• ३२ साउन २०८१, शुक्रबार

अनुदानको कृषि उपकरण दिने नाममा किसानबाट पैसा उठाउने कार्य अझै रोकिएन

blog

कैलारी गाउँपालिकाको कार्यालय।

अविनाश चौधरी

धनगढी, साउन ३१ गते। अनुदानमा कृषि उपकरण दिने नाममा कैलालीको कैलारी गाउँपालिकाका किसानबाट पैसा उठाउने कार्य अझै रोकिएको छैन। 

अनुदानको पावर ट्रिलर र सिँचाइ मोटर दिने नाममा सो पालिकाका सयौं किसान ठगिए पनि त्यसकै लागि पैसा उठाउने कार्य अझै पनि नरोकिएको हो। किसानबाट पैसा उठाउने कार्य नरोकिएको भन्दै त्यस्ता कार्य तत्काल रोक्नका लागि कैलारी गाउँपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ। 

अझै पनि भित्रभित्रै पैसा उठाउने कार्य भइरहेको सुन्नमा आएको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताउनुभयो। “अझै पनि पैसा उठाइरहेको सुनिएकाले त्यसलाई रोक्नका लागि गाउँपालिकाले फेरि सूचना जारी गरेको हो”, उहाँले भन्नुभयो। यसअघि पावर ट्रिलरका लागि ४३२ र सिँचाइ मोटरका लागि ४९३ गरी ९२५ किसानबाट पाँच करोड ५० लाख ५८ हजारभन्दा बढी रकम उठाएको पाइएपछि गाउँपालिकाको कार्यालयले साउन ९ गते सार्वजनिक सूचना प्रकाशित गरेर रकम सङ्कलनको कार्य तत्काल रोक्न आग्रह गरेको थियो। 

७५ प्रतिशत अनुदानमा किसानलाई कृषि उपकरण पावर ट्रिलर र सिँचाइ मोटर दिने नाममा धनगढीमा कार्यालय रहेको सुरो नेपाल नामक गैरसरकारी संस्थाले किसानबाट करोडौं रुपियाँ उठाएको हो।  

सुरोले स्थानीय बाल सशक्तिकरण नामक संस्थासंग समन्वय गरेर सहकारी र बिचौलियामार्फत पैसा उठाएको कैलारी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ। हसुलियामा रहेको कालीमाइ बहुद्देश्यीय सहकारी, पृथ्वीपुरमा रहेको अखुवा कृषि सहकारी संस्था लिमिटेड, वडा नम्बर ६ का शिक्षक विनोद चौधरी, स्थानीय रामशरण महतो र वडा नम्बर ५ का शङ्कर चौधरीले पैसा सङ्कलन गरेको कागजातले पुष्टि गर्दछ। 

२५ प्रतिशत रकम तिरेर कृषि उपकरण पाउने आशामा एक लाख २५ हजारसम्म रकम बुझाएका किसानले खेतीपातीको काम सकिँदासम्म उपकरण नपाएपछि यसबारे हल्लीखल्ली मच्चिएको थियो। त्यसपछि दुवै सहकारीले किसानलाई पैसा फिर्ता गरेका छन्। यसैगरी, बिचौलियाका रुपमा काम गर्ने व्यक्तिले पनि पैसा फिर्ता गरिरहेको कैलारी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ। 

गाउँपालिकाको कार्यालयले स्थानीय सरकारसंग समन्वय, सहकार्य नगरी पालिका छिरेर सुरोले पैसा सङ्कलन गरेको दाबी गर्र्दै आएको छ। तर, अनुदानको कृषि उपकरण उपलब्ध गराउनका लागि वडा कार्यालयहरुले किसानलाई सिफारिस दिएका स्थानीयले जनाएका छन्। सुरो नेपालका अध्यक्ष सुशीला खड्का ओझाले भने कैलारीमा कार्यक्रम रोकी सकेको जिकिर गर्नु भएको छ।