• १६ भदौ २०८१, आइतबार

लाहुरे इतिहासको पुनर्लेखन

blog

पूर्वी नेपाल सङ्खुवासभा, खाँदबारीका राजकुमार राईले हङकङलाई कर्मभूमि बनाएर नेपाली भाषा साहित्यको सेवामा आफूलाई सक्रिय बनाउनुभएको छ । उहाँ हङकङ साहित्यिक समाज साझा शृङ्खलाका अध्यक्ष र साब्लाबुङ साहित्यिक पत्रिकाका सम्पादक/प्रकाशक पनि हुनुहुन्छ । उहाँको औपन्यासिक कृति, किवाहाङ, (२०८१) भर्खरै प्रकाशित भएको छ । हुन त यो उपन्यास आञ्चलिकता र किराँत संस्कृतिको चित्रणका दृष्टिले उल्लेख्य र महत्वपूर्ण छ । यो यात्रा संस्मरणात्मक, ऐतिहासिक र राजनीतिक उपन्यासका रूपमा पनि अध्ययनीय र विश्लेषणीय देखिन्छ । 

यसमा प्रथम र द्वितीय विश्वयुद्धपछि बेलायती सैनिकमा भर्ना भएका लाहुरेहरूको वा बेलायती गोर्खा सैन्य जीवनको चित्रण गरिएको छ । खास गरी मलाया, सिङ्गापुर, ब्रुनाई, हङकङ र बेलायतका सैन्य शिविरमा बस्दा गोर्खा सैनिकले के कस्तो तालिम लिए; के कस्तो शिक्षा पाए, शिक्षाको महत्व कसरी बुझे, के कस्तो सिप र प्राविधिक ज्ञान पाए, संसारलाई कसरी चिने, ब्रिटिस सेनाका विरोधी शक्तिसँग के कस्ता युद्ध भए र त्यसको सामना गोर्खालीले कसरी गरे, सैन्य क्याम्पनजिकका संवेदनशील ठाउँको गस्ती र सुरक्षा के कसरी गरे भन्नेबारेमा वर्णन गरिएको छ । उपन्यासकारले लाहुरेका यस्ता कार्यलाई विषय बनाएर उपन्यास किन लेखे ? उपन्यास पढेर के थाहा पाइन्छ भने लाहुरेको इतिहास त्रुटिपूर्ण वा भ्रमपूर्ण छ र त्यसलाई सच्याउनु पर्छ भन्ने उद्देश्यले यो उपन्यास लेखिएको जस्तो देखिन्छ । 

नेपालमा लाहुरेका बारेमा अलि नकारात्मक धारणा छन् । एकातिर लाहुर जानु हुँदैन, यसलाई नेपाल सरकारले रोक्नु पर्छ भनेर नाराबाजी गरिन्छ भने अर्कातिर नेपालीमा उखान नै बनाइएको छ, ‘आयो लाहुरे बुटजुत्ता कसेर, गयो लाहुरे खरानी घसेर ।’ नेपाली समाजमा प्रचलित यस उखानले लाहुरे साम्राज्यवादी बेलायतको सेनामा जागिर खाएर साम्राज्यवादको विस्तार गर्न सहयोग गर्ने, बेलायती पराधीनताबाट स्वतन्त्र हुन खोज्ने राष्ट्रका स्वतन्त्रताप्रेमी विद्रोहीलाई दमन गर्न प्रयोग हुने भाडाको सिपाही मात्र हो, उसले लाहुरे भएर केही कुरा सिकेको हुँदैन, केवल मोजमस्ती गर्न मात्र जानेको हुन्छ भन्ने गलत व्याख्या गरिएको छ । उनीहरूको वीरता, शूरता र साहस; उनीहरूले ज्यानको बाजी थापेर लडेको युद्ध र पाएको सफलता, उनीहरूले विश्वमा फैलाएको कीर्ति वा यशलाई अनदेखा गरिएको छ । त्यस्तै उनीहरूलाई बेलायत र नेपाल दुवै देशका सरकारले विभेद र शोषण गरेका छन् । मलाई लाग्छ, ब्रिटिस गोर्खाको यस्तै गलत इतिहासको विरोधमा यो उपन्यास लेखिएको हो ।

