• ३२ साउन २०८१, शुक्रबार

नेपाली भाषा साहित्य संस्कृति र दर्शनको अनुसन्धान गर्ने सहमति

blog

तस्बिर : रासस

वाराणसी (उत्तरप्रदेश), साउन ३२ गते । नेपाल प्रज्ञाप्रतिष्ठान र काशी हिन्दु विश्वविद्यालय वाराणसी भारतअन्तर्गत कला सङ्घ सङ्कायको भारतीय भाषा विभागबिच नेपाली भाषा साहित्य, संस्कृति तथा दर्शनको अध्ययन अनुसन्धान गर्नेसम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको छ । 

प्रतिबद्धतापत्रमा प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदी र भारतीय भाषा विभाग प्रमुख प्रा.डा.दिवाकर प्रधानले हस्ताक्षरण गर्नुभएको छ । प्रतिबद्धतापत्रमा विमर्शसहितका कार्य गर्न नेपाली भाषा साहित्य दर्शनजस्ता नेपाली वाङ्मय र भारतीय नेपाली वाङ्मयबीच समय समयमा कार्यक्रम गर्ने सहमति भएको छ । 

नेपाली भाषाको श्रीवृद्धिका लागि अध्ययन अनुसन्धन र अनुवादका क्षेत्रमा सहकार्य गर्ने सहमति दुवै पक्षबिच भएको छ । प्रतिष्ठानले भारतीय भाषा विभागमा अध्ययनरत शोधार्थीका लागि यथाशक्य विद्वतवृत्ति प्रदान गर्ने र वृत्तिका माध्यमबाट भारतीय नेपाली भाषा र साहित्यबारे अध्ययन गर्न प्रोत्साहन गर्ने सहमति भएको छ ।

पशुपति वैदिक आश्रम गुरुकुल विद्यालय नवलपुरका प्रमुख सल्लाहकार धर्मराज बरालको सक्रियतामा दुवै पक्षबीच प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको हो । प्रतिबद्धतापत्रको साक्षीका रुपमा सम्पूर्णानन्द संस्कृति विश्वविद्यालय वाराणसीका प्रा.डा.हरिप्रसाद अधिकारी, प्रतिष्ठान प्राज्ञ परिषद सदस्य कृष्णराज अधिकारी, भारतीय भाषा विभाग काशि विश्वविद्यालय नेपालपीठका प्रमुख डा.मुकुन्द शर्मा रहनुभएको छ । प्रतिबद्धतापत्र कार्यान्वयनका लागि निरन्तर रुपमा नागरिक स्तरबाट अभियान चलाउने अभियानकर्मी बरालले बताउनुभयो । रासस