• १६ भदौ २०८१, आइतबार

बडीगाड पहिरोपीडितको दुःख : गाउँमा खानेपानी र विद्युतकाे समस्या

blog

ठाकुरप्रसाद आचार्य 

बागलुङ, साउन २८ गते । पहिरोले प्रभावित बागलुङको बडीगाड गाउँपालिका–९ र १० का विभिन्न बस्तीमा विद्युत् सेवा र पिउने पानीको समस्या भएको छ । गत मङ्गलबार आएको पहिरोका कारण लघुजलविद्युत् आयोजना र खानेपानी योजनामा क्षति पुगेका कारण सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको हो । पहिरोका कारण यहाँका धेरै बस्ती जोखिममा परेका छन् । दर्लिङखोला लघुजलविद्युत् आयोजनाको मुहान र कुलोमा पहिरोले क्षति पु¥याएपछि वडा नम्बर ९ र १० का  करिब एक हजार दुई सय घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष वीरेन्द्रकुमार बुढामगरले बताउनुभयो । 

विद्युत् आपूर्ति बन्द हुँदा सर्वसाधारणको दैनिकी कष्टकर भएको छ । पहिरोबाट विस्थापित ५० घरधुरीलाई सार्वजनिक स्थल र विद्यालयमा लगेर राखिएको छ । पहिरोपीडितलाई पिउने पानी, दैनिक उपभोग्य वस्तु र विद्युत्को समस्या भएको उहाँले बताउनुभयो । खानेपानी योजनाको मुहान र ट्याङ्की पहिरोले बगाउँदा ६५ घरधुरीमा पानीको आपूर्ति बन्द भएको छ । 

“पहिरोले लघुजलविद्युत् आयोजनाको मुहान र कुलो बगाएको छ । तत्काल मर्मतसम्भार गर्ने अवस्था छैन,” वडाध्यक्ष बुढामगरले भन्नुभयो, “पहिरोले धेरै क्षति पु¥याएकाले लघुजलविद्युत् आयोजना मर्मत गरेर पुनः सञ्चालन गर्ने सम्भावना देखिएको छैन । गाउँ नै अन्धकार भएको छ । स्कुल पढ्ने बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन् । केन्द्रीय लाइन विस्तारको विकल्प छैन । विद्युत् आपूर्ति नहुँदा सर्वसाधारणको दैनिकी निकै 

कष्टकर बनेको छ ।” 

यसै गरी अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । पहिरोका कारण भीमगिठे–दर्लिङ सडक र बुर्तिबाङ हुँदै आरुपाटा जाने सडक पूर्ण रूपमा बन्द भएको छ । पहिरोले धेरै ठाउँमा सडक क्षतविक्षत बनाएको छ । वडाध्यक्ष बुढामगरले भन्नुभयो, “सडक अवरुद्ध हुँदा गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । आवतजावतमा समस्या भएको छ । गाउँका पसलमा भण्डारण गरिएको खाद्यान्न सकिन थालेको छ । चारदेखि पाँच घण्टा मानिसले बोकेर खाद्यान्न ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ ।”

वडाध्यक्ष बुढामगरका अनुसार गत सोमबार राति परेको अविरल वर्षाका कारण वडा नम्बर ९ को नयाँबस्ती र १० को आरुपाटा, पात्ले, क्लावझिङ, खोर, सल्लेन धारालगायत बस्ती पहिरोको जोखिममा परेका छन् । सबैभन्दा उच्च जोखिममा पात्ले गाउँ परेको उहाँको भनाइ छ । गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरे पनि त्यो अपुग भएको पहिरोपीडितले बताएका छन् । पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अति आवश्यक सामग्री उपलब्ध गराएको र थप राहतका लागि प्रदेश र सङ्घ सरकारसमक्ष अनुरोध गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।

 “पहिरोका कारण वडा नम्बर १० मा मानवीय क्षति ठुलो भयो यसबाट पालिका दुःखी छ । वडा नम्बर ९ का विभिन्न बस्ती पहिरोको उच्च जोखिममा छन्,” पालिका अध्यक्ष अधिकारीले भन्नुभयो, “हाम्रो पालिकामा महाविपत् नै आइलाग्यो । यसको सामना गर्ने क्षमता पालिकासँग मात्र रहेन । सङ्घ, प्रदेश र सम्बन्धित सबै निकायसँग हामीले सहयोगको अपिल गरेका छौँ ।” पहिरोपीडितलाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी कुनै कसर बाँकी नराखी उद्धार, घाइतेको उपचार, राहत वितरण र अन्य सहयोगमा पालिका जुटेको उहाँले बताउनुभयो । 

स्थानीय लघुजलविद्युत् तत्काल बनाउन सक्ने अवस्था नभएकाले केन्द्रीय विद्युत् लाइनलाई छिटो विस्तार गर्न विद्युत् प्राधिकरणसँग छलफल भएको उहाँको भनाइ छ । पहिरोले धेरै स्थानमा सडकको जग नै बगाएकाले पालिकाले मात्र मर्मतसम्भार गर्न सम्भव नभएकाले सङ्घ र प्रदेश सरकारको सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो । “अवरुद्ध सडक खुलाउन करिब दुई/तीन करोड रुपियाँ बजेट लाग्ने अनुमान गरेका छौँ, उहाँले भन्नुभयो, “यति धेरै बजेट पालिकाले व्यवस्था गर्न नसक्ने भएकाले माथिल्लो निकायमा माग गरेका छौँ ।” 

पहिरोपीडितलाई राहत र जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थलमा राख्ने विषयमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, जिल्ला प्रशासनलगायत सरोकारवालासँग पालिकाले नियमित छलफल गरिराखेको उहाँले बताउनुभयो । क्षतिको विवरण सङ्कलन र घाइतेको उपचारलगायतका विषयमा पालिकाले पहिरो प्रभावित बस्तीमा टोली खटाएको उहाँको भनाइ छ । पहिरोमा परेर ११ जनाको मृत्यु भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ ।