• १ भदौ २०८१, शनिबार

जरिबानाकेन्द्रित ट्राफिक प्रहरी

blog

काठमाडौँ, भदौ १ गते । नागरिकलाई सुरक्षित रूपमा सडक प्रयोग गर्न समन्वय गर्ने र दुर्घटना न्यूनीकरण गर्नेभन्दा पनि झाडीमा लुकेर ‘गल्ती गर्न उत्प्रेरित गर्ने’ ट्राफिक प्रहरीको प्रवृत्तिको सवालमा दुई दिनदेखि बहस तीव्र भएको छ । 

काठमाडौँ उपत्यकाभित्रै ट्राफिक प्रहरीकैअगाडि भएको सडक दुर्घटनामा नागरिकले ज्यान गुमाइरहेका घटनाले सडक सुरक्षाका सन्दर्भमा गम्भीर प्रश्न उठाएको हो । भक्तपुरको गट्ठाघर चोकमै ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएपछि सडक सुरक्षाका सन्दर्भमा राज्यका संयन्त्रबाट भइरहेका कामप्रति नागरिक पङ्क्तिबाट औँला उठेको छ ।

उक्त दुर्घटनामा ओखलढुङ्गा स्थायी घर भई काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–१०, कपन बस्ने ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको छ । लेखक एवं पत्रकार पुरुषोत्तम दाहालका अनुसार मृतक कोइराला २०३१ मा नेपाली कांग्रेसको सशस्त्र सङ्घर्षमा ओखलढुङ्गा र सोलुखम्बुको सीमास्थित टिम्बुरबोटे काण्डमा राम, लक्ष्मणसँगै सहादत प्राप्त सहिद महेश कोइरालाका भाइ हुनुहुन्छ । उहाँले नेपाल विद्यार्थी सङ्घ र ट्रेड युनियनमा पनि काम गर्नुभयो । 

झाडीमा बसेर जाँच, संत्रासमा चालक

काठमाडौँ, भक्तपुर र ललितपुरको सडक प्रायः अस्तव्यस्त नै रहन्छ । त्यसमाथि ट्राफिक चिह्नहरू मर्मत र चुस्तदुरुस्त नहुँदा सडक प्रयोगकर्ता जहाँसुकै जरिबाना तिर्नुपर्ने बाध्यतामा पर्छन् । विशेषतः एकतर्फी सडक, लेन प्रस्ट नहुँदा चालकले हातमा ट्राफिक प्रहरीको कारबाहीको ‘चिट’ पाएपछि मात्रै गल्ती गरेको थाहा पाउँछन् । त्यसै गरी तीव्र गतिमा चलाउने, ट्राफिक नियम पालना नगर्ने, पैदलयात्रुलाई बाटो काट्न नदिने पनि प्रशस्तै छन् । सडकका खाल्टाखुल्टी र ट्राफिकको जरिबानाको दोहोरो प्रताडनामा नागरिक पर्ने गरेका छन् । 

सडक सुरक्षाविज्ञ एवं नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक केशव अधिकारीले गल्ती गर्न प्रेरित गर्ने मानसिकताका कारण दुर्घटना निम्तिने गरेको बताउनुभयो । २० महिना ट्राफिक प्रहरी महाशाखाको नेतृत्व गर्नुभएका अधिकारीले दण्ड दिने मानसिकताले सडकमा नउभिन सुझाव दिनुभयो । उहाँले सुधारको भावनाले उभिएमा क्रमशः सुधार हुने र सडक प्रयोगकर्ताले पनि ट्राफिकप्रति भरोसा गर्ने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “सडक प्रयोगकर्तालाई सचेत बनाउने जिम्मेवारीप्रति ट्राफिक प्रहरी सधैँ दृढ र प्रतिबद्ध रहनु पर्छ । जरिबाना गरेर मात्रै सडक दुर्घटना न्यूनीकरण र सुरक्षा हुँदैन ।”

लेखक दाहालले गल्ती नगर्न सचेत गराउनेभन्दा गल्ती गर्न प्रेरित गरेर दण्डित गर्ने र जरिबाना असुल गर्नेमै अहिलेको सुरक्षा संयन्त्र रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मुख्य चोकमा बसेर यो एकतर्फी सडक हो भन्नुको सट्टा बिचमा कुरेर बसेर समात्ने र जरिबाना गर्ने प्रक्रियाले नागरिकलाई सहज हुँदैन ।” 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले ट्राफिक प्रहरीले नियतवश जरिबाना नगर्ने बताउनुभयो । उहाँले गल्ती गरेपछि चालकले पनि स्वीकार नगर्ने र सम्झाइ बुझाइ गर्दा पनि नभएपछि मात्रै कारबाही गरिने प्रस्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, “मानवीय स्वभाव हो, आफ्नो गल्ती कसैले पनि स्विकार्दैन । सडक प्रयोगकर्ता, चालक, पैदलयात्री र ट्राफिक प्रहरीले पनि व्यवहार राम्रो राख्ने प्रयत्न गर्नु पर्छ । हामी सडक व्यवस्थित गर्न र नागरिकको सुरक्षाका लागि सम्झाउने बुझाउने प्रयास गर्र्छौं र कानुनविपरीत गर्नेमाथि कारबाही गर्छौं ।”

