• १६ भदौ २०८१, आइतबार

पहिरोले पुरिएर शिक्षिकाको मृत्यु

blog

राजकुमार भट्टराई

खोटाङ, साउन ३१ गते । खोटाङमा विद्यालय जाँदै गरेकी शिक्षिकाको पहिरोले पुरिएर मृत्यु भएको छ । बिहीबार बिहान विद्यालय जाँदै गरेकी रावा बेसी गाउँपालिका–३ लामिडाँडाकी सावित्रादेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको हो । 

विश्वज्योति मावि लामिडाँडामा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै पहिरोले पुरेको हो । 

विद्यालय पुग्न करिब डेढ सय मिटर बाँकी हुँदा उहाँलाई पहिरोले पुरेको रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो । विद्यालय नजिकै वडा कार्यालय छ । वडा कार्यालय भन्दा करीब १०० मिटर नजिक उहाँलाई पहिरोले पुरेको हो । 

वडा कार्यालयबाट लामिडाँडा विमानस्थलतर्फ जाने एउटा सडक र रभुवा बजारतर्फ झर्ने अर्को सडक छुट्टिएको छ । तल्लो सडकबाट यात्रा गरिरहनुभएका शिक्षिका सावित्रादेवीलाई माथिल्लो सडकबाट झरेको पहिरोले पुरेको हो । 

शिक्षिका सावित्रादेवी त्यहाँ पुग्नुअघि केही व्यक्तिहरु उक्त ठाउँमा पहिरो गइरहेकाले फर्किएका पाइएको पालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँ भने सोही बाटो विद्यालय जाँदै गर्दा पहिरोले पुरेको हो । उहाँसँगै अगाडि हिँडिरहेका आफन्त भने भागेर जोगिएका छन् । शिक्षिका सावित्रादेवीलाई प्रहरी र स्थानीयले पहिरो खनेर मृत अवस्थामा निकालेकाको लामिडाँडाका वडाध्यक्ष वीन्द्र मगरले बताउनुभयो ।