• १ भदौ २०८१, शनिबार

सांसदलाई सवाल

सांसद बनेको २० महिनामा मतदाताले सम्झने के काम गर्नुभयो ?

blog

काठमाडौँ, भदौ १ गते। जनमत पार्टीका अध्यक्ष एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त राउतले नेपालमा सांसदकाे जिम्मेवारी कानुन निर्माण गर्ने मात्र नभएर जनताको दैनिक जीवनसँग जोडिनुपर्ने शैलीको रहेको बताउनुभएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्दै उहाँले विकसित देशमा भन्दा नेपालमा सांसदकाे जिम्मेवारी फरक रहेको बताउनुभएको हो। 

नेता डा. राउतले मधेश आन्दोलनका अगुवा उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यका रुपमा २०७९ पुस ७ गते शपथ लिनुभएको हो। वि.सं. २०७५ सालदेखि राजनीतिक दलमा आवद्ध भएर उहाँ मधेश आन्दोलनमा सक्रिय हुनुहुन्छ। 

बुवा श्वेताम्बर र आमा बेचनीदेवी राउतको कोखबाट सप्तरी जिल्लाको महादेवामा २०३४ साल भदौ १५ गते जन्मनुभएका राउत इन्जिनियरिङ क्षेत्रलाई छोडेर राजनीतिमा होमिनु भएको हो।  पढाइमा अब्बल राउतले पुल्चोक क्याम्पसबाट इन्जिनियरिङ, जापानको टोकियो विश्वविद्यालयबाट मास्टर्स, बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधी हासिल गर्नुभएको छ। अमेरिकामा वरिष्ठ वैज्ञानिकको रुपमा कार्यरत रहेकै अवस्थामा उहाँ २०६८ सालमा अमेरिकाबाट नेपाल फर्किएर मधेश राजनीतिमा सक्रिय बन्नुभएको हो। सुरुमा स्वराज आन्दोलनका क्रममा उहाँ दर्जनौँ पटक गिरफ्तार भएर जेल पर्नुभएको छ। जेलमा विभिन्न यातना भोग्नुपरेको अनुभवसमेत उहाँसँग छ। राज्यपक्षले आफूमाथि दमन गरेपछि उहाँले शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्दै यातनाको विरुद्धमा फूल दिने (फूल आन्दोलन) समेत चलाउनुभयो। 

२०७५ फागुन २४ गते नेपाल सरकार र तत्कालीन स्वतन्त्र मधेश गठबन्धनबिच ११ बुँदे सम्झौता भएपछि उहाँ मूलधारको राजनीतिमा प्रवेश गर्नुभएको हो। जनमत पार्टी दर्तापछि भएको महाधिवेशनबाट उहाँ निर्वाचित अध्यक्ष बन्नुभएको छ। उहाँसग अमेरिकामा इन्फमेशन इन्जिनियरिङको क्षेत्रमा वरिष्ठ वैज्ञानिको रुपमा काम गरेको अनुभव छ। सांसद राउतले वैरागदेखि वयानसम्म (आत्मकथा), मधेशका इतिहास र मधेश स्वराज जस्ता पुस्तकसमेत लेख्नुभएको छ। 

प्रस्तुत छ- गोरखापत्र अनलाइनका लागि दिनेश लुइटेल, मनोजरत्न शाही र केशब गुरुङले सांसद डा. चन्द्रकान्त राउतसँगको कुराकानीका आधारमा तयार पार्नुभएको ‘सांसदलाई सवाल’ :