• ११ मंसिर २०८१, मङ्गलबार

भेटीबाटै भौतिक पूर्वाधार विस्तार

blog

साउनको अन्तिम सोमबार सङ्कलन भएको भेटी गनिँदै ।

म्याग्दी समाचारदाता 

म्याग्दी, साउन ३२ गते । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा रहेको गलेश्वरधाम मन्दिरमा भक्तजनले चढाएको भेटी रकमबाटै भौतिक पूर्वाधार विस्तार गर्ने गरिएको छ । मन्दिरमा साउन महिनाका सबै सोमबार, बालाचतुर्दशी र शिवरात्रि जस्ता पर्वमा भक्तजनले चढाउने गरेको भेटी सर्वसाधारणको उपस्थितिमा मुचुल्का उठाएर गणना गर्ने गरिन्छ । भेटी रकम चढाउने सबै स्थान सिसी क्यामराको निगरानीमा रहने गर्दछ ।

साउनका सोमबार तथा बालाचतुर्दशी तथा महाशिवरात्रिको भोलिपल्ट बिहान सरोकारावाला निकायको उपस्थितिमा कोषका पदाधिकारीले मुचुल्कामा हस्ताक्षर गरेलगत्तै भेटी राखेको दानपेटिका खोलेर सबैले बसेर पैसा गनिन्छ । 

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित मन्दिरमा विगत १४ वर्षदेखि सार्वजनिक स्थानमा सबैको नजर पर्ने गरी भेटी गन्ने र सार्वजनिक गर्ने गरेको जानकारी दिनुभयो ।

गलेश्वर मन्दिरमा सर्वसाधारणले समेत प्रत्यक्ष अवलोकन गर्ने तथा गन्नेसम्म गर्न पाउँछन् । यस वर्षको साउन महिनाको अन्तिम सोमबार चार लाख ३५ हजार ९६७ रुपियाँ सङ्कलन भएको थियो । साउनका सबै सोमबार गरी १५ लाख १० हजार ७२४ रुपियाँ सङ्कलन भएको थियो । भक्तजनको भिड लाग्ने धार्मिक महत्वका दिनको भोलिपल्ट बिहान ७ बजेदेखि भेटी गन्ने शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो । 

गलेश्वर मन्दिरमा जम्मा भएको भेटी गणना गर्ने काम २०६७ सालदेखि सुरु भएको हो । उक्त समय साउनको पहिलो सोमबार तत्कालीन अध्यक्ष रुद्रबहादुर केसीको अगुवाइमा भेटी गणना गरेर सार्वजनिक गरिएको थियो । 

त्यो समय पहिलो पटक गणना गर्दा ३२ हजार तीन सय रुपियाँ सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो समय म आफैँ कोषको सदस्यसचिव थिएँ, भेटी गणना गरेर सार्वजनिक गर्नु पर्छ भनेर त्यो समय सुरु गरेका थियौँ ।” गणना गरेर सार्वजनिक गर्दा भेटीको दुरुपयोग रोकिनुका साथै पूर्वाधार विस्तारसँगै भक्तजनले समेत खुलेर दान गर्ने वातावरण बनेको अध्यक्ष रेग्मीको भनाइ छ । 

गलेश्वर शिवालय क्षेत्र विकास कोषले हालसम्म मन्दिरमा सङ्कलित भेटीबाट गलेश्वर क्षेत्रमा धर्मशाला, सभा हल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मीनारायणको मूर्ति निर्माण गरेको छ । त्यस्तै गलेश्वर क्षेत्रमा सिसी क्यामरा, सडकबत्ती, कालीगण्डकीको जल लिफ्टिङबाट मन्दिरसम्म ल्याएर स्नान गर्ने धारालगायत करिब १३ करोड रुपियाँको लागतमा भौतिक संरचना निर्माण गरेको जनाएको छ । 

भगवान्लाई चढाइएको भेटीको दुरुपयोग पनि एक किसिमले अपराध नै भएकाले भक्तजनले समेत गन्न सघाउने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषकी कोषाध्यक्ष कुमारी रोकाको भनाइ छ । धार्मिक पर्वको भोलिपल्ट बिहान ७ बजे भेटी गन्न करिब २० देखि ३० जनासम्मको उपस्थिति हुने उहाँले जानकारी दिनुभयो ।

भारत मोतीहारीका कामेश्वर शाहले साउनको हरेक मङ्गलबार मन्दिरमा आएर भेटी रकम गणनामा सहयोग गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म यही मन्दिरनजिकै व्यवसाय गर्छु, सोमबार आएर भक्तजनले चढाएको पैसा मङ्गलबार बिहान गणना गर्ने बेलामा म पनि आएर गन्छु ।” 

अन्य ठुला चाडपर्वमा मन्दिरको भेटी गन्न व्यवासय नै छोडेर आउने गरेको उहाँको भनाइ छ । भारतका धेरै धार्मिक स्थलमा पुगे पनि गलेश्वरमा जस्तै गरेर मन्दिरमा सङ्कलन भएको भेटी सार्वजनिक गरेको आफूलाई जानकारी नभएको र यहाँको चलन आफूलाई नौलो लागेको सुनाउनुभयो ।

२०५७ सालदेखि २०६७ सम्म मन्दिर व्यवस्थापन समितिको खातामा ३१ लाख रुपियाँ मन्दिरको आम्दानी थियो । अहिले भौतिक संरचनामा खर्च गरेर पनि चार करोड ४१ लाख २५ हजार २२२ रुपियाँ बचत रहेको कोषले जनाएको छ । 

गलेश्वर शिवालयको सन्दर्भमा हिन्दु धर्मग्रन्थमा भगवान् महादेवले आफ्नी पत्नी सतीदेवीको मृत शरीर बोकेर हिँड्ने समयमा गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको मान्यता छ । पवित्र कालीगण्डकी नदीबाट उठेको नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिला छ । उक्त चक्रशिलामा ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शङ्खचक्र, नागमणि आदि चक्राकार रूपी चिह्न उत्पन्न भएको धार्मिक पुस्तकमा समेत उल्लेख छ ।