• २० असोज २०८१, आइतबार

फौजी कीराले बाली सखाप

blog

ध्यान कुलुङ

सङ्खुवासभा, वैशाख २३ गते  । सङ्खुवासभा जिल्लाको विभिन्न क्षेत्रमा फौजी कीराको प्रकोप बढेको छ । फौजी कीराले मकै र आलुको पात र मुना खाएर नष्ट गरेपछि कृषक चिन्तित बनेका छन् ।यहाँको चिचिला, सिलिचोङ, मकालु र सभापोखरी गाउँपालिकामा लगाइएको आलु र मकैमा अमेरिकी फौजी कीराले क्षति पु-याएको हो । हुर्किसकेको मकैको बिरुवा र फल्न लागेको आलुको सबै पात खाइदिएपछि कृषक चिन्तित बनेका हुन् । 

झन्डै दुई हप्ताअघिदेखि लाग्न सुरु गरेको कीराले अहिले मकैबारी खाली हुन लागेको सिलिचोङ गाउँपालिका–२ का कमलराज कुलुङले जानकारी दिनुभयो । बिरुवाको पात र मुना खाइदिएपछि फलको आस नभएको कुलुङले बताउनुभयो । 

चिचिला गाउँपालिका–२ मा मकैसँगै लगाएको आलु पनि कीराले सखाप पारेको छ । गाउँपालिकाले यो क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरेपछि आलु खेती विस्तार भएको थियो तर आलुको बोट नै कीराले सखाप बनाएपछि फल्ने आशा मरेको किसानको गुनासो छ । 

“अब फल लाग्ने बेला भयो, बोट नै छैन, कसरी आलु फल्ला र ?” चिचिला–२ का रमेश राईले भन्नुभयो । बेलैमा कीराको नियन्त्रण नगरे अनिकाल बेहोर्नुपर्ने राईको चिन्ता छ ।अमेरिकी फौजी कीराको प्रकोप बढे पनि स्थानीय सरकारको तयारी नहुँदा नियन्त्रण हुन सकिरहेको छैन । कीराले बाली सखाप पार्दासमेत गाउँपालिकाबाट पर्याप्त सहयोग नपाएको कृषकको गुनासो छ । 

कतिपय स्थानीय तहमा विषादी पर्याप्त छैन भने केहीमा औषधि छर्किने उपकरण छैन । धेरै प्रकोप खेपिरहेको सिलिचोङ गाउँपालिकामा केही कृषकलाई विषादी बाँडिए पनि स्प्रेयर ट्याङ्की (विषादी छर्किने उपकरण) नहुँदा विषादी प्रयोगमा ल्याउन सकिएको छैन । 

यो पालिकासँग रहेको जम्मा दुईवटा स्प्रेयर ट्याङ्की बाँडिएको कृषि शाखा प्रमुख बिरोज कुलुङले जानकारी दिनुभयो । थप उपकरण खरिद गर्ने क्रममा रहेकोसमेत उहाँले बताउनुभयो । 

धेरै प्रकोप रहेको चिचिला गाउँपालिकाले ‘इनामेटेन बेन्जोयट’ नामको विषादी र २८ वटा स्प्रे कृषकलाई वितरण गरिसकेको जनाएको छ । चिचिलामा धेरै व्यावसायिक कृषक रहेको र उनीहरूसँग यसअघि नै पनि स्प्रे रहेकाले विषादी मात्र वितरण गरेको कृषि शाखा प्रमुख सजन विश्वकर्माले बताउनुभयो ।