• २ भदौ २०८१, आइतबार

लाखौँ कमाइ हुने तरकारी खेतीमा रमाउँदै किसान

blog

सूर्योदय नगरपालिका किसानले बिक्रीका लागि तयार गरेको काँक्रा र अन्य तरकारी । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, भदौ २ गते । अब सिजन सक्किनै लाग्यो । बारीमा लहरिएको काँक्राको बोट पहेँलो हुनथाल्यो । करिब अन्तिम सिजनका काँक्रा टिपेर सूर्योदय नगरपालिका –१२ का किसान रमेश गडतौलाले झापा पठाउने तयारी गर्दै हुनुहुन्छ । 

बोट पहेँलो देखिए पनि काँक्रा भने खाउँ–खाउँ लाग्दो छ । ‘अन्तिम टिपाइ भइसक्यो, यो साल राम्रैगरी काँक्रा बिक्री भयो’ गडतौलाले भन्नुभयो, ‘झापाको चारआली र बिर्तामोड पुगाउँदा कम्तीमा ३० रुपियाँ प्रतिगोटादेखि सरदर ९० रुपियाँ प्रतिगोटाका दरले हामीले बिक्री गरेका छौँ । वरपर अरू किसानको पनि भेला गरेर त्यही मूल्य हामीले दियौँ ।’ 


गडतौलाले करिब पाँच रोपनी जमिनमा काँक्रा रोपेको र यसबाट १५ हजार वटा काँक्रा उत्पादन भएको बताउनुभयो । ‘काँक्रा लगाउँदा करिब डेढ लाख रुपियाँ खर्च भयो, ६–७ लाख रुपियाँ आम्दानी भए होला’ गडतौलाले भन्नुभयो, ‘हाम्रो गाउँमा धेरै किसानले काँक्रा लगाएका छन् । प्रायः सबैजसो किसानले कम्तीमा चार–पाँच सय वटा काँक्रा बिक्री गरेका छन् । काँक्राबाट आम्दानी राम्रो हुनेहुँदा किसान आकर्षित भइरहेका छन् ।’

सूर्योदय–१२ का योगेन्द्र राई, सञ्जय राईले पनि काँक्रा खेती गर्नुभएको छ । ‘सुरुमा खडेरीले अलि सतायो, सिँचाइ कम भयो, तर पनि दुई हजार जति काँक्रा फल्यो होला’ कृषक योगेन्द्र राईले भन्नुभयो । 


सूर्योदय–१२ का मलिम, आठघरे, याङ तरकारी उत्पादनका लागि राम्रो क्षेत्र मानिन्छ । मलिममा अहिले गोलभेँडा राम्रो रहेको र आफैँले ढुवानी सेवा दिंदैआएको अर्का किसान तथा पिकअप गाडी चालक राम राईले बताउनुभयो । ‘मलिम पुच्छार, विरिङ खोला नजिकसम्म गाडी जान्छ, असारे टार, लेप्चा गाउँदेखिको गोलभेँडा र अन्य तरकारी उठाउने गरेको छु’ राईले भन्नुभयो, ‘यो वर्ष त कसैको तरकारी कुहिएन, सबै किसानले फलाएको तरकारी राम्ररी बिक्री गर्न पाएका छन् । हामीले यो तरकारी झापा लगेर बिक्री गर्ने गरेका छौँ ।’ 

यहाँका किसानले काँक्रा, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउली, इस्कुसका टुप्पा, फर्सीका टुप्पो लगायतका तरकारी उत्पादन गरेर बिक्री गर्नेगरेका छन् ।