गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २७ गते । पत्रकार गोपाल झापालीको कथासङ्ग्रह ‘हिजाब’ सार्वजनिक भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशवकुमार शर्माले शुक्रबार कृतिको संयुक्त रूपमा लोकार्पण गर्नुभयो ।
सङ्ग्रहमा अधिकांश कथामा यथार्थपरक र नेपाली समाजभित्रैकै विषयवस्तु समेटिएका छन् । विभिन्न कालखण्डमा लेखिएका कथा तथा लघुकथा समेटेर पहिलो पटक सङ्ग्रह सार्वजनिक गरिएको लेखक झापालीले बताउनुभयो । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको कथासङ्ग्रहमा लामा तथा छोटा गरी २१ वटा कथा सङ्गृहीत छन् । साढे दुई दशकदेखि विभिन्न छापा तथा विद्युतीय माध्यममा पत्रकारिता गर्दै आउनुभएका झापालीका कथा, निबन्धका
पुस्तक प्रकाशित छन् ।