• १५ वैशाख २०८१, शनिबार

‘प्रदेशमा मिडिया’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २२ गते  । सङ्घीय प्रणालीमा सञ्चारमाध्यमको अवस्थाबारे अनुसन्धानात्मक पुस्तक ‘प्रदेशमा मिडिया’ सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले प्रकाशित गरेको यो पुस्तकमा सङ्घ र प्रदेशमा रहेका मिडियाको अवस्थालाई सर्वेक्षणसहित पत्रकारको तथ्याङ्क पनि उल्लेख गरिएको छ । पुस्तकभित्र नेपालमा आठ हजार ९५३ सञ्चारमाध्यम जसमा ४७ सय ८९  पत्रिका, आठ सय ८० एफएम रेडियो, १६४ टेलिभिजन र ३१ सय २० अनलाइन सञ्चारमाध्यम भएको उल्लेख छ ।

नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका पत्रकारको सङ्ख्या १३ हजार ७७ जना रहेको जानकारीसमेत पुस्तकभित्र छ । कार्यक्रममा प्राध्यापक पी खरेलले सञ्चारमाध्यमको एकीकृत तथ्याङ्कले सङ्घ, प्रदेश र जिल्ला तहमा मिडियाको अवस्था बुझ्न सहयोग पुग्ने भन्दै पुस्तकले सञ्चार क्षेत्रको बहुपक्षीय अध्ययनका लागि पनि सहयोग पु-याउने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सही तथ्याङ्क अभावमा समस्या पहिचान गर्न कठिन हुने धारणा व्यक्त गर्दै पुस्तकका आधारमा प्रदेश र स्थानीय तहमा सञ्चारमाध्यमको नीति बनाउन सहयोग पुग्ने जानकारी दिनुभयो ।