• १ भदौ २०८१, शनिबार

बस्ती जोगाउन अस्थायी तटबन्ध बनाउँदै सशस्त्र प्रहरी

blog

अस्थायी तटबन्ध निर्माण गर्दै सशस्त्र प्रहरी । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, भदौ १ गते । कपिलवस्तुको महाराजगन्ज नगरपालिका १० हर्दौना स्थित बाणगंगा नदीमा सशस्त्र प्रहरीको टोली हर्दौना गाउँ जोगाउन अस्थायी तटबन्ध निर्माण गरेको छ । असार २० गते आएको बाढीले जमिन कटान गर्दै बस्तीमा पुगेपछि सशस्त्र प्रहरीको टोली बस्ती जोगाउन खटिएको  थियो । नदी कटानका कारण यो वर्ष दुई घर विस्थापित भएका छन् भने ४५ घर बगाउने जोखिम रहेको छ ।

बाढीले तीव्र रुपमा कटान गर्न थालेपछि कटानको असर कम गर्न सशस्त्र प्रहरीले रुखको हाँगा र डोरीको प्रयोग गरेको थियो । 

जनताको तटबन्ध कार्यक्रमबाट प्राप्त बोरा प्रयोग गरी तटबन्ध निर्माण सुरु भएको बिओपी हर्दौनाका सशस्त्र प्रहरी निरीक्षक सञ्जीव तिवारीले बताउनुभयो । तटबन्ध निर्माणका लागी तीन सय थान जियो ब्याग र ५ हजार पोलिमर ब्यागको प्रयोग गरिएको छ । ८ फिट गहिरो नदीमा बाँसका पोल गाडेर माटोले भरिएको बोरा राखेर तटबन्ध बनाउँदै आइएको छ । ७ सय मिटर लामो नाला खनिएको छ । 

ठक्कर निर्माण गरेको स्थल पुग्न डुंगाको सहयाताले नदी पार गर्नुपर्छ । चर्को गर्मीमा डेढ किलो मिटर हिँड्दै निर्माण स्थल पुगेर काम गरिएको छ । हेर्दा सजिलो देखिन्छ । नदी धेरै गहिरो छ । लाइफ ज्याकेट लगाएर बाँस समाउँदै काम गरेको सशस्त्र प्रहरी जवान राजेन्द्र खत्रीले बताउनुभयो । बाणगंगा नदीले धार परिवर्तन गर्दा हालसम्म तीन सय घर विस्थापित भएको स्थानीय भनाइ रहेको छ ।