• १० मंसिर २०८१, सोमबार

डिजिटल पत्रकारिताको रफ्तार

blog

डिजिटल पत्रकारिताका बारेमा एउटा खुसीको खबर छ भने अर्को दुःखद खबर । खुसीको खबर के छ भने इन्टरनेटमा जोकोही आफूलाई पत्रकार दाबी गर्न सक्छ । एउटा वेबसाइट बनाउनुहोस्, नाम चलेका अनलाइनबाट समाचार सामग्री तानतुन पार्नुहोस्, गुगलमा फोटोहरू खोजेर डाउनलोड गर्नुहोस् र वेबसाइटमा पोस्ट गर्नुहोस् । फेसबुक, ट्विटरसहितका सोसल मिडियामा समाचार सेयर गर्नुहोस् । युट्युबमा एउटा च्यानल पनि चलाउनुहोस्, भिडियोहरू अपलोड गर्न थाल्नुहोस् । बस, तपाईं पत्रकार भइहाल्नुभयो तर दुःखद खबर के छ भने इन्टरनेटमा राम्रो पत्रकार बन्न र राम्रो पत्रकारिता गर्न सजिलो छैन । पाठकका विविध रुचि, छिनछिनमा भइरहने घटना र दिनानुदिन बदलिँदो सूचना तथा सञ्चार प्रविधिका कारण अनलाइन पत्रकारिता अप्ठ्यारो छ । मिडिया अध्ययनका विद्वान् सूचना तथा सञ्चार प्रविधिको विकाससँगै पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाइनको भेद करिब अन्त्य भएको तर्क गर्छन् । सूचना तथा सञ्चार प्रविधिमा आएको यो पछिल्लो परिवर्तनलाई बुझ्न प्रयोग गरिने अवधारणा ‘मिडिया कन्भर्जेन्स’ हो । 

सामान्य अर्थमा मिडिया कन्भर्जेन्स विभिन्न प्रकारका मिडियाको एक–आपसमा विलीनीकरण वा एकीकरण हो । परम्परागत मिडिया, पत्रपत्रिका, रेडियो र टेलिभिजनलगायतका प्रसारण माध्यम र न्यू मिडियासमेत भनिने इन्टरनेटका आ–आफ्ना खास विशेषता छन् तर यी नितान्त भिन्न माध्यमका कतिपय विशेषता भने साझा छन् । जब यी साझा विशेषताका कारण यी मिडिया एक–आपसमा मिल्छन्, एक–अर्कामा विलीन वा एकीकृत हुन्छन्, त्यस्तो अवस्था मिडिया कन्भर्जेन्स हो । उदाहरणका लागि इन्टरनेट पत्रिकाजस्तो पनि छ, टिभीजस्तो पनि छ, रेडियोजस्तो पनि छ । यस खालको कन्भर्जेन्सको प्रक्रिया इन्टरनेटको प्रादुर्भावपछि झन् तीव्र गतिमा बढ्यो । अर्को उदाहरण स्मार्टफोनको लिउँ । सामान्य अर्थमा ‘मोबाइल’ भनिने यो डिभाइसबाट फोटो र भिडियो खिच्न सकिने भयो, श्रव्यदृश्य सामग्री हेर्न वा सुन्न सकिने भयो, किताब वा पत्रपत्रिका पढ्न पनि सकिने भयो, इन्टरनेटमा वेबसाइट वा एपहरू हेर्ने, पढ्नेलगायतका अरू धेरै काम एकैसाथ गर्न सकिने भयो । एकैसाथ हामीले पत्रपत्रिका वा पुस्तक पढ्ने, श्रव्यदृश्य हेर्ने र इन्टरनेट ब्राउज गर्ने सुविधा पायौँ । 

