अमृतप्रसाद पौडेल
म्याग्दी, वैशाख २२ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका –८, बैंक रोडमा नेपाल बैंक रहेको भवनको ग्राउण्ड फ्लोरमा रहेको सटरमा ओमकुमार रोकाको ‘रोका ट्याटु हाउस’ छ । युवाहरुको जमात प्रायः वरपर रहन्छ । रोकाले दैनिकजसो विहान ७ बजे खोल्ने र बेलुका ७ बजे हाउसको सटर बन्द गर्नुहुन्छ । भीडभाड भएमा राति १० बजेसम्म पनि ट्याटु खोप्नमै उहाँ व्यस्त रहनुहुन्छ ।
बागलुङको तमानखोला गाउँपालिका–१ कोरेलीबाङका ओमकुमार रोका म्याग्दीको बेनी बस्न थालेको एक वर्ष पूरा भयो । उहाँ बेनी बस्न थालेको गएको फागुन १३ मै वर्ष पुगेको हो । यो अवधिमा रोकाले दुई सय ६० जनाको शरीरमा ट्याटु खोपिसक्नुभएको छ ।
दुई सय ६० जनाको ट्याटु खोप्दा कुल आठ लाख रुपियाँभन्दा बढीको व्यापार गर्नुभएको छ । जसमा उहाँको आफ्नो मेहनत र समय ७५ प्रतिशत र २५ प्रतिशत सामग्री खरिदमा खर्च हुन्छ । ट्याटु खोप्न प्रयोग हुने सामान एक पटक मात्रै प्रयोग गर्न मिल्ने हुँदा सामग्री महँगो हुन जाने रोकाको भनाइ छ । अहिलेसम्म बेनी बजारमा १ हजार पाँच सयदेखि ३५ हजार रुपियाँसम्मको ट्याटु रोकाले खोपिसक्नुभएको छ ।
यो व्यवसाय उहाँका लागि रुचिको विषय हो । वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्स पुगेर फर्केका रोका म्याग्दीको बेनीमा २०७७ फागुन १३ देखि ट्याटु हाउस सञ्चालनमा ल्याउनुभएको हो । त्यही साल मङ्सिरमा नेपाल फर्किनुभएका उहाँ पोखराको लेकसाइडमा नेपालमा चल्ने ट्याटु बारेमा केही समय अभ्यास गर्नुभयो । करिब तीन महिना पोखरामा अभ्यास गरेपछि बेनीमा ट्याटु हाउस सुरु गरेको उहाँले बताउनुभयो ।
रोका भन्नुहुन्छ–‘एक वर्ष अवधिमा आठ लाखको व्यापार भयो, खर्च कटाउँदा पनि आधा बचत भएको छ ।’ २०६९ मा पहिलो पटक स्काफोल्डको रुपमा दुबई पुग्नुभएका रोका २९ महिना काम गरेर नेपाल फर्केर पुनः २०७४ मा दुबई पुग्नुभयो । दोस्रो पटक त्यहाँ पुग्दा प्लम्बरको काम गर्ने क्रममा स्याङ्जाका हुमबहादुर बिकसँग रोकाको चिनजान भयो ।
त्यही चिनजानले ट्याटु आर्ट गर्ने मौका रोकालाई मिल्यो । रोकाले बि.क.लाई प्रेरणा दिने गुरु मान्नुहुन्छ । भेटमा हुमबहादुरले रोकालाई चित्र कोर्न लगाउने र त्यो चित्रमा ट्याटु हान्ने काम गर्नुहुन्थ्यो । उहाँ बिस्तारै चित्र बनाउँदै ट्याटु हान्ने अभ्यास गर्दै जाँदा पोख्त हुनुभएको बताउनुभयो । त्यसपछि नेपाल फर्केर ट्याटु व्यवसाय सञ्चालन गरेका रोका अहिले आफ्नै ठाउँमा आत्मनिर्भर भएकोमा खुशी रहेको बताउनुभयो ।