• २७ वैशाख २०८२, शनिबार

नेपाली वैज्ञानिकको खोज: लालीगुराँसमा महत्त्वपूर्ण पोषण

blog

गोकर्ण दयाल

बैतडी, वैशाख २६ गते । नेपालको राष्ट्रिय फूल लालीगुराँस केवल सौन्दर्यको प्रतीक मात्र नभई खाद्य र पोषण सुरक्षाका साथै रोग प्रतिरोधात्मक तत्त्वले भरिपूर्ण रहेको पाइएको छ । लालीगुराँसको फूलबाट गुणस्तरीय जुस, वाइन बनाउन सकिने सम्भावना हालै प्रकाशित नेपाली वैज्ञानिकको अध्ययनले देखाएको छ । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का मुख्य वैज्ञानिक  अधिकृत डा. लोक रञ्जन भट्टको नेतृत्वमा युवा अनुसन्धानकर्ता हरि अछामीको टोलीले लालीगुराँसबाट निर्मित जुस र बाइनको भौतिक– रासायनिक, पोषण, सुगन्ध, स्वाद र एन्टिअक्सिडेन्ट क्षमता सम्बन्धी अनुसन्धान सम्पन्न गर्नु भएको छ । अनुसन्धान कार्यले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित वैज्ञानिक पत्रिका ‘अप्लाईड फुड रिसर्च’मा स्थान पाएपछि नेपाली वैज्ञानिक थप हौसिएका छन् । 

डा.भट्टले उक्त अनुसन्धानबाट गुराँसको फूलबाट निर्मित जुस र वाइनको भौतिक–रासायनिक संरचना, पोषण र प्रतिपोषणीय तत्त्व र एन्टिअक्सिडन्ट क्षमताको वैज्ञानिक मूल्याङ्कन भएको बताउनुभयो । उहाँले गुराँसबाट उच्च स्तरको जुस र वाइनका साथै खाद्य प्याकेजिङ सामाग्री समेत बनाउन सकिने बताउनुभयो । यस अनुसन्धानबाट प्राप्त नतिजाका अनुसार गुराँसको फूलबाट निर्मित पेय पदार्थहरूमा मानव स्वास्थ्यका लागि उपयोगी मानिने उच्च मात्रामा फिनोलिक, फ्लावोनोइड, एन्थोसाइनिन, खनिज, भिटामिन, लगायतका एन्टिअक्सिडन्ट तत्वहरु पाइएको छ । लालीगुराँसमा रोग प्रतिरोधात्मक तत्त्व रहेकाले दीर्घ रोगको रोकथामका लागिसमेत महत्त्वपूर्ण हुन सक्ने देखिएको छ ।

गुराँस जस्ता वनस्पतिको प्रशोधन र मूल्य अभिवृद्धि गरी व्यावसायिक रूपमा उत्पादन गर्न सकिने सम्भावना देखिएको अनुसन्धानकर्ता हरि अछामीले बताउनुभयो । गुराँसका उत्पादनहरूमा प्रतिपोषणीय तत्त्वहरूको पनि उपस्थिति रहेको हुँदा उपयुक्त वैज्ञानिक परीक्षण र मापदण्ड अनुसार मात्र उपभोग गर्नुपर्ने आवश्यकता रहेको वैज्ञानिक डा. भट्टले बताउनुभयो । 

पेय पदार्थका अतिरिक्त लालीगुराँसको फूलबाट खाद्य प्याकेजिङ सामग्रीको निर्माण पनि गर्न सकिने सम्भावना रहेको कुरा अनुसन्धानकर्ता डा. भट्टले बताउनुभयो ।  उहाँले लालीगुराँसको फूलबाट बनाइएका खाद्य प्याकेजिङ सामग्रीले मासु बासी भए नभएको परीक्षण गर्न सक्ने र उक्त प्याकेजिङ सामग्रीमा ताजा मासु राख्दा एउटा रङ्ग र बासी भए रङ्ग परिवर्तन गर्ने कुरा बताउनुभयो ।    

