बोमलाल गिरी
नवलपुर, साउन २७ गते । मिटरब्याज नियन्त्रणसम्बन्धी ऐन बनेर पीडकलाई कारबाही हुन थाले पनि मिटरब्याजीको शोषणको जालो अझै हट्न सकेको छैन । नवलपुरमा मिटरब्याज र किर्ते जालसाजीको चरम नमुनाले समाजमा मिटरब्याजको समस्या कति गहिरो र जटिल छ भन्ने स्पष्ट पारेको छ ।
कावासोती नगरपालिका–२ का अमृत भुसालले गरेको त्यस्तै अमानवीय व्यवहारले मिटरब्याजको समस्या कति विकराल छ भन्ने देखाएको छ । तथापि प्रहरीले भुसाललाई पक्राउ गरी कारबाही चलाएको छ ।
प्रहरीका अनुसार भुसालले मध्यविन्दु नगरपालिका–७ मा रामप्रसाद महतोलाई ऋण दिएर मिटरब्याज लगाई किर्ते हस्ताक्षरसमेत गरेर दुई करोड रुपियाँ ठगेको र जग्गासमेत हडपेको प्रमाण फेला गरेपछि भुसाललाई नियन्त्रणमा लिएको हो ।
यस्तो छ घटना विवरण
२०७६ जेठमा रामप्रसाद महतोले व्यापार गर्न भनेर अमृत भुसालबाट प्रतिदिन १५ हजार रुपियाँ ब्याज तिर्ने गरी १० लाख रुपियाँ लिनुभयो । त्यसमा ४० लाख थपिदिएर ५० लाख पु¥याइदिने र मासिक पाँच लाख रुपियाँका दरले ब्याज बुझाउने सर्त थियो । त्यही सर्त मञ्जुर गरेर महतोले मध्यविन्दु–७ को चार कट्ठा छ धुर जग्गा भुसाललाई दृष्टिबन्धक गरिदिनुभयो । भुसालले उक्त जग्गा आफ्नी श्रीमती सविता काफ्लेको नाममा लिखत पारित गराउनुभयो ।
५० लाख पुर्याइदिने सर्त भए पनि भुसालले सुरुमा १० लाख, २०७६ असार २ गते १६ लाख ५४ हजार ६६२ रुपियाँ र अन्तिम पटक १० लाख गरी जम्मा ३६ लाख ५४ हजार ६६२ रुपियाँ मात्र महतोलाई दिएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो ।
“पहिले दिएको १० लाखको साँवा र चक्रवर्ती ब्याजसमेत जोडेर २० लाख ४५ हजार ३३८ रुपियाँ पुगिसकेको हुँदा सोसमेत गरी ५० लाख पुग्यो भनी भुसालले महतोसँग थप १० लाख मिटरब्याजमा लिएको देखिन्छ । त्यति मात्र होइन, उक्त रकमको छ महिनासम्म मासिक पाँच लाखका दरले २९ लाख छ हजार रुपियाँ महतोले भुसाललाई बुझाएको देखिन्छ,” प्रहरी उपरीक्षक रेग्मीले भन्नुभयो ।
जग्गा फिर्ता पाउने आसमा महतोले साढे ३६ लाखको चक्रवर्ती ब्याज स्वरूप ३२ लाख रुपियाँ बुझाएको प्रमाण रहेको प्रहरीको भनाइ छ । भुसालले जग्गा फिर्ता दिन नमानेपछि महतोले अदालतबाट जग्गा रोक्का त गराउनुभयो तर जग्गा अहिले पनि फिर्ता नभएको महतोको भनाइ छ ।
महतोले भुसाललाई निरन्तर ब्याज बुझाउनुपर्ने थियो तर कोरोना सुरु भइसकेपछि ब्याज बुझाउन नसक्दा महतोले छ महिनापछि भुसाललाई ३० लाखको चेक दिनुभयो । प्रहरीका अनुसार पुनः पाँच महिनापछि ६० लाख पुगिसक्यो भनेर भुसालले पहिलाको ३० लाखको चेक फिर्ता नगरी डर त्रास देखाई फेरि ६० लाखको चेक लिएका थिए ।
