• १६ भदौ २०८१, आइतबार

एक लाख ८१ हजार बढी चल्ला उत्पादन

blog

कुखुरा विकास फार्म खजुरामा उत्पादन गरिएका लोकल जातका कुखुराका चल्ला । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, साउन २८ गते । बाँकेको जानकी गाउँपालिका–४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्मले गत आर्थिक वर्ष २०८०–८१ मा एक लाख ८१ हजार बढी लोकल प्रजातिका चल्ला उत्पादन गरेको छ ।

लोकल प्रजातिका कुखुराको अनुसन्धान, उत्पादन तथा बजारीकरण गर्दैआएको फार्मले गत आर्थिक वर्षमा एक लाख ८१ हजार बढी विभिन्न जातका लोकल प्रजातिका कुखुराका चल्ला उत्पादन गरेको हो ।

कुखुरा विकास फार्म खजुराका फार्म प्रबन्धक डा. सुमन खनालले गत आर्थिक वर्षमा फार्मबाट एक लाख ५० हजार चल्ला उत्पादन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी एक लाख ८१ हजार ९६६ चल्ला उत्पादन गरिएको जानकारी दिनुभयो । 

“चल्ला उत्पादनमा गत वर्ष हाम्रो एक लाख ५० हजारको लक्ष्य थियो तर हामीले लक्ष्यभन्दा बढी चल्ला उत्पादन गरेका छौँ” डा. खनालले भन्नुभयो । आर्थिक वर्ष २०७९–८० मा दुई लाख ५० हजार चल्ला उत्पादनको लक्ष्य रहेकोमा उक्त वर्ष एक लाख ९० हजार मात्र चल्ला उत्पादन भएको उहाँले जानकारी दिनुभयो । 

बजेटको व्यवस्थाअनुसार हरेक वर्ष चल्ला उत्पादनको लक्ष्य निर्धारण गरिने उहाँको भनाइ छ । कृषकलाई एक दिने चल्ला सिधै फार्मबाट र हुर्किएका चल्ला ब्रुडर किसानमार्फत् वितरण गर्ने व्यवस्था मिलाइएको प्रबन्धक खनालले जानकारी दिनुभयो । हप्ताको एक दिन सोमबारका दिन कृषकलाई सिधै फार्मबाट एक दिने चल्ला र कार्यालयको समन्वयमा ब्रुडर किसानमार्फत् हुर्किएका चल्ला बिक्री वितरण गरिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । 

फार्मबाट वितरण गरिने एक दिने चल्लालाई प्रतिचल्ला ४५ रुपियाँ र ब्रुडर किसानबाट बिक्री गरिने हुर्किएका चल्लालाई लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट तोकिएको दररेटमा ब्रुडर किसानले बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो । ब्रुडर किसानबाट ४ देखि १२ हप्तासम्मका चल्ला वितरण हुने डा. खनालले बताउनुभयो ।

गत आर्थिक वर्षको अन्त्यमा फार्ममा न्यु हेम्पसायर जातको भाले ५८, पोथी ५५० र चल्ला तीन हजार ५०१ गरी चार हजार १०९, ब्लाक अष्ट्रालोप जातको भाले २२, पोथी २४१, चल्ला एक हजार चार गरी एक हजार २६७, खजुरा साकिनी चल्ला ९२१, घाँटी खुईले चल्ला ११९, शुद्ध कालो भाले दुई र चल्ला २४८ गरी २५०, कालिज चल्ला ११७, प्वाँख उल्टे र साकिनी भाले १४, पोथी ३५ र चल्ला ३१४ गरी ३६३, र कलिङ्ग तथा अन्य जातको एक हजार ४५२ को सङ्ख्यामा मौज्दात रहेको डा. खनालले जानकारी दिनुभयो ।

उहाँले लोकल घाँटी खुईले, साकिनी, शुद्ध कालो, प्वाँख उल्टे, खजुरा साकिनी प्रजातिका कुखुराका चल्ला र ग्रामीण ब्लाक अष्ट्रालोप र न्यु हेम्पसायर प्रजातिका कुखुराका चल्ला उत्पादन, संरक्षण तथा बजारीकरण गर्दैआएको बताउनुभयो । फर्मबाट लोकल कुखुराका चल्ला उत्पादन, अणुवांशिक स्रोत संरक्षण, नवीनतम जातका पन्छी बट्टाईलगायतको अनुसन्धान र कृषकलाई प्राविधिक सेवा प्रवाह गर्दै आएकोमा गत वर्षबाट कालिजका चल्ला समेतको उत्पादन तथा बिक्री वितरण सुरु गरेको उहाँले बताउनुभयो ।

फार्मबाट चल्ला मात्र नभएर अण्डासमेत उत्पादन तथा बिक्री वितरण हुँदैआएको छ । उक्त आर्थिक वर्षमा दुई लाख ९० हजार १८१ अण्डा उत्पादन भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई लाख १६ हजार ५० वटा अण्डा (ओथारो अण्डा) चल्ला उत्पादनका लागि प्रयोग भएको, ६१ हजार ३२० वटा राम्रो र १२ हजार ८११ वटा चर्केको अण्डा बिक्री वितरण गरिएको छ । 

राम्रो अण्डाको प्रतिअण्डा नौ रुपियाँ र चर्केको अण्डाको प्रतिअण्डा ६ रुपियाँमा बिक्री हुँदैआएको छ । त्यसैगरी ओथारो अण्डा पनि थोरै मात्रा बिक्री भएको र यसको मूल्य १३ रुपियाँ प्रतिअण्डा निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

चल्ला, अण्डा, कुखुरा, मललगायतको बिक्रीबाट गत आर्थिक वर्षमा एक करोड सात लाख दुई हजार १०९ रुपियाँ राजस्व सङ्कलन भएको फार्म प्रबन्धक डा. खनालले जानकारी दिनुभयो । अण्डा बिक्रीबाट ६ लाख १९ हजार ६१७ रुपियाँ, चल्ला बिक्रीबाट ७६ लाख १० हजार ७२५ रुपियाँ र कुखुरा, मल तथा अन्य सामान बिक्रीबाट २४ लाख ७१ हजार ७६७ रुपियाँ राजस्व सङ्कलन भएको छ । 

आर्थिक वर्ष २०७९–८० मा भन्दा गत आवमा पाँच लाख ३० हजार ७७ रुपियाँ बढीले राजस्व सङ्कलन भएको छ । उक्त आवमा एक करोड एक लाख ७२ हजार ३२ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेश मात्र कार्यक्षेत्र रहेता पनि हाल फार्मबाट कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत एक दिने चल्ला र हुर्केको चल्ला वितरण गरिएको र गण्डकी तथा मधेश प्रदेशमा पनि गत आवमा हुर्केको चल्ला वितरण भएको र मागअनुसार हरेक प्रदेशमा सेवा प्रवाह गरिने कार्यालयले जनाएको छ ।