केशवराज भट्ट
बाशुलिङ्ग (बैतडी), जेठ ३ गते । एनसिसी मेन्स यू–१६ इस्ट जोन कपअन्तर्गत जिल्ला छनोटको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) ले हात पारेको छ । शुक्रबार बैतडीमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पाटन भ्याली क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्दै एनसिसी च्याम्पियन बनेको हो ।
एनसिसीले दिएको ९५ रनको लक्ष्य पछ्याएको भ्याली १२ दशमलव पाँच ओभरमा ६३ रनमा समेटियो । भ्यालीका अमन विष्टले २४ रनको योगदान दिनुभयो भने अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेन्न, एनसिसीका रोशन बोहरा र शिरिष बोहराले तीन रतीन र नविनसिंह भाटले दुई विकेट लिनुभयो ।
यसअघि दशरथचन्द क्रिकेट रङ्गशाला सुन्दरखालीमा पहिला ब्याटिङ गरेको एनसिसीले निर्धारित १५ ओभरमा पाँच विकेटको क्षतिमा ९४ रन बनाएको थियो । एनसिसीका कृष्ण बोहराले अविजित ४७ रन जोड्दा, विक्रम बोहराले १९ रन जोड्नुभयो ।
बलिङतर्फ भ्यालीका तेजकिरण विष्टले तीन विकेट हात पार्नुभयो । एनसिसीका रोशन बोहरा प्लेयर अफ द फाइनल चुनिएका आयोजकले जनाएको छ ।
बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा गत वैशाख २६ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका सात टिमको सहभागिता थियो । छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिनेछ । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले एनसिसी मेन्स यू–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि यही जेठमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दैछ ।