महतोले सापटी लिएको रकम र सोको मिटर ब्याजसमेत जोडी ५० लाख पुग्यो भनिएको रकमको चक्रवर्ती ब्याजसहित पटक पटक गरी एक करोड ५७ लाख १५ हजार ४११ बैङ्क चेकबाट तथा ४४ लाख ५१ हजार एक सय रुपियाँ नगद गरी दुई करोड एक लाख ६६ हजार ५११ रुपियाँ भुक्तानी भुसालले लिएको प्रमाणहरूले देखाएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।
किर्ते हस्ताक्षर गरी रकम निकालियो
भुसालले रामप्रसादलाई ६९ लाख रुपियाँ बैङ्कमा हालिदिएको जानकारी गराए पनि महतोले भने आफूले ६९ लाख रुपियाँ माग्दै नमागेको रकम खातामा हालिदिएकोमा विश्वास नै नलागेको बताउनुभयो । २०८० चैत २८ गते बैङ्क स्टेटमेन्ट निकाली हेर्दा साबिकको सेन्चुरी बैङ्क र हालको प्रभु बैङ्कमा रहेको आफ्नो न्यु प्रवासी सुपर स्टेर्सको खातामा २०७६ जेठ १२ मा ६९ लाख रुपियाँ जम्मा गरेको त देखियो तर उक्त रकम जम्मा गरेको एक दुई मिनेटको अन्तरमा महतोका चार वटा चेक प्रयोग गरी भुसालले रामप्रसाद महतो र श्रीमती रीता महतोको नाममा आफैँ चेक काटी आफैँले रकम लिएको देखिएको प्रहरीको भनाइ छ ।
चेकबाट पैसा निकाल्ने क्रममा भुसालले महतो र उहाँकी श्रीमतीको नक्कली हस्ताक्षर गरेको पुष्टि भएको छ । “उक्त हस्ताक्षर विधिविज्ञान प्रयोगशालामा पठायौँ तर प्रयोगशालाले भुसालले चेकमा गरेका सबै हस्ताक्षर महतो दम्पतीको नभई भुसालले नै गरेको नक्कली हस्ताक्षर हो भनी प्रमाणित गरेपछि हामीले भुसाललाई पक्राउ गरेका हौँ,” रेग्मीले भन्नुभयो । कावासोतीको होन्डा सोरुमका सञ्चालक भुसाल एक हप्तादेखि प्रहरी हिरासतमै छन् ।
चेकबाट पैसा निकाल्ने क्रममा प्रभु बैङ्कका कर्मचारीसँग पनि मिलेमतो भएको भन्दै प्रहरीले बैङ्कमाथि पनि अनुसन्धान सुरु गरेको जनाएको छ ।
चौध वर्षको कमाइ मिटरब्याजमा सकियो
रामप्रसाद महतो वैदेशिक रोजगारीका लागि १४ वर्ष (सन् २००२ देखि २०१६ सम्म) दुबई बस्नुभएको थियो । त्यहाँ कमाएको पैसाले कावासोती बजारमा सपिङ सेन्टर चलाउने उहाँको योजना अनुसार ३९ जना साझेदार मिलेर प्रवासी सपिङ सेन्टर पनि खोल्नुभयो । तीन करोड ३० लाख रुपियाँ लगानी गरेकोमा ५१ प्रतिशत अर्थात् एक करोड ६५ लाख लगानी महतोकै थियो । भुसालसँग लिएको साढे ३६ लाख ऋणको चक्रवर्ती ब्याज र भुसालले नै किर्ते गरी ठगेको रकमले महतोको उठिवास भएको छ । पार्टनरले पनि सेयर रकम मागेकाले दिन नसकेर तीन वर्षदेखि सपिङ सेन्टर बन्द गरेको महतोले बताउनुभयो ।
अरू पनि छन् पीडित
भुसालले मिटरब्याजमा अधिकांश थारू समुदायका व्यक्तिलाई निसाना बनाएको प्रहरीको भनाइ छ । मिटरब्याजमा ठगिनेमा कावासोती–१७ का फन्सनारायण महतो र निरमाणि थनेतलगायत झन्डै १७/१८ जना रहेको र उनीहरूबाट पनि जाहेरी मागिएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                