• २३ वैशाख २०८१, आइतबार

नमुना मतदानमा १३ प्रतिशत मत बदर

blog

तम्घास, बैशाख २३ गते । गुल्मीमा बदरमत कम गर्ने लक्ष्यले सम्पन्न गरिएको नमुना मतदानमा १३ प्रतिशत मत बदर भएको छ । 

बैशाख ३० गते हुन स्थानीय तहको निर्वाचनमा मतदाताहरुबाट सदर मतको प्रतिशत बृद्धि गर्न धुर्कोट गाउँपालिकाको हिमालय माध्यमिक विद्यालयमा नमुना मतदान गरिएको हो । जिल्ला सुरक्षा समिति र जिल्ला निर्वाचन अधिकारी लगायतको उपस्थितिमा नमुना मतदान सम्पन्न गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिनुभयो । 

मतदाता शिक्षाको पहुँचमा सर्वसाधरण छन् वा छैनन् भनेर सर्वेक्षणका लागि मतदान भएको कुँवरले बताउनुभयो । जिल्लाको सदरमुकाम तम्घासमा मात्र केन्द्रित नभई ग्रामीण भेगमा पुगेर नमुना मतको सर्वेक्षण गरिएको कार्यालयले जनाएको छ । सहरमा भन्दा ग्रामीण क्षेत्रमा मत बदरको संख्या बढी हुने सम्भावना बढी रहेको कार्यालयले जनाएको छ । 

हिमालय माध्यमिक विद्यालय केन्द्रमा भएको नमुना मतदानमा ९० जना सहभागि मध्ये ७८ मत सदर र १२ बदर मत भएको थियो । कुल मतको १३ दशमलव ३३ प्रतिशत मत बदर भएको धुर्कोट गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नमुना मतदानको सुरुवात ८५ बर्षीय ढुण्डीराज भण्डारी शर्माले गर्नुभएको थियो । उहाँले  नमुना मतदानले आगामी ३० गते हुन लागेको मतदानलाई सहज र सरल बनाएको बताउनुभयो ।

Author

तिलाचन पाण्डे