• १६ भदौ २०८१, आइतबार

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्याण्डलिङ शुल्क र भ्याट छुट

blog

काठमाडौँ, साउन ३१ गते । सरकारले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ ।

प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बसेको बैठकले दुई वटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिन लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले  दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउन्ड ह्याण्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्य योजना बनाएको बताउनुभयो । मन्त्री पाण्डेले कार्यदलले दिएको सुझाव र एयरलाइन्सहरूले खोजेको सहुलियतका आधारमा सरकारले ग्राउन्ड ह्याण्डलिङमार्फत लिने सेवा शुल्क आगामी २०८३ साल भदौसम्म नलिने योजना बनाएको बताउनुभयो । 

सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिन लागेको र हवाई टिकटमा लगाउने गरेको भ्याट पनि आगामी २०८३ भदौसम्म नलिने योजना रहेको बताउनुभयो । 

इन्धनको विषय उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौँको विमानस्थलमा इन्धनको मूल्य भन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्य योजना बनेको छ । अध्यागमन कार्यालय सञ्चालन,भिसा सेन्टरको लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना बनेको मन्त्रालयले जनाएको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका आयोजना भएकाले यसको सञ्चालनमा सबैले सहयोग जरुरी रहेको मन्त्रालयले जनाएको छ । 

 विमानस्थल सञ्चालनको लागि विभिन्न उपायहरूमा विमानस्थल सञ्चालनको लागि सहुलियतको प्रबन्ध सरकारले गरिदिनुपर्ने एयरलाइन्सहरूको माग  थियो । 

सोही मागअनुसार सरकारले ग्राण्डमार्फत लिनुपर्ने सेवा शुल्क आगामी २०८३ साल भदौसम्म नलिने र पर्यटन बोर्डले प्रतिटिकट लिने गरेको शुल्क उक्त समयभर दुई विमानस्थलको हकमा नलिने र सरकारले हवाई टिकटमा लगाउने गरेको भ्याट पनि तोकिएको समयका लागि नलिने सहुलियत दिने भएको छ ।