• ३० साउन २०८१, बुधबार

६२ करोडभन्दा बढी राजस्व असुली

blog

करदाता सेवा कार्यालय कपिलबस्तुको प्रशासनिक भवन । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), साउन २९ गते । आर्थिक वर्ष २०८०।०८१ मा करदाता सेवा कार्यालय तौलिहवाद्वारा लक्ष्यको ८६ दशमलव ५० प्रतिशत राजस्व असुली गरेको छ । गत आर्थिक वर्षमा ७१ करोड ६८ लाख १० हजार लक्ष्य रहेकोमा कार्यालयले ६२ करोड ७४ हजार राजस्व असुली गरेको कर अधिकृत भीमप्रसाद सापकोटाले बताउनुभयो ।

कार्यालयको कपिलवस्तु, बुद्धभूमि, बाणगङ्गा नगरपालिका, मायादेवी, यशोधरा र शुद्धोधन गाउँपालिकामा कार्यक्षेत्र रहेको कर अधिकृत सापकोटाले बताउनुभयो । उहाँले लक्ष्यको ९ करोड ६७ लाख ३६ हजार राजस्व असुली हुन नसकेको बताउनुभयो । कोरोनापछि अर्थतन्त्र गतिशील नहुनु, बैङ्कमा ब्याजमाथि ब्याज थपिनु, व्यापारिक गतिविधि न्यून हुनु लगायतका कारणले उद्यमीहरू नियमित राजस्व तिर्ने अवस्थामा नरहेको कर अधिकृत सापकोटाको भनाइ छ ।

गत आवको एक वर्षमा उठेको कुल राजस्व उठ्दा सबैभन्दा बढी आयकर शीर्षकबाट ३० करोड ७ लाख १४ हजार राजस्व असुली भएको छ । भ्याटतर्फ २१ करो २९ लाख ६ हजार, अन्तःशुल्क तर्फ ७ करो ३१ लाख ५७ हजार, ब्याज करतर्फ १ करोड ८६ लाख ६ हजार, बहाल कर तर्फ १ करोड १६ लाख ४१ हजार र स्वास्थ्य कर तर्फ ३० लाख ४९ हजार राजस्व उठेको छ ।

कार्यालयको तथ्याङ्क अनुसार जिल्लाको छ वटा स्थानीय तहका कुल १७ हजार ३ सय करदाता छन् । गत आर्थिक वर्षमा आयकरतर्फ ९ सय ६८, व्यक्तिगत प्यान २ हजार ८ सय २१, भ्याटतर्फ १ सय ३२, अन्तःशुल्क तर्फ ९० र संस्थागत पान ४३ जनाले लिएका छन् । यस्तै सरकारी तथा गैससमा प्यान नम्बर अनिवार्य गरेपछि पनि व्यक्तिगत प्यानमा दर्ता हुने करदाता बढेका हुन् ।

करदाता सेवा कार्यालयले कार्यक्षेत्रको विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएकोे सूचना अधिकारी नारायणप्रसाद बन्जाडेले बताउनुभयो । बजार अनुगमनको क्रममा १ लाख ६० हजार जरीवाना समेत गरिएको सूचना अधिकारी बन्जाडेको भनाइ छ । कार्यालयले करदाताहरुलाई सचेत गराउन विभिन्न किसिममा जानचेतनामूलक कार्यहरु गर्नुका साथै करशिक्षासम्बन्धी कार्यक्रमहरु गर्दै आएको छ ।