• ११ असोज २०८१, शुक्रबार

घरदैलोमा उम्मेदवार

blog

धरान समाचारदाता 

धरान, वैशाख २३ गते । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धरान उपमहानगरपालिकामा स्थानीय नेता तथा कार्यकर्ताले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । अहिले धरानका विभिन्न वडामा मेयर र उपमेयरको उम्मेदवारसहित वडाध्यक्षको उम्मेदवार र सदस्य घरदैलोमा व्यस्त छन् । 

धरानमा एक लाख ३२४ जना मतदाता छन् ।  नगरप्रमुख पदका लागि नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले)सहित २० जना उम्मेदवारका बीच धरानमा प्रतिस्पर्धा हुँदैछ । सबै दलका उम्मेदवार अहिले नगरवासीका घरदैलोमा पुगेर आफ्नो पक्षमा मतदान गर्न अनुरोध गरेका छन् । 

निर्वाचनका बेला धेरैले खानेपानीको समस्या समाधान गर्छ‘ भने पनि वर्षौं बितिसक्दा पनि समस्या समाधान हुन भने सकेको छैन । यस पटकको निर्वाचनमा पनि सबै उम्मेदवारले खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाइरहेका छन् । 

स्थानीय तहको निर्वाचनमा यसपालि सत्तारूढ चार दलीय वाम लोकतान्त्रिक गठबन्धनबाट धरान उपमहानगरपालिका मेयर पदमा नेपाली काँग्रेसका किशोर राई र उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका आइन्द्र बिक्रम बेघा उम्मेदवार हुनुभएको छ । यसैगरी नेकपा एमालेबाट धरान उपमहानगरपालिकाका मेयर पदमा मञ्जु भण्डारी र उपमेयर पदमा इस्वो उम्मेदवार हुनुभएको छ ।

उम्मेद्वार राईले यस पटक धरानका नगरवासीलाई गुनासो गर्ने मौका नदिने बताउनुभएको छ । ठूला भाषण नगरी जनताको हितमा काम गर्ने बताउँदै पानीको व्यवस्थापनमा अहिले केही सुधार भएको र अझै थप सुधार तथा नयाँ स्रोतको व्यवस्थापनमा ढिला नगरी काम गर्ने र धरानको खानेपानी आयोजनाको पूर्व घोषित क्षमतामा खानेपानी व्यवस्थाका पूनस्र्थापन गर्ने उम्मेद्वार राईको प्रतिबद्धता रहेको छ ।

यसैगरी गठबन्धनबाट उपमेयरका उम्मेदवार आइन्द्रा विक्रम बेघा धरानको खानेपानी समस्या समाधानको मुद्दा, विकास निर्माणको सवालमा सशक्त भूमिका निर्वाह गर्ने नेताका रूपमा अग्रपङ्क्तिमा हुनुहुन्छ । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्थानीय तहको चुनावमा धरान उपमहानगरको मेयर पदमा भण्डारीलाई उठाएको छ । मञ्जु भण्डारी २०७४ निर्वाचनमा स्वर्गीय तारा सुब्बासँगै उपमेयर पदमा विजयी हुनुभएको हो । भण्डारीले मेयर सुब्बाको निधनपछि कार्यवाहक मेयर र पाँच वर्ष उपमेयरको कार्यभार सम्हाल्नु भएको थियो । 

नेकपा एमालेले देशका ११ वटा उपमहानगर मध्ये ४० वर्ष उमेर नकाटेकी एक मात्र महिला उम्मेदवार पनि भण्डारी हुनुहुन्छ । २०७४ सालको चुनावमा मतदातासामु राखेका घोषणापत्र र प्रतिबद्धता पूरा गरेको भण्डारीको दाबी छ । धरानका सुकुम्बासीका लागत तथ्याङ्क तयार गरेर घर नम्बर वितरण गरिएको र अब घर नम्बरको आधारमा लालपुुर्जा वितरण गर्ने भण्डारीको प्रतिबद्धता छ ।