• ९ मंसिर २०८१, आइतबार

गोरखापत्रलाई नाफाको नजरबाट मात्र नहेरौँ

blog

गोरखापत्र ऐतिहासिक धरोहर हो, पत्रकारिताको पाठशाला पनि । यसले नेपाली पत्रकारिताको विरासत बोकेको छ । संसारमा सवा सय वर्ष पुराना धेरै अखबार छन् । एसियामा सवा सय वर्षअघि पत्रिका निस्कनुलाई आश्चर्यजनक उपलब्धि मानिन्थ्यो । यो धरोहरको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको कर्तव्य हो । 

गोरखापत्र प्रकाशन भएको बेलाको पत्रिकामा प्रकाशित हुने समाचार आजका जस्ता हुँदैनथे । तत्कालीन समाज भिन्न थियो । समाजको प्रकृति, जनताको चेतनास्तर हेरेर समाचार प्रकाशित गर्ने प्रचलन थियो । त्यतिबेलाको भाषा र लेखनशैली बिल्कुलै फरक देखिन्थ्यो । गोरखापत्र पढ्नका लागि भन्दा मुलुकको अभिलेख उतार्न सघाउने खालका सामग्री प्रकाशित हुन्थे । सर्लाहीमा हात्ती आतङ्क, सुनचाँदीको मूल्य बढ्यो, विभिन्न जात्रा सम्पन्न भए, फलानो मुलुकमा आँधी आउँदा यति मान्छे हराए, यति जनाको मृत्यु भयो जस्ता शीर्षकमा समाचार प्रकाशित हुन्थे । त्यतिबेलाको समाजका लागि यिनै समाचार पर्याप्त थिए ।

समय परिवर्तनशील छ । परिवर्तनले नै समयको पदचापमा हिँड्न सिकाउँछ । त्यसैले समयको महŒव बुझ्न सक्नुपर्छ तर पछिल्लो समय गोरखापत्रको दुरुपयोगले समयको पदचाप पछ्याउन नसकेको देखिन्छ । किनकि यसको दुरुपयोग गरियो । यसलाई व्यवस्थित गर्नेतर्फ कसैको ध्यान गएन । राजाहरूले धेरै दुरुपयोग गरे । रैतीबाट प्रजा हुँदै नागरिक भएका जनतालाई सुसूचित गर्नुपर्ने गोरखापत्रलाई राजाको महान् वाणी छाप्ने पत्रिकामा रूपान्तरण गरियो । २०१७ सालमा पञ्चायत आएपछि पञ्चहरूले गोरखापत्रलाई मुखपत्रै बनाए । स्वतन्त्र अस्तित्वमा भाँजो हाल्ने काम भयो । गोरखापत्र त्यसैको मारमा प¥यो । त्यतिबेलाका पत्रकारले पनि धेरै दुःख पाए । बीपी कोइराला प्रधानमन्त्री हुँदा पत्रकारलाई पनि स्वतन्त्र भएर काम गर्ने वातावरण निर्माण भएको थियो । पत्रिकाको काम जनतालाई सही सूचना प्रवाहित गर्नु हो भन्ने मान्यताको विकास भएको थियो । बीपी नेतृत्वको सरकार अपदस्थ भएपछि फेरि गोरखापत्रलाई राजाको जयजयकारमा सीमित राखियो । पञ्चायतका हुँदै नभएका दर्शन धमाधम प्रकाशित गर्न थालियो । निरङ्कुश राजतन्त्रको भक्तिमा सीमित राखियो ।

२०४६ को ऐतिहासिक परिवर्तनपछि गोरखापत्रको स्वरूप बदलिन्छ भन्ने धेरैको अपेक्षा थियो । अब स्वतन्त्र अस्तित्व भएको संस्थाका रूपमा विकास हुन्छ भन्ने धेरैको विश्वास थियो । अब यसको दुरुपयोग हुँदैन तर त्यसपछि झनै बढी दुरुपयोग गरियो । संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्र स्थापना भएपछि बीबीसी जसरी नै गोरखापत्रलाई संसद्मातहत राखेको भए उसको स्वतन्त्र अस्तित्वमा कसैले खलल पु¥याउने थिएन । यतिसम्म भयो कि कुनै व्यक्तिले कहीँकतै जागिर नपाएर हार खाएपछि गोरखापत्र वा राससको समाचारदाता बनाइन्थ्यो । अनि गुणस्तरको कल्पना कसरी सम्भव हुन्थ्यो ? एकातिर सत्ताको भक्ति गाउनुपर्ने अर्कोतिर यस किसिमका समाचारदाता भएपछि जनतालाई सु्सूचित गराउने समाचारको कसरी अपेक्षा गर्ने ? 

