• २७ वैशाख २०८२, शनिबार

पर्यापर्यटनको सम्भावना

blog

तराईका पाँचसहित भित्री मधेश र पहाडी जिल्ला समेटेर १२ जिल्ला रहेको लुम्बिनी प्रदेश जैविक विविधता र पर्यापर्यटनको सम्भावना बोकेको प्रदेश हो । लुम्बिनी प्रदेशमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज अवस्थित छन् भने पहाडी जिल्लाहरू गुल्मी, अर्घाखाँची, रुकुम, दाङ र रोल्पा धार्मिक तथा प्राकृतिक दृष्टिकोणबाट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सम्भावना बोकेका जिल्ला हुन् । पहाडी जिल्लामध्ये रुकुम प्राकृतिक र ऐतिहासिक रूपमा महत्वपूर्ण छ । धौलागिरि हिमालको पश्चिम भागमा अवस्थित ढोरपाटन सिकार आरक्षको करिब ६० प्रतिशत भाग यस जिल्लामा पर्दछ । प्रदेशको एक मात्र हिमाली जिल्लाका रूपमा रहेको पुथा हिमाल (धौलागिरि सातौँ) यहीँ पर्छ । सरकारले रुकुमलाई पर्यटकीय गन्तव्यका रूपमा घोषणा गरेको छ । रुकुमपूर्व ५२ वटा ताल र ५३ डाँडाका लागि प्रसिद्ध छ । विसं २०५२ देखि माओवादीले युद्ध सुरु गरेको जिल्ला पनि रुकुम हो । त्यस कारण पनि रुकुमपूर्व पर्यटकीय हिसाबले महत्वपूर्ण छ । त्यसै गरी दाङ, रोल्पा, गुल्मी अर्घाखाँची, प्युठान, गुल्मी र पाल्पा जिल्ला पनि पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । रानीमहल, पाल्पा दरबार र श्रीनगर पाल्पा जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थल हुन् । त्यसै गरी गुल्मीका प्रमुख पर्यटकीय स्थल रेसुङ्गा र रिडी हुन् । अर्घाखाँचीको पाणिनी र प्युठान जिल्लाको स्वर्गद्वारी धार्मिक हिसाबले महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेका छन् । 

पहाडी जिल्लाका पर्यटकीय गन्तव्यलाई तराईका राष्ट्रिय निकुञ्जसँग जोड्न सक्ने हो भने पहाड र तराईले पर्यटकीय गतिविधिबाट उत्तिकै लाभ प्राप्त गर्न सक्ने सम्भावना रहेको छ । 

बर्दिया राष्ट्रिय निकुञ्ज लुम्बिनी प्रदेशको गौरव हो । यद्यपि संविधानतः राष्ट्रिय निकुञ्ज सङ्घको अधिकार क्षेत्रभित्र रहेको छ तर पर्यटकीय गतिविधिबाट लाभान्वित स्थानीयस्तरमा बसोबास गर्ने स्थानीय समुदाय हो । सुरुमा कर्णाली वन्यजन्तुको आरक्षका रूपमा स्थापित यो निकुञ्ज २०४५ सालमा बर्दिया राष्ट्रिय निकुञ्जका रूपमा घोषणा गरियो । तराईमा भएका राष्ट्रिय निकुञ्जमध्ये बर्दिया राष्ट्रिय निकुञ्ज सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ, एकसिङे गैँडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जङ्गली हात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन् । निकुञ्जमा अहिलेसम्म त्यहाँका रैथाने र बसाइ सरी आउने गरी ४३८ थरी रैथाने चराको अभिलेख गरिएको छ । 

बाघ र बर्दिया 

बर्दिया राष्ट्रिय निकुञ्ज पाटेबाघको घरका रूपमा चिनिन्छ । सन् २०२२ मा गरिएको गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा बाघ रहेका छन् । यो नेपालमा रहेका कुल ३५५ बाघको ३५.२१ प्रतिशत हो । सङ्ख्याका हिसाबले सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहे पनि बर्दियामा बाघ सहजै देख्न सकिने भएकाले बाघ अवलोकनका लागि मानिस बर्दिया पुग्छन् । 

बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०२३/२४ मा मात्र बर्दिया राष्ट्रिय निकुञ्जमा १४ हजार ४९४ मानिसले भ्रमण गरे । त्यसमध्ये तीन हजार ३५५ विदेशी पर्यटक रहेका छन् । बाघका लागि पर्यटक बर्दिया राष्ट्रिय निकुञ्जमा पुग्दा एकातिर प्रत्यक्ष रूपमा बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले टिकट बिक्रीबापत आम्दानी गरेको छ भने त्यसको अप्रत्यक्ष लाभ ठुलो रहेको छ । 

बर्दिया जाने पर्यटकबाट स्थानीयस्तरमा थुप्रै रोजगारका अवसर सिर्जना भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउने पथप्रदर्शकको सङ्ख्या सयभन्दा बढी छ । उनीहरू पर्यटकलाई घुमाएर आर्थिक उपार्जन गरिरहेका छन् । पथप्रदर्शकको आम्दानीमा नै परिवार आश्रित छन् । करिब दुई सय जतिले पथप्रदर्शकको तालिम प्राप्त गरेका भए पनि एक सय पूर्णकालीन रूपमा कार्यरत रहेका छन् । त्यसै गरी बर्दियाको ठाकुरद्वारा र त्यस आसपासमा करिब ४० होटेल बाघ हेर्न बर्दिया पुग्ने पर्यटकबाट चलेका छन् । बाघ हेर्ने लोभमा बर्दिया पुग्ने मानिस नै होटेलका मुख्य पाहुना हुन् । त्यसबाहेक बर्दिया निकुञ्जका आसपासमा करिब १० वटा गाउँमा सामुदायिक होमस्टे सञ्चालनमा छन् । ती गाउँका सयभन्दा बढी घरमा सञ्चालित होमस्टेका मुख्य पाहुना पनि बर्दिया घुम्न जाने मानिस नै हुन् । 

एक होटेल र होमस्टेमा चार जनाले सरदरमा प्रत्यक्ष रोजगारी प्राप्त गरेको मान्ने हो भने ४५० जनाले रोजगार प्राप्त गरेका छन् तर अप्रत्यक्ष रूपमा रोजगार प्राप्त गर्ने सङ्ख्या चाहिँ धेरै ठुलो रहेको छ । मानिसहरू होटेलमा बस्दा त्यहाँ दुध, दही, माछा, मासु, फलफूल तरकारी आदि खपत हुन्छ । ती अन्न तथा तरकारी उत्पादन गर्ने किसान अप्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन् । मानिसको सङ्ख्या वृद्धि हुँदा स्थानीय सवारीचालक, रिक्साचालक आदिले पनि रोजगारी प्राप्त गरिरहेका हुन्छन् । जुन लाभ प्रत्यक्ष रूपमा जोडिँदैन । 

निकुञ्ज कार्यालयका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न जाने मानिसको अधिकतम सङ्ख्या २० हजारभन्दा बढी छैन । २० हजार मानिस बर्दिया पुग्दा यति धेरै मानिसले रोजगारीका अवसर प्राप्त गर्न सक्छन् भने एकछिन अनुमान गरौँ बर्दियामा वार्षिक एक लाख मानिस भ्रमणका लागि जाने हो भने त्यहाँ अवसर कति प्राप्त हुन सक्छन् ? वास्तवमा २० हजार सङ्ख्या त बर्दियाका लागि केही पनि होइन । बर्दियाले एक लाख मानिस पनि धान्न सक्छ किनभने बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफल र त्यहाँको भौगोलिक अवस्थितिले एक लाख मानिस धान्न सक्ने क्षमता राख्छ । 

संरक्षणको आवश्यकता 

वन्यजन्तुको आक्रमणका घटनाले गर्दा संरक्षणको आलोचना हुने गरेको छ । खासगरी केही सामुदायिक संस्थाले बाघको सङ्ख्यामा वृद्धि भएको र त्यस कारण मानिसमाथि आक्रमणका घटना वृद्धि भइरहेको वकालत गरिरहेका छन् । घटनाको विश्लेषण गर्दा मानव वन्यजन्तु द्वन्द्वका घटनामा वृद्धि भएका छन् । वन्यजन्तुबाट हुने आक्रमण पनि विगतमा भन्दा बढेका छन् तर त्यसमा मानिसको कति दोष छ भन्ने कुरा पनि विश्लेषण हुन जरुरी छ । अहिलेसम्मका घटनामा बाघले घरमै आएर आक्रमण गरेको छैन । धेरै ठाउँमा मानवीय गल्ती प्रमुख कारण देखिन्छ । यसको अर्थ यो होइन कि मानवीय मूल्य र उसको जीवन बाघभन्दा ठुलो होइन । पक्कै पनि मानवीय मूल्य महìवपूर्ण हो तर मानिसले आफ्ना व्यवहार परिवर्तन गर्न जरुरी छ । यदि मानिसले आफ्ना व्यवहार परिवर्तन गर्ने हो भने बाघलगायत वन्यजन्तुको आक्रमणबाट बच्न सकिन्छ । 

