• १९ असार २०८१, बुधबार

गठबन्धनको प्रतिबद्धता : हेटौँडा विकास प्राधिकरण गठन गर्ने

blog

हेटौँडा उपमहानगरपालिकामा स्थानीय तहमा तालमेल गरेका सत्ता गठबन्धनले मङ्गलबार हेटौँडामा साझा प्रतिबद्धता सार्वजनिक गर्दै । तस्बिर : राममणि दाहाल

मकवानपुर समाचादाता

हेटौँडा, वैशाख २२ गते । स्थानीय निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा तालमेल गरेका सत्ता गठबन्धन दलले हेटौँडाको समग्र विकासका लागि हेटौँडा विकास प्राधिकरण गठन गर्ने प्रतिबद्धता जनाएका छन् । पाँचदलीय सत्ता गठबन्धनले मङ्गलबार संयुक्त प्रतिबद्धता सार्वजनिक गर्दै आफूहरु निर्वाचित भएमा हेटौँडा उपमहानगरपालिकाका बासिन्दालाई वार्षिक तीन सय युनिटसम्म बिजुली निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । 

नगरभित्रका हरेक घरमा मासिक दस हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने, बाइपास सडक निर्माण गर्ने, एक घर एक रोजगारीलाई प्राथमिकतामा राख्ने, हरेक वर्ष कम्तीमा पाँच जना विद्यार्थीलाई चिकित्सा विषय अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गर्ने, सामुदायिक विद्यालय र क्याम्पसमा नर्सको व्यवस्था गर्ने र औद्योगिक क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यस्तै ज्येष्ठ तथा अशक्त नागरिकलाई घर–घरमा स्वास्थ्य सेवा प्रदान गर्ने, नगर यातायात गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने, सहकारीको माध्यमबाट रोजगार र आयमूलक कार्यक्रमहरू सञ्चालन गर्ने, वडाहरूमा खुला व्यायामशाला निर्माण गर्ने, ज्येष्ठ नागरिक आश्रय स्थलहरू निर्माण र स्तरीकरण गर्ने, नगरस्तरीय प्रज्ञा प्रतिष्ठान स्थापना गर्नेलगायतका २२ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ । 

अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको पहिचान गरी सम्मानजनक व्यवस्थापन गर्ने, नगरस्तरीय नाट्यशाला निर्माण गर्ने, नगरमा व्यवस्थित बालमैत्री, अपाङ्गमैत्री र सुविधायुक्त शौचालय निर्माण र व्यवस्थापन गर्ने र नगरभित्रका नदी खोलाहरूको व्यवस्थापन गरी अस्थायी पौढी पोखरी, जलबिहार निर्माण तथा पार्कहरू निर्माण गरी पर्यटनमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता सत्ता गठबन्धनको छ ।

कार्यक्रममा सत्ता गठबन्धनका तर्फबाट हेटौँडा उपमहानगरपालिकामा प्रमुख पदमा उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी)का मीनाकुमारी लामा र उपप्रमुख पदमा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका राजेश बानियाँले जनतासमक्ष गरिएका प्रतिबद्धताहरू निर्वाचित भएपछि पाँच वर्षभित्रमा पूरा गर्ने बताउनुभयो ।