• ३२ साउन २०८१, शुक्रबार

सामाजिक सुरक्षा कोष

वैदेशिक रोजगारीमा जानेको आबद्धता दस लाख

blog

काठमाडौँ, साउन २० गते  । वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जानेको सामाजिक सुरक्षा कोषमा आबद्धताको सङ्ख्या दस लाख नाघेको छ । वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जानेलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अनिवार्य गरेको छ । सामाजिक सुरक्षा कोषका अनुसार कोषमा २०७९ चैत ८ गतेदेखि २०८१ साउन १८ गतेसम्म १० लाख ११ हजार ८०५ जना आबद्ध भएका छन् तर निरन्तरता दिनेको सङ्ख्या असाध्यै कम छ । 

वैदेशिक रोजगारीमा जानेलाई अनिवार्य गरिएकाले श्रम स्वीकृति लिनुपूर्व हरेक श्रमिकले कोषमा दुई हजार तीन सय रुपियाँ हुनु पर्छ । सो अवधिसम्म आबद्ध भएका १० लाख लाख दुई हजार ४६६ जनाबाट कोषमा जम्मा भएको रकम दुई अर्ब ३२ करोड ७१ लाख ५१ हजार पाँच सय रुपियाँ जम्मा हुन आउँछ । कोषमा हाल जम्मा भएको रकम हेर्दा पनि कसैले पनि एक पटकभन्दा बढी रकम जम्मा गरेको देखिँदैन । 

 कोषका निर्देशक एवं प्रवक्ता विवेक पन्थीले वैदेशिक रोजगारीमा कोषमा आबद्ध हुन अनिवार्य गरिएकाले एक पटक गर्नेको सङ्ख्या धेरै भए पनि यसमा निरन्तरता दिनेको सङ्ख्या असाध्यै कम भएको बताउनुभयो । उहाँका अनुसार कोषले अघिल्लो महिना मात्रै वैदेशिक रोजगारमा गएका श्रमिकका परिवारलाई समेत कोषको योजनामा जोड्ने गरी कार्यविधि संशोधन गरेको छ । कोषका अनुसार कोषमा योगदान गरेर वैदेशिक रोजगारीमा गएकामध्ये दुई/तीन प्रतिशतले मात्रै निरन्तरता दिएका छन् । बाँकीलाई कोषको योजनामा निरन्तरता गराउन सकिएको छैन । कोषका प्रवक्ता पन्थीले वैदेशिक रोजगारीमा जानेलाई यसको फाइदाबारेमा जानकारी दिन नसकेकाले पनि यसमा निरन्तरतामा समस्या भएको हुन सक्ने बताउनुभयो । विदेशमा स्वरोजगार भएर बसेका जो आबद्ध हुनुभएको छ, उहाँहरूले बुझेर गरेकाले उहाँहरूको निरन्तरता छ भने श्रम लिनुपूर्व कोषमा आबद्ध भएर जानेको निरन्तरता शून्य जस्तै छ । 

कोषका अनुसार यसको फाइदाबारेमा जानकारी छैन । यस विषयमा बुझाउन नसक्नु कोषको पनि कमजोरी हो । त्यसैले अब यसलाई अभियानका रूपमा लैजान विभिन्न कार्यक्रम अगाडि सारेका छौँ । कोषका अनुसार वैदेशिक रोजगारीको क्षेत्रमा योगदान सङ्कलनको निरन्तरताका लागि कोषले सामाजिक सुरक्षा सचेतना अभिवृद्धि, योगदान सङ्कलनका लागि बैङ्क तथा रेमिट कम्पनीसँग सहकार्य गरिरहेको साथै अन्य प्रविधिगत विकाससमेत कोषले गरिरहेको छ । कोषका अनुसार कोषको योजनामा हालसम्म १५ लाख ११ हजार ८०५ जना आबद्ध भएका छन् । जसमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १० लाख ११ हजार ८०५ जना रहेको छ भने औपचारिक क्षेत्रका पाँच लाख १६ हजार ७७७ जना आबद्ध भएका छन् । वैदेशिक रोजगारीमा नयाँ जाने श्रमिक श्रम स्वीकृतिपूर्व कोषको योजनामा अनिवार्य आबद्ध हुने गरेका छन् । वैदेशिक रोजगारी जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुन सक्ने भनिएको छ । 

कोषका अनुसार योजनामा समावेश हुने श्रमिकले मासिक दुई हजार तीन सय रुपियाँ बुझाउनु पर्छ । रकम एकमुष्ठ छ महिना वा एक वर्षसम्मको बुझाएमा जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने व्यवस्था छ । 

कोषका अनुसार यो रकम खल्ती, ई–सेवा र कनेक्ट आइपिएसमार्फत जम्मा गर्ने व्यवस्था गरेको छ । कोषले वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकलाई कोषमा समेट्ने तयारीसहित योजना सुरु गरेको जनाएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकले योगदान गरेको रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याउने गरेको छ । कोषका अनुसार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जानेमध्ये मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरब जाने धेरै श्रमिक कोषमा आबद्ध भएका छन् ।