काठमाडौँ, वैशाख २७ गते । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिँदै हुनुहुन्छ । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्रमा पुनः फर्किएको उहाँले बताउनुभयो । चलचित्र ‘नरसिंहा अवतार’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए पनि चित्तबुझ्दो र सुहाउँदो भूमिका नपाएकाले नदेखिएको स्पष्ट गर्नुभयो ।
“मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिए तर मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ तर निर्देशकले पटकथा सुनाउनु भएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको विषयवस्तु, सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठुलो पर्दामा पुनः आएँ,” अभिनेता हमालले भन्नुभयो । उहाँले चलचित्रले मनोरञ्जनसँगै सामाजिक घटनालाई उजागर गरेको दाबी गर्नुभयो ।
निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताउनुभयो । “अभिनेता हमालको प्रशंसकका बारेमा मैले बोल्नै पर्दैन । त्यसैले उहाँलाई दर्शकको भावना अनुरूप चलचित्रमा प्रस्तुत गर्नु मेरा लागि चुनौती थियो । हाम्रो चलचित्रको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेश अनुसार सबै ‘पात्र’ लाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु,” निर्देशक भट्टराईले भन्नुभयो । उहाँले पछिल्लो समय प्रदर्शन भएका चलचित्रभन्दा ‘नरसिंहा अवतार’ फरक रहेकाले चलचित्र भवन पुग्नुहुने दर्शकको समय र पैसाको सदुपयोग हुने दाबी गर्नुभयो । चलचित्रमा राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बालकलाकारहरू एभेलिना खड्का र समाइरा थापाले अभिनय गर्नुभएको छ । जेठ ९ गते नेपालभर प्रदर्शन हुने चलचित्रलाई नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र धु्रव न्यौपानेले संयुक्त रूपमा निर्माण गर्नुभएको हो ।