• १६ भदौ २०८१, आइतबार

व्यवसायीको धर्म काँटामा प्रहरीको ताला

blog

बोमलाल गिरी

नवलपुर, भदौ १ गते । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले नवलपुरको देवचुली नगरपालिका वडा नं. १७ झराईखोलामा सञ्चालन गरेको धर्म काँटामा प्रहरीले ताला लगाइदिएको छ । 

धर्म काँटाको नाममा अनेकौँ विकृति फैलिएको भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय, स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहबरमा ताला लगाएर धर्मकाँटा सञ्चालनमा रोक लगाएको हो । धर्म काँटाको नाममा खुलेआम लुट मच्चाएको, अराजकता, मनपरितन्त्र र गुण्डागर्दी चलाएकाले बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो ।

चितवनको आँपटारीमा सरकारी धर्मकाँटा भएकाले यहाँ खुलेआम लुट मच्चाउन धर्मकाँटा नचाहिने प्रहरीको भनाई छ । धर्मकाँटाले नेपालीभन्दा पनि भारतीय ट्रकहरूलाई लुटेको रेग्मीले बताउनुभयो । ‘‘धर्मकाँटा राखेर तौल गर्नु, बढी तौल बोक्नेलाई नियन्त्रण गर्नु राम्रो उद्देश्य भए पनि उद्देश्य विपरीतका क्रियाकलाप बढी भयो, रेग्मीले भन्नुभयो, ‘‘यो काम राज्यको नियन्त्रणमा हुनुपर्छ, तर यहाँ बढी तौल भयो भन्दै हजारौँ जरिवाना गर्ने गरेर रकम कुम्ल्याउने काम मात्र भएको छ ।’’ 

ठिक्क तौल भएका गाडीहरूलाई पनि बढी तौल भयो भनेर रकम लुट्न खोज्ने, पैसा दिन नमाने चिट काटेर दुःख दिने गरेको प्रहरीको भनाइ छ । मुख्य राजमार्गभन्दा एक किलोमिटर भित्र धर्मकाँटा हुनु पर्ने मापदण्ड भए पनि यो भने पाँच सय मिटरको दुरीमा भएकाले मापदण्ड विपरीत सञ्चालन गरिएको रेग्मीले बताउनुभयो । 

खुलेआम लुट मच्चाएको भन्दै प्रहरीले तीन पटकसम्म कर्मचारीहरूलाई नियन्त्रणमा लिई सम्झाई बुझाई गरेर छोडे पनि नियन्त्रण नभएको जिल्ला ट्राफिक प्रमुख अच्युतराज आचार्यले बताउनुभयो । धर्मकाँटा राखेको स्थानमा ट्राफिक प्रहरीको पनि उपस्थिति नभएकाले बेथिति थप मौलाएको उहाँको भनाई छ । 

ट्रकहरूलाई कारबाही गर्दा दैनिक ७,८ हजार रुपियाँ उठ्ने गरेको पश्चिमाञ्चल व्यवसायी समितिका उपाध्यक्ष शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । त्यो रकम पश्चिमाञ्चल व्यवयशाी समितिको खातामा जम्मा हुने गरेको उहाँको भनाई छ । जसको कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा छ । 

यसअघि पनि कार्यालय गण्डकी प्रदेशमा राखेर रकम भने लुम्बिनी प्रदेशले लैजाने गरेको भन्दै जिल्लामा चर्को विरोध हुँदै आएको थियो । ८,९ वर्षदेखि यहाँ धर्मकाँटा सञ्चालन भइरहेको बताइएको छ । धर्मकाँटा राख्ने ठाउँ वडा नं. १७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले मासिक ७० हजार रुपैयाँ माडा लिएर उपलब्ध गराउनु भएको हो ।