• १३ मंसिर २०८१, बिहिबार

बिस करोडको प्रदेश प्रहरी भवन

‘जनमुखी सेवा आधुनिक प्रहरी सङ्गठनबाट मात्र सम्भव’

blog

बागमती प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन बुधबार उद्घाटन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ । तस्बिर : राममणि दाहाल

हेटौँडा, साउन ३१ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले जनमुखी प्रहरी सेवा प्रदान आधुनिक प्रहरी सङ्गठनबाट मात्र सम्भव हुने बताउनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको हेटौँडा उपमहानगरपालिका वडा नं. ११ मा नवनिर्मित प्रशासनिक भवनको बुधबार उद्घाटन गर्दै उहाँले कुनै पनि व्यक्तिले राज्यको प्रत्यक्ष अनुभूति गर्ने राज्यको पहिलो अङ्ग प्रहरी प्रशासन भएको बताउनुभयो ।

“नागरिकले भोगेको समस्या जब आफ्नै पहलबाट समाधान सम्भव हुँदैन, त्यसपछि उसले राज्यबाट सहयोगको आश गरेको हुन्छ र उसलाई राज्यबाट दिन सकिने पहिलो सेवा भनेको प्रहरी सेवा नै हो,” मुख्यमन्त्री लामाले भन्नुभयो, “त्यसैले प्रहरीले नागरिकसँग गरेको व्यवहारबाट समग्रमा राज्यतर्फ नागरिकको धारणा तय हुने हुँदा प्रहरी सेवा एकदमै संवेदनशील हुन्छ ।”

प्रहरी सङ्गठनको भौतिक पूर्वाधार विकासबाट प्रहरीले जनतालाई प्रदान गर्ने सेवा थप सहज र प्रभावकारी हुने अपेक्षा लिएको भन्दै उहाँले बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका प्रहरी कार्यालयको भौतिक पूर्वाधार विकास एवं साधन स्रोत सम्पन्न बनाउन बागमती प्रदेश सरकारले गरेको प्रयास र सहयोग उदाहरणीय रहेको र आगामी दिनमा पनि निरन्तर रहने बताउनुभयो । प्रदेशको केन्द्रदेखि प्रहरी चौकीस्तरसम्मका प्रहरी एकाइबाट जनमुखी प्रहरी सेवा प्रदान गर्न सुविधा सम्पन्न भौतिक पूर्वाधारसहितको आधुनिक प्रहरी सङ्गठनबाट मात्र सम्भव रहेको बताउनुभयो । 

उहाँले प्रहरीको सुविधा सम्पन्न प्रशासनिक भवनबाट प्रदेशभर शान्तिसुरक्षा कायम गर्ने प्रहरीको जिम्मेवारी पूरा गर्न थप सहज हुने बताउनुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रहरीको सुविधा सम्पन्न भवन निर्माणले नागरिकलाई प्रदान गर्ने सेवा प्रवाहमा प्रभावकारिता आउने बताउँदै प्रहरीलाई अझ सबल र प्रभावकारी कार्यसम्पादनका लागि नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेका प्रमुख प्रहरी उपरीक्षक चित्रबहादुर गुरुङले शान्तिसुरक्षा कायम, अपराध नियन्त्रणलगायतका नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । 

बिस करोडभन्दा बढी खर्च

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाको नवनिर्मित भवन निर्माणमा २० करोड रुपियाँभन्दा बढी खर्च भएको छ ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका भौतिक पूर्वाधार शाखाका प्रहरी नायब उपरीक्षक इन्जिनियर शम्भुप्रसाद कोइरीले बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट निर्माण भएको भवनको प्रगति विवरणका बारेमा जानकारी दिनुभएको थियो । इन्जिनियर कोइरीका अनुसार सुविधा सम्पन्न तीनतले भवनमा ११३ वटा कार्यकक्ष छन् ।

उहाँले नेपाल सरकारले लागु गरेको भवन निर्माणसम्बन्धी आचारसंहिता पालना गरी भूकम्पीय जोखिमलाई न्यूनीकरण हुने गरी निर्माण गरिएको उक्त भवनको निर्माण लागत २० करोड ५२ लाख ५४ हजार ४१ रुपियाँ रहेको जानकारी दिनुभयो । 

उद्घाटनमा मन्त्रीको ताँती

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाको नवनिर्मित भवन उद्घाटनमा १४ सदस्यीय बागमती प्रदेशका मन्त्रीपरिषद्का सदस्यमध्ये मुख्यमन्त्रीसहित १० जना मन्त्री पुग्नुभएको थियो । 

नेपाली कांग्रेसबाट मन्त्री हुनुभएका एक र नेकपा (एमाले) बाट मन्त्री हुनुभएका तीनबाहेकका मन्त्री उद्घाटन कार्यक्रममा पुग्नुभएको हो । प्रदेशमा प्रहरी र शान्तिसुरक्षा हेर्ने गरी विभागीय मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा छ । 

कार्यक्रममा स्वास्थ्यमन्त्री किरण थापामगर, श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङ, आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्का, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी, बिनाविभागीयमन्त्री मदुकुमार श्रेष्ठलगायत मन्त्रालयका सचिवको उपस्थिति थियो ।