मिडिया कन्भर्जेन्स प्रशस्त प्राज्ञिक विवेचना भएकै विषय हो । सन् २०२० मा प्रकाशित ‘म्याक्वेल्स मिडिया एन्ड मास कम्युनिकेसन थ्योरी’ पुस्तकमा सञ्चारविद् मार्क डेउज र डेनिस म्याकबेल मिडिया कन्भर्जेन्सले दुई खालका प्रवृत्ति विकास गरेको तर्क गर्छन् । पहिलो, पाठक वा प्रयोगकर्ताको संलग्नता (इन्गेजमेन्ट) र सहभागिता (पार्टिसिपेसन)लाई प्रोत्साहित गर्ने गरी मिडियाले सञ्चारको अन्तक्र्रियात्मक शैली विकास गरेका छन् । दोस्रो, नयाँ प्रविधिले सर्वसाधारणलाई पनि स्थापित मिडिया जसरी नै सञ्चार गर्ने तथा सामग्री उत्पादन गर्ने अवसर दिएको छ । यस्तै, युनिभर्सिटी अफ सिड्नीमा डिजिटल कम्युनिकेसन एन्ड कल्चर विषयका  प्राध्यापक टेरी फ्ल्यु इन्साइक्लोपेडिया ब्रिटानिकामा कन्भर्जेन्सलाई अथ्र्याउँछन् सामान्यतः कन्भर्जेन्स भनेको सञ्चार तथा सूचना प्रविधि, कम्प्युटर नेटवर्क र मिडिया सामग्रीबीचको अन्तरसम्बन्ध हो । यही ‘कन्भर्जेन्स’को कसीमा हामी नयाँ प्रविधिका सम्भावित समस्या र यसले ल्याएका सम्भावनालाई पहिल्याउन सक्छौँ ।

एउटा समय थियो जतिबेला सार्वजनिक महŒव राख्ने सूचनाको पहुँच, सङ्कलन, प्रशोधन र सम्प्रेषणमा पत्रकारको एकाधिकार थियो । साना–ठूला भौतिक पूर्वाधार, प्रणाली र संरचनासहितका सञ्चार संस्थाले मिडिया सञ्चालन गर्नकै लागि सरकारबाट अनुमति लिन्थे, पत्रकारलाई नियुक्ति दिन्थे र आम नागरिकसम्म समाचार सामग्री सम्प्रेषण गर्दथे । अद्यापि मूलधारका भनिने यस्ता सञ्चारमाध्यम यसरी नै सञ्चालित छन् तर इन्टरनेटमा आधारित मिडिया प्लेटफर्महरूको विकासले सूचना तथा समाचार सामग्रीको उत्पादन र वितरणमा रहेको पत्रकारको एकाधिकारलाई आधारभूत रूपमै भत्काएको छ । अर्थात्, सूचना तथा सञ्चार प्रविधिमा आएको व्यापक परिवर्तनले समाचार सामग्रीको पारिस्थितिक प्रणालीमै फेरबदल ल्याइदिएको छ । सन् २०१० मा प्रकाशित पुस्तक ‘राइटिङ फर डिजिटल मिडिया’का लेखक ब्रियन क्यारोल यो परिवर्तनलाई अझ सजिलो गरी बुझाउँछन् । 

हरेक नागरिकले सूचना सङ्कलन, प्रशोधन तथा सम्प्रेषण गर्न सक्ने वर्तमान अवस्थाका कारण पत्रकारको पेसागत अभ्यासमा नयाँ अवसर र चुनौती देखापरेका छन् । पहिलो, हामीलाई जहाँसुकैबाट, जतिसुकै बेला पत्रकारिता गर्ने अवसर प्राप्त छ । फलस्वरूप, यसले समाचार सामग्री उत्पादनमा लाग्ने समय, स्रोत र शक्ति घटाएको छ । यस्तै छापाखाना, जटिल वितरण प्रणाली, ठूला स्टुडियो र प्रसारण यन्त्रजस्ता पूर्वाधार तयार पार्नुपर्ने झन्झट हटेको छ । फलस्वरूप मिडिया सञ्चालन ठूला व्यापारी वा धनीमानीको मात्र विषय रहेन । माथि नै चर्चा गरिसकियो, हरेक नागरिक आज एक हिसाबले मिडिया सर्जक हुने अवस्था छ । यसको अर्थ के हो भने सानो लगानीमा पनि मिडिया सञ्चालन गर्न सक्ने अवस्था बन्यो । जसका कारण मिडियामा व्यापक विविधता सिर्जना गर्न सक्ने अवसर प्राप्त छ । त्यसैगरी आम चासोका विषयमा समाचार सामग्री प्रकाशन, प्रसारण तथा उपभोगका लागि ठूला मिडियामै निर्भर हुनुपर्ने बाध्यता पत्रकार, सर्जक तथा पाठक सबैका लागि करिब अन्त्य भएको छ । 

