काठमाडौँ, साउन २९ गते। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ।
आयोगका सहसचिव एवम् प्रवक्ता रघुराम विष्टका अनुसार २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी ३४ पद रिक्त भएका छन्।
उहाँका अनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम यसरी रिक्त रहेका पदको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ।
मतदाता नामावली ऐन, २०७३ को दफा (४) बमोजिम निर्वाचनको मिति तोकिएपछि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित हुने कानुनी व्यवस्था रहेको उल्लेख गर्नुहुँदै सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नु पूर्व नै योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गरी मताधिकार सुनिश्चित गर्न आग्रह उहाँले गर्नुभयो।
आफूलाई पायक पर्ने प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा अनलाइन फाराम भरी नियमित रूपमा मतदाता नामावली दर्ताको व्यवस्था मिलाए बमोजिम नाम दर्ता गर्न सकिने आयोगले जनाएको छ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                