मैले गोरखापत्रमा दुईपटक सेवा गर्ने मौका पाएँ । पहिलो जागिरे कालमा मैले ‘हाम्रो गाउँघर’ भन्ने स्तम्भ चलाउँथेँ । त्यतिबेला भारतदत्त कोइराला प्रधानसम्पादक हुनुहुन्थ्यो । उहाँले भन्नुहुन्थ्यो, “तपाईंको भाषाशैली राम्रो छ, सम्प्रेषण शक्ति उच्च छ, त्यसैले गाउँका कुरा लेख्नुहोस् ।” मलाई पत्रकारितामा चिनिने अवसर उहाँले नै प्रदान गर्नुभयो । आज जुन ठाउँमा छु, त्यो कोइरालाकै विश्वास र भरोसाको योगदानको प्रतिफल हो । त्यसैले म उहाँलाई पत्रकारिताको गुरु नै मान्छु ।

२०३६ सालमा गोरखापत्रको प्रेसमा आगलागी भयो । प्रेस क्षतिग्रस्त भएपछि गोरखापत्र सिंहदरबारमा रहेको श्री ५ को सरकारको छापाखानाबाट प्रकाशित हुन थाल्यो । राजा वीरन्द्रले क्षतिग्रस्त प्रेसको निरीक्षण गर्नुभयो । त्यसपछि कोइरालालाई महाप्रबन्धकको जिम्मेवारी पनि थप गर्नुभयो । गोरखापत्र चलाउनु ठूलो चुनौती थियो । कोइरालाले उच्च मनोबलका साथ गोरखापत्र हाँक्नुभयो । 

२०३६ सालमा राजाबाट जनमतसङ्ग्रह गर्ने घोषणा भयो । २०३७ जेठमा जनमतसङ्ग्रह भयो । म बहुदलको पक्षमा वकालत गर्न थालेँ । बहुदलको पक्षमा हिँडेपछि गोरखापत्रको जागिरलाई निरन्तरता दिने अवस्था रहेन । गोरखापत्र छाडेर बहुदलको पक्षमा प्रचार गर्न गाउँ–गाउँ हिँड्न थालियो । बीपी कोइरालाले भाषण गर्ने मुलुकका हरेकजसो आमसभामा पुग्न थालियो । त्यसले पत्रकारिताको बाटो पनि बदलिदियो । प्रजातान्त्रिक शक्तिलाई बलियो पार्ने पत्रकारका रूपमा स्थापित हुने अवसर प्राप्त भयो ।

राजा ज्ञानेन्द्रका पालामा वि.सं २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो । जयप्रकाश गुप्ता सञ्चारमन्त्री हुनुहुन्थ्यो । उहाँहरूकै आग्रहमा दोस्रोपटक गोरखापत्र संस्थानमा महाप्रबन्धक र प्रधानसम्पादकका रूपमा काम गर्ने अवसर प्राप्त भयो । अब के गर्ने त ? आफैँले आफैँलाई प्रश्न गर्न थालेँ । सर्वप्रथम गोरखापत्रको स्वरूप बदलेर रङ्गीन बनाउन पाए हुन्थ्यो भन्ने लाग्यो । विगतमा काम गरेका र यसको सम्मान गर्ने केही हितैसीसँग यसबारे छलफल गरेँ । सबैले गोरखापत्रलाई रङ्गीन बनाउने मेरो प्रयत्नलाई बल पुग्ने खालका सुझाव दिए । त्यसअघि पनि रङ्गीन बनाउनेबारे कुरा उठेको रहेछ । बोर्डमा बस्ने सदस्यहरूले रङ्गीन मेसिन किन्ने प्रयत्नस्वरूप मेसिन पाइने मुलुकको भ्रमणसमेत गरेका रहेछन् । भ्रमणमा गएर आएपछि व्यवस्थापनसमक्ष कुरा राख्ने तर निर्णयमा आफैँ बाधक बन्ने काम हुँदै आएको रहेछ । गोरखापत्रमा रहेर पनि त्यसको हित नचिताउने समूहले कहिल्यै माथि उठ्न नदिने विगत रहेछ । आफैँ काम गर्ने संस्थाको बदनाम गर्ने प्रचलन हाबी भएका कारण रङ्गीन मेसिन किन्ने प्रस्तावले मूर्तरूप पाउन सकेको रहेनछ ।

