• १० मंसिर २०८१, सोमबार

सुर्खेतमा अलैँचीको आकर्षण

blog

बुलबुले समाचारदाता

सुर्खेत, साउन २९ गते । सुर्खेतका किसानहरू अलैँची खेतीमा आकर्षित भएका छन् । राम्रो आम्दानी दिन थालेपछि सुर्खेतका किसान अलैँची खेतीतर्फ आकर्षित भएका हुन् । ओसिलो जमिनमा हुने अलैँचीबाट किसानले वार्षिक रूपमा लाखौँ आम्दानी लिँदै आएका छन् ।

उत्पादित अलैँचीको बजार सहजै हुने भएपछि किसान खोल्साखोल्सी र ओसिलो बारीमा अलैँची धमाधम रोप्न थालेका छन् । रोपेको दुईदेखि तीन वर्षमा अलैँचीले आम्दानी दिने भएपछि किसानले अलैँची खेती गर्न थालेका हुन् । सुर्खेतको सिम्ता र चिङगाड गाउँपालिकाभित्रका ओसिलो क्षेत्रमा अलैँचीको व्यावसायिक खेती गर्ने गरिएको छ ।

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–८ का गणेशबहादुर मल्लले व्यावसायिक रूपमा अलैँची खेती गर्नुहुन्छ । अलैँची खेतीबाट बर्सेनि मनग्गे आम्दानी लिँदै आउनुभएको छ । उहाँले झन्डै छ वर्षदेखि अलैँची खेती गरिरहेको जानकारी दिनुभयो । 

सुरुवाती चरणमा प्रतिकेजी दुई हजार पाँच सय रुपियाँमा बिक्रीवितरण हुने गरेको थियो । राम्रो मूल्य पाएको देखेपछि आफूले पनि अलैँचीको व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो । “अहिले पनि एक हजार पाँच सय रुपियाँ प्रतिकेजी अलैँची बिक्रीवितरण गर्दै आएका छौँ,” उहाँले भन्नुभयो, “वार्षिक दुई क्विन्टलसम्म उत्पादन हुन्छ ।”

सुरुवाती वर्षमा दुई हजारदेखि दुई हजार पाँच सय रुपियाँमा किलोमा बिक्री हुँदै आएको अलैँची हाल खेती गर्ने किसानहरू थपिएसँगै एक हजार पाँच सयसम्ममा बिक्री भइरहेको उहाँले बताउनुभयो । उक्त क्षेत्रस्थित एक हजार तीन सय मिटरभन्दा माथिल्लो उचाइमा व्यावसायिक अलैँची खेती गर्ने गरिएको छ । अलैँची खेतीबाट वार्षिक रूपमा तीन लाख आम्दानी हुने गरेको मल्लले जानकारी दिनुभयो । 

करिब चार वर्षअघिदेखि अलैँची खेती विस्तार भएको सिम्ता गाउँपालिकाको चुनपानी डाँडाखालीमा केही वर्षदेखि अलैँची खेतीले राम्रो आम्दानी दिन थालेपछि यहाँका अधिकांश किसानको आर्थिक अवस्था उकासिन थालेको हो । वडा नं. ८ कै रुद्रबहादुर राना क्षेत्रीको दिनचर्या अलैँची बारीमै बित्छ । अलैँची किसान रानाक्षेत्रीले गाउँ गाउँमा खेतीको लहर बढेको बताउनुभयो । 

अर्का सफल कृषक रामबहादुर मल्ल पनि हुनुहुन्छ । उहाँले पनि वार्षिक दुई लाखभन्दा बढी आम्दानी अलैँची खेतीबाटै गर्दै आउनुभएको छ । अलैँची खेतीले स्थानीयको आर्थिक हैसियत मात्र होइन, भाग्य नै बदलिदिएपछि किसान पछिल्लो समयमा अलैँची खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

हाल सुर्खेत जिल्लामा आठ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । जिल्लाका चार सयभन्दा बढी कृषक व्यावसायिक अलैँची खेतीमा आबद्ध भएका छन् । जिल्लामा उत्पादित अलैँची कर्णालीका विभिन्न जिल्लामा पुग्ने गरेको छ । अलैँची व्यवसायमा जिल्लाका किसानको भविष्य राम्रो रहेको छ । कृषि विकास निर्देशनालयका निमित्त प्रमुख चित्रबहादुर रोकायाले अलैँची खेतीलाई प्रवर्धन गर्नका लागि अनुदानका कार्यक्रम राखिएको जानकारी दिनुभयो । 

गत वर्ष निर्देशनालयले अलैँचीको क्षेत्र विस्तार गर्ने भन्दै अनुदानमा बिरुवा वितरण गरेको थियो । ५० प्रतिशत निर्देशनालयको र ५० प्रतिशत समूह, सहकारीको गरी बिरुवा वितरण गरिएको जनाएको छ । उक्त कार्यक्रमका लागि पाँच लाख बजेट विनियोजन भएको थियो ।