संरक्षणले एकातिर आर्थिक रूपमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्थानीय समुदायलाई लाभ पु¥याइरहेको छ । अर्कोतर्फ पर्यावरणीय रूपमा पु¥याइरहेको (इकोसिस्टम) सेवाको ठुलो योगदान रहेको छ । संरक्षणको काम निकुञ्जमा रहेका वन्यजन्तुको सुरक्षा र उनीहरूको रेखदेख मात्र होइन । संरक्षण मानवीय जीवन र आर्थिक उपार्जनका लागि आवश्यक छ । झट्ट हेर्दा वनमा संरक्षण, वनजङ्गलमा हुने वन्यजन्तुको सुरक्षा र उनीहरूको रेखदेख जस्तो देखिए पनि त्यसबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्राप्त गर्ने मानिसले नै हो । 

टुर प्याकेज

व्यावसायिक टुर अपरेटरले अहिले पनि पर्यटकलाई विभिन्न गन्तव्यलाई समेटेर टुर प्याकेज प्रदान गर्न सकिरहेका छैनन् । बाँके र बर्दिया आउने पर्यटकलाई रुकुम, रोल्पालगायतका अन्य जिल्लामा पु¥याउने प्याकेज पर्यटन व्यवसायीले बनाउनु पर्छ तर अहिलेसम्म व्यवसायीको यस्तो सक्रियता देख्न पाइएको छैन । यदि यस्ता खालका प्याकेज बनिहालेमा एकदमै महँगो हुने गरेको पाइएको छ । सहुलियत र आकर्षक खालका प्याकेज बनाउने हो भने बर्दियामा घुम्न आउने पर्यटकलाई हिमाली र पहाडी जिल्लामा पु¥याउन सकिन्छ । यसबाट हिमाली र पहाडी जिल्लाका स्थानीय समुदायले पनि लाभ प्राप्त गर्न सक्छन् । 

खास गरी लुम्बिनी प्रदेशमा रहेका ‘टुर अपरेटर’ को मनोवृत्ति सबै सरकारले नै गर्दिनुपर्ने भन्ने खालको पाइन्छ । सरकारले पूर्वाधार निर्माण गर्ने हो । स्थानीय, प्रदेश र सङ्घीय सरकारले प्राथमिक तहको भए पनि पूर्वाधार निर्माण गरिसकेका छन् । ‘टुर अपरेटर’ तथा पर्यटन व्यवसायीले एकै पटक नाफा कमाउने प्रवृत्तिले नै नेपाल र खासगरी लुम्बिनी प्रदेशमा पर्यटन फस्टाउन सकेको छैन । त्यसको उदाहरणका रूपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनलाई हेर्न सकिन्छ । लुम्बिनीका व्यवसायीले विमानस्थल सञ्चालन नहुनुमा सरकारलाई दोष देखाइरहेका छन् तर सरकारको भन्दा बढी कमजोरी व्यवसायीको छ । सरकारले पूर्वाधार बनाइदिएको छ । विभिन्न देशमा पुगेर टुर प्याकेज बिक्री गरी पर्यटन प्रवर्धन गर्ने जिम्मा त व्यवसायीको हो । त्यो उनीहरूले गरेका छैनन् । उनीहरू चाहन्छन् कि सरकारले नै त्यो सबै गरिदेओस् । यो सर्वथा गलत छ । भैरहवा क्षेत्रका व्यवसायीले लुम्बिनीका साथै बर्दिया, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जलगायतका ठाउँका प्याकेज बनाउन सक्छन् । पर्यटकलाई काठमाडौँबाट भन्दा भैरहवाबाट त्यहाँ पुग्न सहज र नजिक छ तर व्यवसायीले भएका गन्तव्यको प्रवर्धन गर्न सकेका छैनन् ।