• १३ साउन २०८१, आइतबार

अठचालीस किलोमिटर सडक कालोपत्रे

blog

लीलाधर वली

घोराही, वैशाख २३  गते । दाङमा तीन वर्षको अवधिमा सङ्घीय सरकारको बजेटमा ४८ किलोमिटर सडक निर्माण भएको छ । जिल्लामा सघन सहरी तथा भवन निर्माण आयोजनाले तीन वर्षको अवधिमा ४८ किलोमिटर सडक कालोपत्रे गरेको हो । आयोजना सुरु भएदेखि हालसम्म ठूला आयोजनामार्फत सडक निर्माण गरेको र साना काम पनि भइराखेको आयोजनाले जनाएको छ । यसमध्ये ४२ किलोमिटर सम्पन्न भइसकेको छ भने छ किलोमिटर अन्तिम तयारीमा रहेको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख खड्गबहादुर चौधरीले जानकारी दिनुभएको छ । 

आयोजनाले सडक कालोपत्रेसँगै फुटपाथसहित नाला निर्माण गर्दै आएको छ । त्यसका लागि करिब दुई अर्ब रुपियाँ खर्च भएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख चौधरीले बताउनुभयो । प्याकेज नं. १ अन्तर्गत १४.३ किलोमिटर बाटो कालोपत्रे भएको छ । जुन नारायणपुर नारेवाङ सर्रा–सौडियार सडक रहेको छ । जसमा २८.६ किलोमिटर पक्की नाला र फुटपाथ निर्माण गरिएको बताउनुभयो । प्याकेज नं. २ अन्तर्गत घोराही–बाँसबोट–हापुर हुँदै रक्षाचौर सडकखण्डको ९.२ किलोमिटर सडक कालोपत्रे भएको छ भने बाँकी सडक निर्माणको काम भइरहेको छ ।

प्याकेज नं. ३ अन्तर्गत घोराही–ल्यान्डफिल साइट हुँदै बाहुनडाँडा, झिँगौरा हुँदै स्वर्गद्वारी आश्रम, रतनपुर चोकबाट भेटेरिनरी अस्पताल, प्रहरी बोर्डिङदेखि खिरटिया, मालपोत कार्यालयदेखि महेन्द्र बहुमुखी क्याम्पससम्म र बीपी लोकमार्गअन्तर्गत रामपुरको बालिम खोलादेखि सिमलतारासम्मको सडक रहेको आयोजना प्रमुख चौधरीले बताउनुभयो । प्याकेज १ र ३ अन्तर्गतका काम सकिएका छन् भने प्याकेज नं. २ को काम अन्तिम अवस्थामा छ ।

“प्याकेज १ र ३ अन्तर्गतका विभिन्न सडक बनाउने काम सकिसकेका छौँ,” कार्यालय प्रमुख चौधरीले भन्नुभयो, “प्याकेज २ अन्तर्गत रहेको सडक निर्माणको काम जारी रहेको छ ।”त्यसैगरी पर्सेनी सडकखण्डअन्तर्गत १.५३ किलोमिटर कालोपत्रे गरिएको छ । नारायणपुर सडकखण्डअन्तर्गत २.६५ किलोमिटर कालोपत्रे गरिएको छ । तुलसीपुरको टरिगाउँ सडकखण्डअन्तर्गत १.६ किलोमिटर कालोपत्रे गरिएको छ । दूधरास सडकखण्डअन्तर्गत १.८ किलोमिटर कालोपत्रे गरिएको आयोजनाले जनाएको छ । जिल्लामा आयोजनाले सडक विस्तारसँगै कालोपत्रे गर्ने काम गरिरहेको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले रुकुम पूर्वमा १३.६ किलोमिटर सडक कालोपत्रे गरिएको जनाएको छ ।