‘सैनिक जीवन स्विचबाट चल्ने जीवन, हेडक्वाटरबाट स्विच थिच्नेबित्तिकै अफ अन हुने जीवन, एउटा बिजुलीको बल्ब जस्तो जीवन हो’ (पृ.२४९) । अर्थात् पराधीन, अस्तित्वहीन र क्यारेमबोर्डको गोटी जस्तो मात्र हो त ? लाहुरेको वास्तविक इतिहास, लाहुरेले स्वदेश र विदेशमा गरेको योगदान बेलायतले लुकाएको र गोर्खा सैनिकमाथि गरेको विभेद एवं शोषणका बारेका यो उपन्यास लेखेको देखिन्छ । राईले लाहुरे मान्छे मार्न र मोजमस्ती गर्न मात्र गएको होइन, केही सिक्न र अरूलाई पनि सिकाउन गएको हो । उसका लागि सैनिक क्याम्प सङ्कट आउनेबित्तिकै युद्ध गर्न कुदिहाल्ने ठाउँ मात्र नभएर उच्च शिक्षा प्राप्त गर्ने विश्वविद्यालय पनि हो भनेर पुस्तकमा दह्रो वकालत गरिएको छ । उहाँ लेख्नुहुन्छ, “पल्टन भनेको लत्ताकपडा, बुटजुत्ता, तक्मा, सिल्डको लोभ मात्र होइन; लाहुरमा बन्दुक बोक्ने वा ताक्ने, लेफ्टराइट गर्ने मात्र हुँदैन । लाहुर शिक्षा, स्वास्थ्य, सिप, प्रविधि, सामाजिक र राजनीतिक विषय अध्ययन गर्ने केन्द्र हो । विश्वका अनेक धर्म, संस्कृति र संस्कारको अध्ययन गर्ने केन्द्र हो । पल्टन भनेको बहुउद्देश्यीय विश्वविद्यालय हो ।” (पृ.२५२)

लाहुरेले मोजमस्ती मात्र गर्दैनन्, उनीहरू अध्ययनशील पनि हुन्छन्, सिक्ने कौतूहल भएका हुन्छन् । ज्ञान, विज्ञान, कला, साहित्य र संस्कृतिप्रेमी हुन्छन् । शिक्षाप्रेमी हुन्छन्, अक्सफोर्ड विश्वविद्यालयको सदस्य भएर त्यहाँका पुस्तक पढी संसारलाई चिन्न वा बुझ्न खोज्ने हुन्छन् भनेर उपन्यासको प्रमुख पात्र किवाहाङका चरित्रबाट उपन्यासकारले स्पष्ट पारेका छन् । किवाहाङ अध्ययनशील छ, ऊ मनोरञ्जनप्रिय मात्र नभएर अध्ययनप्रिय छ । अङ्ग्रेजी साहित्यका विश्वप्रसिद्ध साहित्यकार सेक्सपियरको घर हेर्न जान्छ, बेलायती म्युजियम हेर्न जान्छ र बेलायती साहित्य संस्कृतिबाट परिचित हुन्छ । ऊ नेपाली सैन्य साथीबाट नेपालको बहुधर्म, बहुसंस्कृति र बहुसंस्कार सिक्छ भने ब्रिटिस सेनाका कर्नेल स्मिथ, महिला मित्र सान्ड्रा र एली आदिबाट शिक्षा र ज्ञानको महत्व, प्रवासीको जीवनमा आइपर्ने सङ्घर्ष, दाम्पत्य जीवन र युरोपेली जीवनशैली र गोर्खालीले संसारका कुना कुनामा फैलाएको बहादुरीको इतिहास के कस्तो रहेछ भनेर पनि थाहा पाउँछ । 