सवारी चापले ट्राफिकलाई तनाव

उपत्यकाका सडक प्रयोगकर्ता र ट्राफिक प्रहरीबिच भनाभन भएका दृश्य प्रायः चोक चोकमा भेटिन्छ । सवारीसाधन अनुसार ट्राफिक जनशक्ति नहुँदा सवारी व्यवस्थापनमा समस्या भइरहेको छ । 

एसएसपी श्रेष्ठका अनुसार बागमती प्रदेशमा करिब १९ लाख ५० हजार सवारीसाधन दर्ता भएका छन् । उहाँले भन्नुभयो, “त्यसमध्ये झन्डै १५ लाख काठमाडौँ उपत्यकामा गुड्छन् भन्ने अनुमान छ । सबै नराम्रो हुनुहुन्न । धेरैले ट्राफिक नियम पालना गर्नुहुन्छ, केहीले गर्नुहुन्न । त्यो भनेको दैनिक तीन हजारको सङ्ख्यामा पर्नुहुन्छ । त्यो धेरै कम हो ।” 

एसएसपी श्रेष्ठले कतिपय ट्राफिक नियम पालना गर्न नदिने, जेब्रा क्रसिङमा पनि पैदलयात्रीलाई बाटो काट्न नदिने झन् तीव्र गतिमा कुदाउने र सानो गल्ती त हो दुर्घटना भएको छैन भन्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता लापर्बाही ट्राफिक नियम उल्लङ्घन हुन् । साधारण र सानो गल्ती भनिए पनि त्यसले ठुलो दुर्घटना निम्तिन्छ । त्यस्ता काम गर्न नदिन नै ट्राफिक प्रहरी बस्ने हो ।”

तर, पूर्वडिआइजी अधिकारीले नागरिकको सुरक्षाका लागि खटिने ट्राफिक प्रहरीले तनावमुक्त भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले जबरजस्ती कारबाही गर्ने मनोभाव त्यागेर सहजीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान निस्किँदै गर्दा ट्राफिक प्रहरी आज चाहिँ अधिकतम सजाय दिन्छु है भन्ने मनस्थितिमा हुन्छन् । दण्ड दिने मानसिकताबाट ब्यारेकबाट सडकमा आएपछि दण्डित गर्नेबाहेक अरू के काम हुन्छ र ! दण्ड सजाय सुधारात्मक पनि त होला ! दण्ड दिनुका साथसाथै सुधारका पक्षलाई सँगसँगै लानु पर्छ ।” एसएसपी श्रेष्ठले पनि ट्राफिक प्रहरीको बोलीवचन र व्यवहार दुरुस्त राख्न प्रेरित गर्ने र यदि कमजोरी भएमा कारबाही पनि गर्ने गरिएको प्रस्ट पार्नुभयो । 

ट्राफिक चिह्न र सडक अस्तव्यस्त 

उपत्यकाका मुख्य सडकबाहेक अन्य सडकमार्गमा ट्राफिक चिह्न, ट्राफिक लाइटदेखि अन्य आधारभूत संरचना निर्माण भए पनि चुस्त दुरुस्त छैनन् । सडक सुरक्षाविद् केशव अधिकारीले सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) नहुँदा सडक असुरक्षित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यकता अनुसार सधैँ अडिट गर्नु पर्छ, परीक्षण गर्नु पर्छ । के कारणले सोही ठाउँमा पटक पटक दुर्घटना हुन्छ र हरेक पटक समिति बने पनि किन कार्यान्वयन हुँदैन भन्ने कुराको समीक्षा हुनु पर्छ ।”

उहाँले डिभाइडर, जेब्रा मार्क, ट्राफिक लाइट, सचेतना झल्काउने बोर्डसहित सडकका संरचना कतै पनि व्यवस्थित तरिकाले निर्माण नभएको बताउनुभयो । साथै नाइट भिजन लेजर स्पिड गन र लेजर स्पिड गन प्रशस्त मात्रामा उपलब्ध गराउनुपर्ने उहाँको सुझाव छ । 

गल्ती कसको भन्ने बहस

भक्तपुर प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले गट्ठाघर दुर्घटनामा ट्राफिक प्रहरीको गल्ती नभएको बताउनुभयो । उहाँका अनुसार सँगसँगै गएको स्कुटरलाई ट्रकचालकले देखेको बयान दिएका छन् । उहाँले भन्नुभयो, “ट्राफिक प्रहरीको चेकजाँच थिएन । प्रहरी अगाडि उभिएको सिसिटिभीमा देखिन्छ । रेडलाइटमा रोकिएर अघि बढेको थियो । लेन त्यही हो । सिसिटिभी चेकजाँच गर्दा दुर्घटनाबारे प्रस्ट हुन सकिन्छ ।”

तर पूर्वडिआइजी अधिकारीले ट्रकअगाडि कुनै साधन छ कि छैन भनेर हेर्नुपर्ने बताउनुभयो । उहाँले ट्रकचालकले सावधानी नअपनाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “चालकले अगाडिको सिसाबाट हेर्नु पर्छ । लापर्बाही तरिकाले ट्रक अघि बढाएको हुन सक्छ । अर्को गाडीको बनावटको हिसाबले अगाडिको साधनलाई देखेन तर ट्रकमा ठोक्किएको आवाज आएपछि त तत्कालै रोक्नु पर्छ नि ! त्यसो गर्दा सायद ज्यान नगुम्न सक्थ्यो । यहाँ चालकको गम्भीर गल्ती देखिन्छ ।”