दोस्रो, पत्रकारलाई आफ्नो वा पाठकको रुचिका जुन पनि विषयमा पत्रकारिता गर्ने अवसर छ । उता पाठकलाई आफ्नो खास चासो वा रुचिका मात्र सामग्री पढ्ने वा उपभोग गर्ने अवस्था पनि प्राप्त भएको छ । निश्चित रुचि भएका पाठकको सानो तर विशेष समूह (निस अडियन्स) छनोट गरी उनीहरूका सूचनाको आवश्यकता पूरा गर्ने खालका मिडियाको सङ्ख्या बढेको छ । अर्थतन्त्र, स्वास्थ्य, खेलकुद, सुरक्षा, सिनेमा, साहित्यलगायत विभिन्न क्षेत्रका विधागत डिजिटल मिडिया यसका उदाहरण हुन् । सूचना तथा प्रसारण विभागमा दर्ता भएका ३१ सय अनलाइन नियाल्ने हो भने खास–खास क्षेत्रलक्षित गरेका यस्ता सयौँ अनलाइन हामीकहाँ पनि सञ्चालनमा छन् । यस्तो विशेष समूहलक्षित अनलाइन भौगोलिक रूपमा पनि केन्द्रित छन् । मिडियाको दिगोपनका लागि नयाँ–नयाँ बजार सिर्जना गर्ने यस्तै ‘निस’ मिडियाले हो । 

तेस्रो, डिजिटल मिडियाको विकासका कारण समाचार सामग्री उत्पादनमा पनि विविधता थपिएको छ । पत्रकारिताका आधारभूत तौरतरिका उस्तै भए पनि डिजिटल माध्यममा समाचारले अनेक रूप ग्रहण गर्न सक्छ । अक्षरसँगै भिडियो, फोटो, अडियो, इन्फोग्राफिक्स, भिजुअलाइजेसन, हाइपरलिङ्कलगायत विभिन्न तौरतरिका र मिडिया फम्र्याटहरूको प्रयोग हुन्छ । एकातिर ‘स्टोरी टेलिङ’ झन् सहज भएको छ, सिर्जनात्मक भएको छ भने अर्कोतिर पाठक, श्रोता र दर्शकलाई पनि एउटै विषय वा मुद्दामा विभिन्न प्रकारका प्रस्तुतिमार्फत सचेत विचार र व्यवहार निर्माण गर्ने अवसर प्राप्त भएको छ । अवसरका सूची अझ थप्न सकिन्छ । माध्यमका रूपमा इन्टरनेट जसरी गतिशील छ, त्यस्तै यसका प्रयोगकर्ता पनि परिवर्तनशील छन् । सबैखाले मिडियाको विशेषता बोकेको इन्टरनेटमा भिन्न–भिन्न स्वाद सम्मिश्रण गरी पाठकका रुचि सम्बोधन गर्ने पत्रकारिता कर्म आफैँमा जटिल छ । 

पहिलो चुनौती हो, खस्किँदो विश्वसनीयता । डिजिटल पत्रकारितालाई हेर्ने आम दृष्टिकोण हामीकहाँ त्यति सन्तोषजनक छैन । आम पाठक यसको कारण, हामीले पाठकलाई कुनै पनि घटना वा विषयका बारेमा विस्तृत र पूर्ण सूचना वा जानकारी दिन नसकेर हो । सत्यापन अर्थात् भेरिफिकेसन पत्रकारिताको मुटु हो चाहे त्यो जुनसुकै माध्यममा हुने पत्रकारिता किन नहोस् । त्यसैले हरेक नागरिकले पत्रकारले जसरी नै सूचना सङ्कलन तथा सम्प्रेषण गर्न सक्ने अहिलेको समयमा आफूले उत्पादन गरेका समाचार सामग्री तथा कार्यक्रम अझ विश्वसनीय बनाउनुपर्ने, अझ प्रामाणिक बनाउनुपर्ने चुनौती पत्रकारसमक्ष छ । ब्रेकिङका नाममा अप्रमाणिक सूचना फैलाउने प्रवृत्तिले डिजिटल पत्रकारिताको विश्वसनीयता खस्काएको हो । 