डा. भट्ट र उहाँको टोलीले प्रयोगशालामा भइरहेका वैज्ञानिक अनुसन्धानलाई समुदायसम्म पु¥याउने लक्ष्य रहेको कुरा बताउनु भएको छ । लालीगुराँसको फूलमाथि भएको उक्त अनुसन्धानले नेपालको पहाडी क्षेत्रमा खेर गइरहेको लालीगुराँसको वैज्ञानिक र व्यावसायिक उपयोगको सम्भावनालाई उजागर गरेको छ । 

बैतडीको दोगडाकेदार गाउँपालिका–४, कपिन्ना निवासी वैज्ञानिक डा. लोक रञ्जन भट्ट लामो समयदेखि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा वरिष्ठ वैज्ञानिकको रूपमा कार्यरत हुनुहुन्छ । उहाँले नेपालका विभिन्न भू–भागमा पाइने जङली खाद्य फलफूलको पोषणीय अध्ययन गर्नु भएको छ ।  त्रिभुवन विश्वविद्यालयबाट वनस्पति विज्ञानमा स्नातकोत्तर गर्नु भएका डा. भट्टले कोरियाको वानक्वाङ विश्वविद्यालयबाट प्राकृतिक उत्पादन विकास विषयमा विद्यावारिधिका साथै पोस्ट–डक्टोरल अनुसन्धानकर्ताको रूपमा काम गर्नु भएको छ ।  

विगत लामो समय देखि उहाँले स्नातकोत्तर तथा विद्यावारिधि तहका विद्यार्थी र युवा वैज्ञानिकलाई अनुसन्धान कार्यमा सुपरिवेक्षण गरिरहनु भएको छ । उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा ५० भन्दा बढी अनुसन्धानमूलक लेख प्रकाशित गर्नुका साथै नेपालका वनफल नामक पुस्तक प्रकाशित गर्नु भएको छ ।  डा. भट्टले विभिन्न जर्नलहरूमा सम्पादकीय बोर्ड सदस्य तथा समीक्षकको रूपमा पनि योगदान दिँदै आइरहनु भएको छ । वैज्ञानिक डा. भट्टले सन् २०२१ मा प्रकाशित गर्नुभएको पुस्तक ‘नेपालका जङ्गली खाद्य फल’ ले नेपाली वनस्पति विज्ञानमा महत्त्वपूर्ण दस्ताबेजको रूपमा स्थान बनाएको छ । सो पुस्तकले जङ्गली खाद्य फलको वर्गीकरण, उपयोग र पोषणीय पक्षलाई दस्तावेजिकरण गर्दै अनुसन्धान, शिक्षण र नीति निर्माणमा सन्दर्भ पुस्तकको रूपमा प्रयोग हुँदै आइरहेको छ ।  

उहाँको टोलीले नेपाली जनजीवनमा मौलिक रूपमा घुलमिल रहेका वनस्पतिहरूको वैज्ञानिक विश्लेषण गरी तिनको पोषणीय मूल्य, औषधीय गुण, र खाद्य सुरक्षासँगको सम्बन्ध उजागर गर्दै आएको छ । विशेष गरी, हिमाली र पहाडी क्षेत्रमा पाइने अज्ञात वा कम प्रचलनमा रहेका वनस्पतिहरू जस्तै चुत्रो, गुएलो, खनायो, काफल, ऐँसेलु, जङ्गली सुन्तला, अमला लगायत दर्जनौँ फलफूलको अध्ययनबाट थुप्रै नयाँ जानकारीहरू उजागर भएका छन् । उहाँले यी अनुसन्धानबाट मानव स्वास्थ्यका लागि नयाँ विकल्प प्रस्तुत गर्दै जैविक विविधताको संरक्षण तथा नवप्रवर्तनमा आधारित कृषि तथा खाद्य उद्योगको विकासमा टेवा पुग्ने सम्भावना रहेको बताउनुभयो ।