बेलायतले गोर्खाली सेनालाई आधाभन्दा थोरै तलब दिएर काम लगाएको, एक छाक भात र एक छाक रोटी मात्र खान दिएको, गोरुको मासु खान बाध्य पारेको, ठुलो पदमा पुग्नबाट वञ्चित गरेको, बिनापेन्सन निवृत्त हुन बाध्य पारेको छ । त्यस्तै प्रथम र द्वितीय विश्वयुद्धमा बेलायतका तर्फबाट लडेर विजय प्राप्त गर्दा र सैनिकले वीरगति प्राप्त गर्दा पाउने क्षतिपूर्ति रकम सम्बद्ध व्यक्तिलाई नदिई नेपालका सरकारलाई दिएर खुसी बनाउने काम गरिएको छ । गोर्खाको अदम्य साहस र सौर्यको उच्च सम्मान गर्दै विदेशीले गोर्खा सैनिककै हितमा खोलेको गोर्खा वेल्फेयर सेन्टरमा जम्मा भएको रकम सम्बद्ध पक्षले सदुपयोग गर्न नपाई अन्य पक्षले प्रयोग गरेको छ । उपन्यासले यिनै कुरा देखाएर गोर्खा सैनिकमाथि भएका विभेद र शोषणको विरोध गरेको छ ।  

तात्कालिक नेपाल सरकारले नुन बोक्न हिँडेका सिधासादा मान्छेलाई जबरजस्ती बेलायती सेनामा पठाउने काम ग¥यो । त्यसबापत बेलायती सरकारबाट बर्सेनि रोयल्टी पनि लियो तर प्रथम र द्वितीय विश्वयुद्धमा ब्रिटिस नेपाली सैनिकहरूमध्ये कतिले सहादत प्राप्त गरे, कति बेपत्ता भए र कति अपाङ्ग भए, त्यसको हिसाब राखेन । तिनको उचित मानसम्मान गरेन, विश्वयुद्धमा नेपालीले देखाएको वीरता, सौर्य र साहसको कदर गरेन । तत्कालीन राजा महेन्द्र बेलायत जाँदा ब्रिटिस सेनाको वार्षिक कार्यक्रममा सहभागी भए, बेलायती महारानीले गोर्खा सेनासँग कुरा गरिन्, हालखबर सोधिन् तर राजा महेन्द्र बोल्दै नबोली हिँडे । विदेशीले गोर्खा भनेर चिन्ने तर तत्कालीन राजाले यी नेपाली हुन् भनेर विदेशीलाई नचिनाउने विडम्बनापूर्ण अवस्थाको मार्मिक चित्रण उपन्यासमा गरिएको छ । 

यसरी यस उपन्यासले लाहुरे इतिहासलाई विनिर्माण गरेको छ । लाहुरेहरूको इतिहासमा पुनभ्र्रमण गरेको छ । त्यहाँ रहेका कमीकमजोरी देखाएर साँचो र तथ्यपूर्ण इतिहास पुनर्लेखन गर्नु पर्छ भन्ने आग्रह गरेको छ । लाहुरेले देश र विदेशमा पु¥याएको उच्च योगदानको उचित कदर नभएकोमा विमति जनाउँदै उपन्यासले सही तथ्य प्रस्तुत गरेर लाहुरे इतिहासका खाली ठाउँ भर्न खोजेको देखिन्छ । लाहुरे मोजमस्ती मात्र गर्ने, अज्ञानी, अनुत्तरदायी, विदेशीको इसारामा नाच्ने कठपुतली नभएर आफ्नो सौर्य, वीरता, साहस र आत्मबलिदानले विश्वयुद्ध इतिहासमा स्वर्णाक्षरले नाम लेखाउने महान् सपुत हो भन्ने तथ्यपूर्ण इतिहास प्रस्तुत गरेको छ । त्यसैले यो नवीन उपन्यास पठनीय, मननीय र सङ्ग्रहणीय छ ।