• १६ भदौ २०८१, आइतबार

४५ घण्टापछि खुल्यो कर्णाली राजमार्ग

blog

पहिरोले कर्णाली राजमार्गको खाँडाचक्र न पा १० चौखोला सडकमा खसेका ठुला ढुङ्गा । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, साउन २९ गते । कर्णाली राजमार्ग ४५ घण्टापछि सञ्चालनमा आएको छ । कर्णाली राजमार्गको कालीकोट खण्डका विभिन्न ठाउँ पहिरोले अवरुद्ध भएको थियो । 

कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं १० चौखोलामा आएको पहिरो पन्छाइएपछि रोकिएका यातायातका तथा मालवाहक गाडी गन्तव्यतर्फ लागेका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव निरीक्षक अर्जुन केसीले दुई वटा ब्रेकरको प्रयोग भएपनि सडकमा थुप्रिएका ढुङ्गा पन्छाउन नसकेपछि सडकको भित्ताबाट नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याएको बताउनुभयो । 

यस्तै, तत्काल अलपत्र परेका यात्रुलाई सहज बनाउनका लागि वैकल्पिक व्यवस्था गरिएपनि अझै सडकमा थुप्रिएको पहिरो हटाउन समय लाग्ने प्रहरी प्रमुख केसीले बताउनुभयो । सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चेतन कुमार मण्डलले राजमार्ग चौडाका लागि हिउँदको समयमा ठेक्काको काम भएको र सडक चौडा गर्न एक्स्काभेटर प्रयोग हुँदा जमिन थर्किएकाले सामान्य पानी पर्दा पनि पहिरो झर्ने गरेको बताउनुभयो । 

यो वर्ष कर्णाली राजमार्गको कालीकोट खण्डमा बढी नै यातायात साधान र यात्रुले दुख पाएका छन् । काम पनि त्यही भयो, जमिन कमजोर र लामो समय पानी नपरेकाले पनि सुख्खा जमिनमा सामान्य पानी पर्दा पहिरो झर्ने क्रम बढेको मण्डलले बताउनुभयो । पहिरो पन्छाउनका लागि कार्यालयले विभिन्न ठाउँमा एक्स्काभेटर सोलरहरू रहेको दाबी गरेको छ।