• १४ वैशाख २०८१, शुक्रबार

ऋण सम्झौतामा हस्ताक्षर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २२ गते । नेपाल सरकार र विश्व बैङ्कबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ । वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र वित्तीय सेवामा पहुँच बढाउन विश्व बैङ्कले नेपाललाई १८ अर्ब ३० करोड रुपियाँ (१५ करोड अमेरिकी डलर) ऋण उपलब्ध गराउने भएको हो । 

‘वृद्धिका लागि वित्त’ नामक उक्त विकास नीति ऋण उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार र विश्व बैङ्कबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र विश्व बैङ्कका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभयो ।

ऋण सहायताले वित्तीय क्षेत्र विकास रणनीति (२०७८–२०८२)मा उल्लेखित प्राथमिकता हासिल गर्न सहयोग पु-याउने अर्थ सचिव मरासिनीले बताउनुभयो । विदेशी मुद्रा सञ्चितिमा परेको चापलाई यो रकमले केही हदसम्म योगदान गर्ने उहाँको भनाइ थियो । 

विश्व बैङ्कका राष्ट्रिय निर्देशक जर्भोसले यो सहायताले महामारीको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने सरकारको नीति तथा प्राथमिकतामा थप सहयोग पु-याउने बताउनुभयो ।विश्व बैङ्कले दोस्रोपटक ‘वृद्धिका लागि वित्त’ आयोजनामा ऋण सहायता उपलब्ध गराउने भएको हो ।