दोस्रो, दक्ष पत्रकारको अभाव । नेपालमा डिजिटल मिडियाको बाढी यति छ कि त्यहीअनुसार सूचना सङ्कलन, प्रशोधन र प्रसारण÷प्रकाशनमा खट्ने पत्रकारको भने अभाव देखिन्छ । भइरहेकै पत्रकार एउटा मिडियाबाट अर्को मिडियामा तान्ने वा जानेबाहेक नयाँ पत्रकार वा उत्पादकको सिर्जनामा भने खासै लगानी भएको देखिँदैन । एकातिर पत्रकारिता वा आमसञ्चारजस्ता विषय पढ्ने विद्यार्थीको पनि सङ्ख्या घट्दो छ भने डिजिटल मिडिया उत्पादनसँग सम्बन्धित विशिष्टीकृत सीप सिकाउन तालिम दिने संस्थाको पनि अभाव छ । समाचारकक्ष पनि आफूसँग कार्यरत पत्रकारलाई सीप सिकाउने तथा इन्टर्नसिपलगायतका कार्यबाट नयाँ पत्रकार उत्पादन गर्ने कार्यमा करिब अनिच्छुकजस्तै देखिन्छन् । फलस्वरूप जनशक्तिको सङ्कट क्रमशः चुलिँदो छ । अर्कोतिर, डिजिटल माध्यमका लागि प्राविधिक सीप र बहुविधागत ज्ञानबाट सुसज्जित पत्रकार आवश्यक पर्छ तर पत्रकार स्वयं पनि यस्ता सीप हासिल गर्न वञ्चित छन् । विश्वविद्यालयका शैक्षिक कार्यक्रम अधिकांश व्यावहारिक सीप हासिल गर्न सघाउने खालका छैनन् भने सीप सिकाउने तालिम संस्था छैनन् । 

तेस्रो, बजारको सिर्जना र दिगोपना । दक्ष पत्रकार वा उत्पादक र विश्वसनीय समाचार सामग्री भएर मात्र दिगोपना हासिल गर्न सकिँदैन । यसका लागि विज्ञापन र बजारको सिर्जना पनि गर्नुपर्ने हुन्छ । इन्टरनेटमा आधारित विज्ञापनले सामान्य भरथेग गर्न सक्छ तर त्यो पनि खासगरी नेपाली भाषाका लागि ‘आकाशको फल’ भनेजस्तो छ । ठूला र कर्पोरेट प्रकृतिका सीमित अनलाइन बजारबाट विज्ञापन उठाएर पनि चलेका छन् तर सबै अनलाइनको अवस्था यस्तो छैन । अतः आफ्नो लक्षित पाठक वा बजार स्पष्ट किटान गरी गुणस्तरीय सामग्री उत्पादन गर्ने र उचित बजारीकरण गरी दिगोपना खोज्नु डिजिटल माध्यमको चुनौती हो । कतिपय वैकल्पिक मिडियालाई सरकारले पनि सहयोग गर्न सक्नुपर्छ । नत्र बजारमा मात्र आधारित मिडियाका स्वार्थको जाँतोमा आम चासोका विषय पिसिने खतरा हुन सक्छ । यसबाहेक महँगो इन्टरनेट र मिडियाको अर्काइभ व्यवस्थापन पनि डिजिटल माध्यम विकासका चुनौती हुन् । हिजो राखेका सामग्री आज नभेटिने नियति हाम्रा अनलाइन प्लेटफर्महरूमा छ ।

अन्त्यमा, हरेक नागरिक उपभोक्ता र उत्पादक अथवा पाठक र प्रकाशक भइरहेको अहिलेको अवस्थामा यी चुनौती र सम्भावनालाई उचित ढङ्गले केलाउँदै आम नागरिकको सूचनाको भोक पूर्ति गर्ने अवसर डिजिटल माध्यमलाई छ तर त्यसका लागि सबैको सहकार्य आवश्यक पर्छ । जस्तो सरकारले मिडियाको विकासका लागि उपर्युक्त कार्यक्रम ल्याउनुपर्छ । प्रेस काउन्सिलजस्ता संस्थालाई स्वायत्त बनाई आचारसंहिता परिपालनामा सक्रिय बनाउनुपर्छ । विश्वविद्यालयले पनि कम्तीमा स्नातक तहका कार्यक्रमलाई दक्ष पत्रकार वा उत्पादक सिर्जना हुने गरी अद्यावधिक गर्न ढिला गर्नुहुँदैन । मिडिया संस्था वा सञ्चालकले पनि आफ्ना पत्रकारको दक्षता वृद्धिमा लगानी गर्नुपर्छ र मिडिया विकासमा संलग्न प्राज्ञिक तथा अनुसन्धान संस्थामाथि सरकारी लगानी थालिनुपर्छ । 



Author

रविराज बराल