हो, मैले यो निर्णय गरेँ । एक करोड २० लाख पर्ने मेसिन ८० लाखमा खरिद गरेँ । भारतको ओरियन्ट कम्पनीबाट मेसिन ल्याइयो तर पैसा तीन महिनाभित्र भुक्तानी गर्ने सर्तमा । मेसिन त ल्याइयो अब कहाँ राख्ने त ? दिन–रात नभनी मेसिन राख्ने भवन निर्माण गरियो । यसैबीच राजा ज्ञानेन्द्रबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा अपदस्थ हुनुभयोे, हामी सबै गोरखापत्रबाट बिदा भयौँ । अरू कसैले जस–अपजस जे दिए पनि आफूलाई रङ्गीन मेसिन ल्याएर छाप्न थालेपछि गौरव महसुस भएको थियो ।

हो, अहिले परिस्थिति फरक छ । मुलुक लोकतान्त्रिक हुँदै लोकतान्त्रिक गणतन्त्रामक भएको छ । नागरिकको चेतनास्तर निकै बढेको छ । गोरखापत्रले आफ्नो ऐतिहासिक धरोहरको जगेर्ना गरी आफ्नो विरासत जोगाउने हो भने प्रजातन्त्रको अधिकतम फाइदा उठाउन सक्नुपर्छ । हामी बीपी कोइराला र कृष्णप्रसाद भट्टराई जस्ता नेतादेखि प्रदीप गिरीजस्ता विद्वान् चिन्तकको सामीप्यमा रहेका, हुर्किएका हौँ । नागरिक नै सर्वेसर्वा हुने प्रजातन्त्र उहाँहरूले चाहेको हो । गोरखापत्रले उहाँहरूले चाहेको प्रजातन्त्रको पक्षमा वकालत गर्नुपर्छ । यही मान्यतालाई शिरोधार्य गरेर जति आलोचनात्मक हुन सक्यो गोरखापत्रको सम्मान त्यति नै बढी हुनेछ । त्यसले मुलुकको हित पनि गर्नेछ । अरू पत्रिकाले जस्तो नाफा गोरखापत्रले खोज्दैन, खोज्नुहुँदैन । यसलाई स्वायत्त बनाउनुपर्छ । बीबीसीलाई जस्तो संसद्को अधीनमा राख्ने हो भने गोरखापत्रको स्वायत्ततामाथि कसैले प्रहार गर्न हिम्मत गर्न सक्दैन ।

गोरखापत्रले पेसागत मर्यादा जोगाउन सक्नुपर्छ । पत्रकार र लेखकलाई स्वतन्त्रता दिनुपर्छ । उदीयमान प्रतिभाले प्रस्फुटन हुन पाउनुपर्छ । भजन संस्कृतिबाट माथि उठ्नुप-यो । स्वतन्त्रतासहित आलोचनात्मक चेतको विकास गर्न सकियो भने हामी सबैले भन्दै आएको गोरखापत्रको ऐतिहासिक धरोहरको उपमाले सार्थकता पाउनेछ । कसैको पक्षधरता लिने काम बन्द गर्नुपर्छ । त्यसका लागि नेतृत्वको आत्माबल दरो हुनैपर्छ । गोरखापत्रमा काम गर्ने पत्रकार वा कर्मचारी सबैले जागिरे मानसिकता त्याग्न सक्नुपर्छ । गोरखापत्रमा काम गरेकोमा गौरव महसुस गर्ने तर व्यवहारबाट नदेखाउने भएपछि कसरी माथि उठ्छ ? गोरखापत्र राष्ट्रको सम्पत्ति हो, यसको नुनपानी खाएपछि केही योगदान दिनुपर्छ भन्ने मान्यताको विकास हुनैपर्छ । जागिरे मनोवृत्तिबाट एक कदम माथि उठ्नुपर्छ, । सरकारले विज्ञापन दिएकै छ, चलेकै छ भन्ने मान्यता अब छाड्नुपर्छ ।

गोरखापत्र आजबाट १२२औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा म यसको उन्नत र सुखद् भविष्यको कामना गर्दछु । मुलुकमा भएका हरेक परिवर्तनमा गोरखापत्रले पु-याएको योगदान प्रशंसनीय छ । यसले नागरिकप्रतिको आफ्नो दायित्व पूरा गरोस् । गोरखापत्रले स्वच्छन्दता र स्वतन्त्रताको हदसम्म उपयोग गर्नुपर्छ, अनि मात्र नागरिकप्रतिको दायित्व पूरा हुनेछ ।

(विनोद न्यौपानेसँग गरिएकोे कुराकानीमा आधारित)





Author

किशोर नेपाल