानीय सरकारले धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति एवम् प्रवर्द्धनको काम गरेसँगै अन्य समयमा पनि पूजाआजा गर्ने भक्तजन तथा दर्शनार्थीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएको स्थानीय बासिन्दाहरूले बताएका छन् । 

जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति एवम् प्रवर्द्धन गरेर आन्तरिक आयस्रोत वृद्धि गर्ने स्थानीय सरकारको लक्ष्य रहेको छ । पछिल्लो समय जिल्लाका हरेक स्थानीय तहमा धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति तथा संरक्षण एवम् प्रवर्द्धनको माग बढिरहेको छ । जिल्लास्थित सबै जातजातिका स्थानीय बासिन्दा आ-आफ्नो ऐतिहासिकस्थल संरक्षणमा जुटेका छन् । रासस